आइतबार, असोज ११ २०७७
काठमाडौं २१:१८
वासिङटन डिसी 11:33

आखिर कहिले आउँछ परिवर्तन हाम्रो सोचाइमा ?

विष्णु पगेनी सिग्देल /मेरिल्याण्ड २०७७ भदौ २७ गते २२:१० मा प्रकाशित

खेलौनाजस्तै देख्दो रहेछ हामीलाई बरिलै समाजको दृष्टिले 

छोरी भएर जन्मनु अभिशाप हो भने बरिलै नजन्माई देउ सृष्टिले।। 

प्रकाश सपुतको शब्द संगीतमा देवी घर्तीले गाउनु भएको बरिलै गीतका केही शब्दहरू हुन् माथिका हरफहरू। अस्ति भर्खर तीजमा यो गीत धेरै मानिसहरूले खुबै मन पराए। निकै चल्यो पनि। गीत चल्यो किनभने यो गीतले आम नेपाली छोरीहरूको पीडा बोलेको थियो। समाजको तीतो यथार्थ ओकलेको थियो। वर्तमान नेपाली समाजको असली रूपलाई  जस्ताको त्यस्तै गीतमा उतारेको थियो।  यहाँनेर प्रश्न के आउछ भने  कहिले सम्म छोरीहरूले आफू छोरी भएर जन्मनु परकोमा पश्चाताप गरिरहने? कहिलेसम्म छोरी भएकै कारण समाजको कुदृष्टिको सामना गरिरहने? कहिलेसम्म निर्मला पन्त र  काजल खातुन बनिरहने? नारी भनेका अबला, असहाय मात्र हुन् भन्ने समाजको सोचाइबाट कहिले मुक्त्त हुन्छन नारी? किन समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा व्यापक असमानता आइरहन्छ? किन आमाबाबुले पनि आफ्नै सन्तानलाई समान व्यवहार गर्दैनन्? किन हाम्रो समाजका पढे लेखेका शिक्षित भनाउदाहरू नै छोरा र छोरीमा फरक देख्छन? किन समाजका भलादमी र जानेबुझ्ने ठानिएका मानिसहरू पनि आँखा चिम्लेर यस्ता नराम्रा कुराहरूको पछाडि दौडन्छन?

समयसंगै संसारमा थुप्रै परिवर्तन पनि आइसकेको छ। परिवर्तनसंगै  विकसित मुलुकहरूमा नारीहरूले ती देशका ठूला ठूला पदमा आशीन भएर उनीहरूले नै  देश हाँकेको पनि हामीले  देखिरहेका छौं। अहिले आएर विकसित मुलुकहरूमा लैंगिक असमानता लगभग छैन नै भन्दा पनि हुन्छ। ती देशहरूमा त आजभोलि जनावर अधिकारका विषयमा ठूला ठूला बहसहरू हुन्छन । वातावरण संरक्षणका मुद्दामा सदनमा चर्काचर्की रूपमा कुराहरू उठ्छन । त्यस्ता देशहरूमा न काममा विभेद छ नारी र पुरुषका वीच न त पारिश्रमिकमा। नारीलाई त्यहाँ अत्यन्त सम्मानजनक रूपमा हेरिन्छ। महिला हिँसा, बलात्कारजस्ता कुरामा धेरै नै कमी छ। उनीहरूको हीतका लागि सरकारले निकै कडा कानुन ल्याएको हुन्छ।

तर  मैले यहाँनेर  दुखका साथ यो भन्नु पर्दछ कि हाम्रो नेपाली समाज आहिले पनि छोरो पाउने आशमा मन्दिरमा कालो बोको भाकल गरिरहन्छ। यही समाजका मानिसहरू छोरोकै चाहनामा ग्रह शान्ति, पूजाआजा, पुत्रेष्टि यज्ञ गरिरहेको हामीले देखिरहेका छौं। त्यतिमात्र कहाँ हो र? हाम्रै समाजको मान्छे शिवको मन्दिरमा रातभरि उभिइ हातमा बत्ती लिएर छोराको कामना गरिरहन्छ। कति पछाडि छ हाम्रो समाज, जहाँ अहिले पनि कयौं छोरीहरू संसारै देख्न नपाइ आमाको गर्भमै मारिन वाध्य हुनुपर्दछ। छोरी छोरी मात्रै जन्माएको बाहानामा कयौं नारीहरूले सौता व्यहोर्नु पर्दछ। यही कारण  लोग्ने  र घरपरिवारबाट अपहेलित हुनुपर्दछ। छोरीहरूले पनि,  यो त केटी हो यसले के गर्न सक्छे र? भन्नेजस्ता तुच्छ वचन सबैतिरबाट सुन्नु पर्दछ । कतिसम्म भने छोरीहरूलाई दिइने शिक्षा र छोराहरूलाई दिने शिक्षामा पनि विभेद गर्छ समाज। त्यसमाथि महिला हिँसा, बलात्कारजस्ता कुराहरूका दिनहुँ समाचारमा आउँछन। छोरीचेलीलाई दिउँसै घरबाट बाहिर हिंड्नु पनि गाह्रो छ।

हुनत हाम्रो देशमा पनि परिवर्तन नभएको कहाँ हो र? नेपाल पनि धेरै कुराहरूमा अगाडि बढिसकेको छ। देशकै गरिमामय पदहरूमा पनि माहिला नेतृत्त्व देख्न पाइएको छ। आजभन्दा तीस चालीस वर्षको नेपालभन्दा अहिलेको नेपालमा जनताहरू पनि धेरै नै शिक्षित  देखिन्छन । समाजमा धेरै परिवर्तन आएको छ। तर समाजका अन्य कुराहरूमा जतिसुकै परिवर्तन आएपनि नारीका समस्या ज्यूँ का त्यूँ छन। नारीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूलाई गरिने व्यवहारमा खासै परिवर्तन आएको देखिदैन।

हाम्रो समाज अब नेपाल र नेपालको सरोफेरोमा मात्रै सीमित पनि छैन। आज हामी नेपाली समाज र नेपाली भाषी  अमेरिकादेखि युरोपका कुना काप्चासम्म भेट्न सक्छौं। भन्नै पर्दा संसारका कुना काप्चासम्म नेपाली पुगिसकेको छ आज। त्यस्ता देशहरूमा सानातिना नेपाली समाज खडा भएको छ। हाम्रो समाजले अन्य देशको समाज र दृष्टिकोण नियाल्न सक्ने भइसकेको छ। यसैगरी एक नेपालीले आज घरै बसेर पनि इन्टरनेटबाट  सारा संसार बुझ्न सक्ने भएको छ।

सामाजिक संजालहरूबाट धेरै कुराहरू देख्ने भएको छ। तर यति धेरै परिवर्तन आइसक्दा पनि हामी नेपालीले अझै आफ्नो सोचाई बदल्न सकेका छैनौं। हामीले नारीलाई गर्ने अत्यन्त तल्लो स्तरको व्यवहारमा परिवर्तन ल्याउन सकेका छैनौं।

हामी अझ पनि छोराले तर्पण दिएर मात्र स्वर्ग तरिन्छ भन्ने अन्धविश्वासको अन्धभक्त्त भएर समर्थन गर्छौं। त्यसैका लागि छोरा पाउन  जे पनि गर्न तयार रहन्छौं। समाजका प्रतिष्ठित र सभ्य मान्छेहरू नै श्रीमतीका गर्भका भ्रुण हत्या गर्न सक्रिय रहन्छन। छोराकै आशमा आफ्नी श्रीमतीलाई धेरै सन्तान जन्माउन वाध्य पारिरहन्छन। अझ यस्ता मान्छेहरू नै समाजमा भ्रम सृजना गर्ने कुरामा अग्रसर भैरहन्छन।

समाजमा शिक्षाबाट पछाडि परेका र नबुझेका व्यक्तिहरूलाइ  बुझाउनुको साटो आफै भ्रमको खेती गर्दै हिंडछन।  यिनीहरू त समाजको राम्रो उदाहरण बन्नु पर्ने होइन र? यस्ता आफूलाई पढेलेखेको र सभ्य ठान्ने मान्छेहरू पनि यस्ता नचाहिदा कुसंस्कारको पछि लागेको देख्दा धिक्कार लागेर आउछ। मलाइ त के लाग्छ भने समाजमा आफू जान्ने सुन्ने हौँ भनेर टोपलिने केही मान्छेहरूको ज्यादै तल्लो स्तरको सोच हुँदासम्म हामीले समाजका कुरितिहरुलाई निर्मुल पार्नै सक्दैनौं।

हाम्रो समाज छोरा नभएको व्यक्तिलाई तल्लो नजरले हेर्ने गर्दछ।  छोरा नपाउनु उसको भाग्यको खेल हो भन्ठान्छ। उसले कुनै जुनीमा पाप गरेको कारण उसको छोरो नभएको हो भन्ने अत्यन्त तल्ल्लो स्तरको सोच राख्दछ। समाजले छोरा नभएका मान्छेलाई विचराको पात्र बनाईरहन्छ। फलानाको सम्पति त छ, तर के गर्ने विचरा छोरा छैनन्। गर्न त फलनाले राम्रै प्रगति गर्यो तर के गर्ने विचरा, छोरा छैनन्। यस्ता वचनले अक्सर छोरा नहुने व्यक्तिलाई प्रहार गरिरहन्छ समाज।

सायद तीन वर्ष  अघिको कुरा होला । हामीलाई एकजना व्यक्तिकोबाट खाना खाने निम्तो आएको थियो। त्यो दिन हामी र उहाँका परिवार बाहेक अरू दुई चारजना परिवार पनि थियो।  खानामा मीठा मीठा परिकारहरू बनाइएका थिए।  मीठा कुरासंग मीठा परिकारका स्वाद पनि लिदै थियौं। माहौल अत्यन्त रमाइलो थियो। यसै वीचमा घरपरिवार दाजुभाइका कुरा आए। प्रसंग हाम्रा दुई छोरीतर्फ मोडियो। कुराकानी कै क्रममा जब हाम्रो जेठाजुका पनि दुई छोरीहरू भएको कुरा आयो। त्यसैक्रममा एकजना पढेलेखेको शिक्षित भलादमीले फ्याट्टै हाँस्दै भनिहाल्नु भयो, मेरो श्रीमानलाइ। होइन यहाँको दाजुभाइले  त छोरा पाउन नै जान्नु भएन कि क्या हो? म त छाँगाबाट खसेजस्तै भएँ त्यतिबेला। ती भलादमीको सोच र चेतनाको स्तर देखेर। केही बोलिन, बोल्नु उचित पनि लागेन। त्यति रमाइलो माहौललाई नरमाइलो बनाईहाल्न पनि मनले मानेन। हुनत उहाँले हाँसोमजाक  मै त्यो कुरो गर्नु भएको थियो तर उहाँले एकपल्ट पनि सोच्नु भएन कि मैले यो बोल्ने कुरा  हो कि होइन ? कम्तिमा त्यतिबेला त्यति शिक्षित र भलादमी व्यक्तिबाट मैले त्यति निम्न स्तरको वाक्यको अपेक्षा गरेको थिइन।

हुनत त्यो मेरो पहिलो घटना होइन त्यस्तो कुरा सुनेको। मैले धेरै मान्छेहरूबाट त्यस्ता कुराहरू सुन्दै आइरहेकी थिएँ पनि। मैले मात्र होइन घरमा छोरी छोरी हुने धेरै व्यक्तिहरूले यस्ता भनाइहरू सुन्नु कुनै नौलो कुरा होइन हाम्रो नेपाली समाजमा। माथिको घटना  केवल एउटा उदाहरण मात्र हो।  हाम्रो समाज प्रेत्यक पलमा छोरा नभएका व्यक्तिहरूलाई मानसिक तनाव दिइरहन्छ। समाज उसको सोधेखोजी गरिरहन्छ। चासोखासो गरिरहन्छ। यदि कुनै परिवारलाई आफ्ना सन्तानको लिङ्ग जे भए पनि उसलाई  कुनै फरक पर्दैन भने किन अरूले यस बिषयमा चासो राखिरहने? जब मान्छे जुनसुकै लिङ्ग भएपनि ऊ आफ्नो सन्तानलाई भगवानको वरदान मान्छ, उचित शिक्षा, संस्कार दिन्छ। अनि ऊ त्यसमै खुसी छ र आफूलाई पूर्ण ठान्छ भने दुनियाँलाई अर्काको कुरामा टाउको दुखाइ किन?

फेरि अर्को कुरा के फरक छ छोरा र छोरीमा? आज संसारमा कुन त्यस्तो काम छ जुन छोराले मात्र गर्न सक्छ छोरीले गर्न सक्दैनन्? आज संसारका धेरै छोरीहरू  संसारकै उत्कृष्ट वैज्ञानिक, डाक्टर, इन्जिनियर, प्राध्यापक छन्। कयौं छोरीहरूले आफ्नो कामले लोग्ने मान्छेहरूलाई पनि पछि पार्न सफल बनेका उदाहरण हाम्रा अगाडि प्रशस्त देख्न पाइन्छ। फेरि जुन घरमा छोरी हुन्छन त्यो घर त स्वर्गभन्दा पनि सुन्दर हुन्छ। वास्तवमा छोरीहरू प्रकृति कै अनुपम उपहार हुन्। जुन केही भाग्यमानी मानिसहरूको निधारमा मात्र लेखिएको हुन्छ। छोरीहरू त कोमल हृदयका हुन्छन, नौनीजस्तै । उनीहरू बाबुआमाको दुख कहिल्यै देख्न सक्दैनन्। पराइघरबाटै भए पनि आफूले कसरी हुन्छ बाबुआमालाई खुसी राख्न प्रयत्न गरिरहन्छन।

जब बाबुआमा बिरामी पर्दछन अथवा परिवारमा कसैलाई दुख पर्यो भने छोरी नै बढी चिन्तित हुन्छन, विचलित हुन्छन। बाबुआमाको विशेष ख्याल छोरीहरूले नै गर्दछन। न कुनै लोभ, न कुनै स्वार्थ लुकेको हुन्छ छोरीहरूको मायामा। आफ्ना जन्म दिने बाबुआमालाई रुदै रुदै बाटामा हिंडन पारेका छोराहरू त कति देख्छौं कति हामी समाजमा। यो जिन्दगी भनेको बाँचुन्जेल खुसीले बाँच्नु हो। बाँचुन्जेल आफ्ना बूढा भएका बाबुआमालाई दुख दिने, रुवाउने अनि उनीहरू मरेपछि पिण्ड दिने छोरोको के काम? यथार्थमा भन्ने हो भने, बाबुआमाको पैत्रिक सम्पति खाएपछि बाबुआमालाई नै बृद्द आश्रम पुर्याउने छोराहरूको तुलना छोरीहरूसंग गर्न नै सकिदैन। मेरो विचारमा छोरा होस् या छोरी सन्तान जे भए पनि हुन्छ तर उनीहरू असल हुनुपर्दछ, ज्ञानी हुनुपर्दछ। बाबुआमाको मुहारमा खुसी त्यसले मात्र ल्याउन सक्छ जुन सन्तान असल छ। जसले बाबुआमाको महत्त्व र दुख बुझ्न सक्छ।

समाज तब मात्र परिवर्तन हुन्छ जब हामी कुनै पनि कुरालाई व्यवहारिक रूपमा लागू गर्दछौं। आफू पनि परिवर्तन हुन्छौं र समाज परिवर्तन गर्न अग्रसर रहन्छौं। आफूभित्रको गलत सोचाइलाई परिवर्तन गर्छौं। समाजका नराम्रो सोच र कुरितिहरुलाई हटाउन कम्मर कसेर लागि पर्दछौं। परिवर्तन सम्भव नहुने कुरा पनि त होइन। त्यसैले आजैबाट आफ्नो सोच परिवर्तन गरौँ। आफूभन्दा नबुझ्ने र नजानेका व्यक्तिहरूलाई बुझाउने प्रयास गरौँ। समाजमा आफू एक असल नागरिक भएर उदाहरण बनौं। आफू पनि बदलि अरूलाई पनि बदल्ने महान अभियानमा लागिपरौं।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।

 

प्रतिक्रिया