शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०१:३३
वासिङटन डिसी 14:48

निःशुल्क बीउबिजन वितरण गर्ने योजना छ: कृषि मन्त्री

इनेप्लिज २०७२ वैशाख २७ गते ९:१८ मा प्रकाशित

Hari-Pd-Parajuliकाठमाडौँ, २७ वैशाख । भूकम्पबाट जनधनको क्षति भएको भन्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।

भूकम्पबाट मानिसको क्षतिसँगै पशुधनको समेत क्षति भएको, कृषि तथा खाद्यान्नको सङ्कट हुने अवस्था देखिएको तथा लामो समयसम्म त्यसले कृषि उपजको सन्तुलनमा समेत प्रभाव पार्ने भएकाले विशेष ध्यान दिन सरकारसँग उनीहरुले माग गरे ।

व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले चौपाया र कृषि उपजको क्षतिले जनजीवनमा लामो समयसम्म प्रभाव पार्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गरेका हुन् ।

हालसम्म के कति मात्रामा चौपाया तथा कृषि उपजको क्षति भयो भन्ने बारेमा सरकारले आधिकारिक तथ्याङ्क नै सङ्कलन गर्न नसकेको भन्दै त्यसको अवस्था के हो सोको जानकारी गराउन ध्यानाकर्षण गराइयो ।

पहँुचवालाले राहत पाएको, दूरदराजका जनताले आजसम्म पनि राहत नपाएको, खाद्यान्न, कृषि उपज नपाएको, मरेका चौपायाका कारण दुर्गन्ध फैलिएको भन्दै सांसदहरुले मानव स्वास्थ्यको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन भएको भए पनि चौपायाको उपचारका लागि कुनै पनि शिविर सञ्चालन नभएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो ।

आगामी डेढ वर्षलाई पुग्ने खाद्यान्नको जोहो गर्न आग्रह गर्दै सांसदहरुले प्राकृतिक विपत्तिसँग लड्नका लागि सरकारको तयारी नभएको भन्दै सरकारको योजना नभएकाले घाइते नागरिक तथा चौपायाको मृत्यु भएको उहाँहरुको भनाइ थियो ।

यसरी धारणा राख्ने सांसदहरुमा कुन्ती शाही, अमृतकुमार बोहरा, आशा यादव, रेखा शर्मा, भवानीप्रसाद खापुङलगायत हुनुहुन्थ्यो ।

बैठकमा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले खेतीपातीको मौसम सुरु भएकाले मन्त्रालयले निःशुल्क बीउबिजन प्रदान गर्न लागेको जानकारी गराउनुभएको थियो ।

उहाँले भूकम्प प्रभावित जिल्लामा जनशक्तिको अभावमा तथ्याङ्क सङ्कलन गर्न समस्या भएको र राहत वितरण पनि प्रभावित भएको बताउनुभयो । समितिले तत्काल अनुगमन समिति गठन र प्रभावित क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गर्न कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया