शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १६:४१
वासिङटन डिसी 06:56

स्वाइन फ्लुका कारण मृत्यु

इनेप्लिज २०७१ फागुन १७ गते १४:३१ मा प्रकाशित

swine_flue_115702164काठमाडौँ, १७ फागुन । स्वाइन फ्लुका कारण स्थानीय मोडेल अस्पतालमा उपचाररत एक महिलाको आज मृत्यु भएको छ ।

मृतक महिलाको नाम अस्पतालले सार्वजनिक गरेको छैन । दम तथा निमोनियाबाट ग्रसित भई उनी एक साताअघि सो अस्पतालमा भर्ना भएकी थिइन् । थप उपचारका क्रममा उनको फ्लु परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा स्वाइन फ्लु भेटिएको थियो ।

अस्पतालका निर्देशक प्रा डा भरत प्रधानले ती महिलाको थप उपचारका लागि नमुना परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा स्वाइन फ्लु देखिएको राससलाई जानकारी दिनुभयो ।

नेपालमा यस वर्ष स्वाइन फ्लुका कारण मृत्यु भएको यो पहिलो घटना हो । हालसम्म कति जनामा स्वाइन फ्लु देखियो भन्ने आधिकारिक जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रयोगशालालगायतले स्वाइन फ्लुको मृत्युका बारेमा आधिकारिक पुष्टि गरेका छैनन् ।

महाशाखाका प्रमुख डा बाबुराम मरासिनीलाई यसबारेमा सम्पर्क गर्न खोज्दा दिनभर उहाँको मोबाइल बन्द रहेको थियो भने प्रयोगशालाका निर्देशक डा गीता शाक्यले भने सो विषयमा कुराकानी गर्न चाहनुभएन ।

मोडेल अस्पतालका निर्देशक डा प्रधानले भन्नुभयो, “मृत्यु भएकी वृद्धा (करिब ५० वर्षकी) नियमित उपचारमा थिइन्, उपचारका क्रममा सुधारोन्मुख नभएपछि थप परीक्षण गर्दा उनमा स्वाइन फ्लुको सङ्क्रमण पाइयो र यसैका कारण मृत्यु भयो ।”

पन्ध्र बढी सङ्क्रमित
देशभर चिसो बढेसँगै स्वाइन फ्लुको सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भएको छ । मन्त्रालयको उच्च स्रोतका अनुसार हालसम्म सो रोगबाट १५ जनाभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

विशेष गरी जाडाको समय सकिने र गर्मीयाम सुरु हुने समयमा स्वाइन फ्लु देखापर्छ । भारतमा स्वाइन फ्लुका कारण हालसम्म ८०० को मृृत्यु भइसकेको छ भने करिब ११ हजारभन्दा बढीमा सङ्क्रमण भइसकेको प्रमाणित भइसकेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेती भन्नुहुन्छ–“यो मौसमी रुघाखोकी हो, धेरै डराइहाल्नु पर्दैन तर सचेत रहनुपर्छ । ” सङ्क्रमितका लागि सरकारले निःशुल्क रूपमा औषधिको व्यवस्था गरेको छ । हालसम्म इपिडिमियोलोजी महाशाखाबाट कतिजनाले सो औषधि लिएर गए भन्ने जानकारी पनि सार्वजनिक गरिएको छैन ।

विभागले नेपाल भित्रिने भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्कसमेत स्थापना गरेको छ । साथै आफू मातहतका सबै अस्पताललाई छुट्टै बिरामी राख्ने कोठाको व्यवस्था गर्न विभागले निर्देशन दिइसकेको छ ।

साधारण रुघाखोकी जस्तै नाकबाट पानी आउनु, हाच्छिउँ आइरहनु, ज्वरो आउनु, टाउको एवम् घाँटी दुख्नु, छाती दुख्नु, वाकवाकी लाग्नु जस्ता लक्षण सो रोगमा देखिन्छ ।

प्रतिक्रिया