शुक्रबार, चैत २१ २०७६
काठमाडौं ०९:५५
वासिङटन डिसी 00:10

अमेरिकी सरकारले दिने प्रतिव्यक्ति १२०० डलरको सहयोग रकम कहिले आउंछ ? कहां आउंछ ?

इनेप्लिज २०७६ चैत १३ गते ०:२१ मा प्रकाशित

लुइभेल, केन्टकी । कोरोना महामारीवाट पीडित जनता र उद्यमीहरुको लागि सरकारले प्रदान गर्न लागेको राहतको रकम र्वैक खाता हुनेहरुका लागि वैंकमार्फत र वैंक खाता नहुनेहरुका लागि मात्रै चेकमार्फत आउने भएको छ । यस्तो रकम सरकारले २०१८ को जनवरीपछि ट्याक्स फायल गर्दा रिटर्न लिनका लागि आइआरएसलाई दिइएको वैंक एकाउन्ट नम्वर वा राज्यले दिने सप्लिमेन्टल सेक्युरिटी इन्कम (एसएसआइ) लगायतका सुविधा जम्मा गरिदिने वैंक एकाउन्टमा जम्मा हुनेछ ।

यो सरकारी सहयोग सवै कामदार, वृद्धवृद्धा, सैनिकहरु, वेरोजगारहरु वा न्यूय आय भएका अमेरिकनहरुले प्राप्त गर्नेछन्, सिनेट फाइनान्स कमिटीका अध्यक्ष चक ग्रास्लीले भनेका छन् ।

विगतमा ट्याक्स फाइलका लागि वैंक एकाउन्ट नम्वर नदिएका वा राज्यवाट कुनै सामाजिक सुरक्षा रकम नपाउनेहरुका लागि भने चेकनै पठाइने छ । राहत रकम जम्मा गरिदिएको वारेमा सरकारले नागरिकको ठेगानामा जानकारी समेत पठाउने छ र कसैले सहयोग प्राप्त नगरेमा आइआरएससंग फोन गरेर जानकारी लिन पाइनेछ ।
यो रकम यथासंभव छिटो पठाइने छ र आगामी डिसेम्वर ३१ भन्दा ढिला गरिनेछैन, सम्वद्ध अधिकारीहरुले प्रष्ट पारेका छन् ।

सिनेटवाट हिजो पारित राहतसम्वन्धी विधेयकमा वार्षिक ७५ हजार भन्दा कम कमाइ हुने र सिंगल ट्याक्स फायल गर्नेलाई १२०० डलर र संयुक्त ट्याक्स फाइल गर्ने र वार्षिक कमाइ १ लाख ५० हजार डलर भन्दा कम हुनेहरुलाई २४०० डलर प्रदान गरिनेछ । सिंगल ट्याक्स फाइल गर्नेहरुको कमाइ वार्षिक ७५ हजारभन्दा वढी भएमा सहयोग राशीमा कमाइको प्रतिशतका आधारमा कटौति हुनेछ तर कमाइ ९९००० डलर पार गरेमा सहयोग प्रदान गरिनेछैन । ७५००० डलर भन्दा वढी कमाइ भएमा प्रति हजारमा ५० डलर कटौति हुनेछ भने संयुक्त ट्याक्स फाइल गर्नेहरुको हकमा पनि सोही नियम लाग्नेछ र उनीहरुले दुइजनाको कमाइ १ लाख ९८ हजार भन्दा वढी भएमा यस्तो सहयोग प्राप्त गर्नेछैनन् । प्रति वालवालिका ५०० डलर थप गरेर अभिभावकलाई नै पठाइने विधेयकले व्यवस्था गरेको छ ।

सरकारी सहयोग प्राप्त गर्नका लागि सन् २०१८ वा सन् २०१९ को ट्याक्स फाइल नगरेपनि कुनै फरक पर्नेछैन ।

प्रतिक्रिया