मंगलबार, माघ १३ २०७७
काठमाडौं ०८:५१
वासिङटन डिसी 22:06

सहमतिबाटै संविधान बन्ने आत्मविश्वास बढेको छ: मन्त्री रिजाल

इनेप्लिज २०७१ फागुन २४ गते १०:०१ मा प्रकाशित

Minendra-rijal.jpg.pagespeed.ce.KUglf3FSMYकाठमाडौँ, २४ फागुन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले लामो समयपछि संवाद सुरु भएका कारण सहमतिबाटै संविधान जारी हुने आत्मविश्वास बढेको बताउनुभएको छ ।

नेपाल यातायात मजदुर सङ्घको प्रथम राष्ट्रिय परिषद्को आज उद्घाटन गर्दै मन्त्री रिजालले सो कुरा बताउनुभएको हो । “दोस्रो संविधानसभा निर्वाचनमा जनताले लोकतान्त्रिक संविधान जारी गर्न पुग्ने गरी मत दिएकाले यो मतलाई रद्दीको टोकरीमा फाल्न सकिँदैन”, मन्त्री रिजालले भन्नुभयो, “द्वन्द्वमा मुलुक नजाओस् भनी विपक्षीहरुको मतभन्दा केही बढी स्थान दिएर सहमतिको प्रयास गरे पनि दुई तिहाइको मतलाई रद्दीको टोकरीमा फालेर विपक्षीको मुद्दामा सहमति हुन सकिदैन् ।”

सहमति भए पनि नभए पनि प्रक्रियाबाट नै संविधान जारी गरिने र सबै धारामा सहमति नभएको अवस्थामा दुई तिहाइबाट पारित गरेर संविधान जारी गरिनेमा उहाँले जोड दिनुभएको थियो ।
उहाँले यातायातमा सबैको आकर्षण हुने व्यवस्था संविधानमा राख्न सरकार तयार रहेको बताउनुभयो ।

सभासद् पुष्कर आचार्यले नेपालको यातायात व्यवसायमा निजी क्षेत्रको ९५ प्रतिशतको लगानी रहेकाले संविधानसभाबाट बन्ने संविधानमा यातायात क्षेत्रका उचित मागलाई सम्बोधन गरिनुपर्ने बताउनुभयो ।

नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले यातायात क्षेत्रमा सात लाखभन्दा बढी मजदुर कार्यरत रहेकाले तिनको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि संविधानमा व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

सङ्घका सभापति अजय राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, मजदुर नेता लक्ष्मणबहादुर बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीलगायतका वक्ताले ८३ घन्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा ५० हजार मजदुर मर्कामा परेकाले मजदुरको सामाजिक सुरक्षालाई संवैधानिक व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

एकदिने परिषद्मा ७५ जिल्लाका दुई सयभन्दा बढी यातायात मजदुरको सहभागिता रहेको छ ।

प्रतिक्रिया