बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०८:०८
वासिङटन डिसी 22:23

सकेसम्म सहमतीय प्रक्रियाबाटै संविधान: अध्यक्ष ओली

इनेप्लिज २०७१ माघ २६ गते ९:१० मा प्रकाशित

prachanda-babu1काठमाडौँ, २६ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सकेसम्म सहमतीय प्रक्रियाबाट निकट भविष्यमा नयाँ संविधान जारी गरिने बताउनुभएको छ ।

वरिष्ठ पत्रकार र सम्पादकहरुसँग आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले दोस्रो संविधानसभालाई असफल हुन नदिन एमाले लचिलो र सुझबुझका साथ आन्तरिक एकतासहित अघि बढिरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो – “एमाले वार्ता र संवादकै पक्षमा छ तर देशलाई टुक्र्याउन नहुनेलगायत केही आधारभूत विषयमा ऊ अडान त्याग्न तयार छैन ।”

उहाँले राज्य पुनःसंरचनामा जाँदा तराई र पहाडलाई पूर्णरुपमा अलग गर्ने पक्षमा आफ्नो पार्टी नभएको र तराईलाई पहाडसँग मिसिन नदिने कुरा देश हितमा नरहेको धारणा दोहो¥याउनुभयो ।

जातीय पहिचानका आधारमा प्रदेश नामकरण गर्दै जातजातिका र तिनका जीवनयापनका समस्या समाधान नहुनेमा पार्टी स्पष्ट रहेका जनाउँदै उहाँले प्रक्रियामा जाँदैमा कुनै पनि दल झस्कनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “हामी जनताको म्याण्डेटअनुसार संविधान जारी गर्ने पक्षमा छौ, अल्पमतले मात्रै त संविधान जारी हुँदैन, त्यसका लागि दुई तिहाइ वा अधिकतम सङ्ख्या चाहिन्छ, ६०१ सभासद्कै बीचमा सहमति भए पनि प्रक्रियामा त जानैपर्छ ।”

एमाले शान्ति, लोकतन्त्र, समता, राष्ट्रिय एकता र समृद्धिमूलक संविधान बनाउन चाहिरहेको नेपाललाई क्रीडास्थल बनाउने वा सार्वभौमसत्तामा आँच आउन दिने काम एमालेले गर्न नदिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “प्रदेशको बाँडफाँड केटाकेटीको भाँडाकुटी खेल होइन, मुलुकले धान्न सक्ने आधारमा मात्रै राज्य पुनःसंरचना हुनुपर्छ ।”

विगतमा एमाओवादीले लडाकुलाई बजेट माग गर्दा संसद् अवरोध गरेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले संविधानसभाको वर्तमान गतिरोधमा पनि रकम माग गरेको भन्ने आफ्नो अभिव्यक्तिलाई सञ्चारमाध्यमले अतिरञ्जित गरेको बताउनुभयो ।

संसारमा संविधान र सत्ता चलाउने या त बन्दुकको बाटो या बहुमतको बाटो हुन्छ भन्दै उहाँले जनताको अभिमतका आधारमा लोकतान्त्रिक विधिबाट संविधान ल्याउनु अनुचित नहुने बताउनुभयो ।

एमाले शक्तिमा ठिक्क र सत्यमा पूर्ण विश्वास गर्ने पार्टी भएको र विगतमा पञ्चायती निरङ्कुशताको विरोधमा लडेको स्मरण गराउँदै नेता ओलीले भन्नुभयो – “तर के कसैले फेरि नेपालमा जनयुद्ध गर्छुभन्दा जनताले पत्याउँला ?”

उहाँले अगाडि भन्नुभयो – “विगतमा केही शक्तिले ढुङ्गामुढा बगाएर बाढी ल्याएको भए पनि कहिलेकाहीँ खहरे तर्न पनि कठिन हुन्छ भन्ने बिर्सनुहुँदैन । के जनता सधैँ भड्किने र आन्दोलनमा जाने तत्व हो ? के जनताले शान्ति र अधिकार चाहेको होइन र ?”

नेपालको विद्यमान स्थितिमा अन्तर्राष्ट्रिय समुदायको सकारात्मक धारणा रहेको र त्यसबारे सत्तारुढ दलले समय–समयमा स्पष्ट पारिरहेको जनाउँदै उहाँले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न खोजे पनि बिग्रन सक्दैन भन्नुभयो । “प्राग्ऐतिहासिक र गहिरो यो सम्बन्धलाई दुई मुलुकको आधारभूत मान्यता जनहित र लोकतन्त्रका पक्षमा उपयोग गर्नुपर्छ । भारतसँगको हाम्रो सम्बन्ध सधैँ राम्रो छ र फेरि पनि राम्रो रहनेछ ।”

उहाँले आफूहरुले निरङ्कुश राजतन्त्र र उग्रवामपन्थी अतिवादलाई व्यवस्थापन गर्ने क्रममा रहेको सङ्क्रमणलाई लब्याउन नचाहेको पनि स्पष्ट गर्नुभयो ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूहरुले वार्ताका लागि गरिरहेको आग्रहलाई कमजोरी नठान्न आग्रह गर्दै शान्ति प्रक्रियामा आएका एमाओवादीलाई भागेर जङ्गल पस्न नदिने र समातेर राख्ने कोसिस गरिरहेको बताउनुभयो । उहाँले संविधान निर्माणका लागि विगतमा ठोस सहमति नभएको र भएका कतिपय सम्झौता अहिलेको सन्दर्भमा परिमार्जन हुन पनि सक्ने धारणा राख्नुभयो ।

अर्का उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीको महाधिवेशनपछि सुझावसमेत लिने गरी पहिलोपटक वरिष्ठ पत्रकारसँग छलफल गरिएको जनाउँदै समसामयिक राजनीतिका विषयमा सञ्चारमाध्यमले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापा, वरिष्ठ पत्रकारहरु युवराज घिमिरे, नारायण वाग्ले, तीर्थ कोइराला, शिव गाउँले, कुन्दन अर्याल, प्रतीक प्रधान, किशोर श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया