आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०६:२०
वासिङटन डिसी 19:35

हेलिकप्टर अवतरण गर्न नसक्दा राहत वितरणमा कठिनाइ

इनेप्लिज २०७२ वैशाख १८ गते ९:३७ मा प्रकाशित

Helicopter-Nepal-Armyबनेपा, १८ वैशाख । काभ्रेपलाञ्चोक जिल्लामा पर्याप्त मात्रामा राहत सामग्री नहुँदा राहत वितरणमा कठिनाइ देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, कासीखण्ड नगरपालिका र गैरीविसौना देउपुर, नयाँगाउँ, देउपुर, ढुङ्खर्क, कुशादेवी, चलालगणेस्थान, बल्थली र कोसीपारीका गाविस भूम्लुटार, पोखरीचौरी, विर्तादेउरालीलगायत गाविसमा राहत वितरण भए पनि दुर्गम गाविस मानिने महाभारत शृङ्खलापारि राहत वितरण हुन सकेको छैन ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले महाभारत डाँडापारिका गाविसका लागि नेपाली सेनाको हेलिकप्टर अवतरण गर्न नसक्दा आज पनि राहत वितरण हुन नसकेको जानकारी दिनुभयो ।

उहाँले राहत सामग्रीसँगै चिउरा, बिस्कुट, चाउचाउसमेत नगरपालिकामा कार्यकारी अधिकृत र गाविसमा गाविस सचिवमार्फत गाउँ गाउँमा वितरण भएको जानकारी दिँदै नेपाल सरकारको एक हजार पालसहित झन्डै आठ हजार पाल वितरण भएको बताउनुभयो ।

“अहिले विभिन्न सङ्घसंस्थाको राहत आउनेक्रम जारी छ, आउने बित्तिकै हामीले वितरण गरेका छौँ”, स्थानीय विकास अधिकारी तिम्सिनाले भन्नुभयो ।

जुन हिसाबले हताहत र संरचनाको क्षति भएको छ, त्यो हिसाबले राहत आउन नसकेको उल्लेख गर्दै उहाँले रोटरी क्लब, नेपाल रेडक्रस, युनिसेफ, उद्योग वाणिज्य सङ्घका विभिन्न जिल्लालगायत गैरसरकारी संस्थाबाट राहत आउनेक्रम जारी रहेको बताउनुभयो । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २८६ रहेको छ । घटनामा घाइते भएका एक हजार २५७ मध्ये अधिकांश सामान्य उपचारपछि घर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया