शनिबार, मंसिर १ २०७५
काठमाडौं ०९:५५
वासिङटन डिसी 23:10

क्याबात केसी डान्स सेन्टर!

कार्यक्रम समयमै शुरु गर्नु र सम्पन्न हुनु यो कार्यक्रमको राम्रो पक्ष हो

बसन्त श्रेष्ठ ,भर्जिनिया, अमेरिका २०७५ असोज २९ गते १७:४७ मा प्रकाशित

 

तस्बिर :विजय श्रेष्ठ

अक्टोबर १३ तारेखका दिन भर्जिनियाको एनानडेल शहर स्थित नोभा कलेजमा हिन्दुहरुको चांड दशैंको शुभ अबसरमा केसी डान्स सेन्टरको दोश्रो आयोजना “कलिवुड नाईट” हेर्ने अवसर जुर्यो । केसी डान्स सेन्टरले हरेक बर्ष दशैंको अबसरमा आयोजना गर्ने बिबिध सांसकृतिक कार्यक्रमको यो दोश्रो प्रस्तुति थियो ।दर्शकको उपस्थिति र केसी डान्स सेन्टरले प्रस्तुत गरेको सामुहिक नृत्यको आकलन गर्ने हो भने यो कार्यक्रम भब्य सफलताले सम्पन्न भएको थियो |

कार्यक्रम समयमै शुरु गर्नु र सम्पन्न हुनु यो कार्यक्रमको राम्रो पक्ष हो ।

दुइ चरणमा बिभाजन गरिएको सो कार्यक्रमको मख्य आकर्षण केसी डान्स सेन्टरले तयार गरेको सामुहिक नृत्य नै थियो । साना साना बालिका, बालिग र आमा समुहको सबै नृत्य प्रस्तुति बेजोड नै थियो । युगल नृत्य हेर्दै आएको हामि दर्शक हरुको लागि सामुहिक नृत्य अति सानदार, सुन्दर र मनमोहक नै थियो भन्दा अत्युक्ति नहोला । प्रस्तुतिको हिसाबले भन्ने हो भने एकल वा युगल नृत्य भन्दा सामुहिक नृत्य प्रस्तुतु गर्नु अति कठिन हो । बालबालिका, जवान देखि आमा समुहको नृत्य प्रस्तुतिमा गीतको छनौट अनि प्रस्तुति साचै नै भब्य थियो । सबै नृत्यांगना हरु कुशल र प्रशिक्षित कलाकार जस्तै लाग्दथे । कतै कसैको नृत्यमा खोट लाउनु पर्ने कतै देखिएन । त्यसैले यो कार्यक्रमको मुख्य आकर्षण नै नृत्य नै रह्यो । त्यसको लागि सम्पूर्ण श्रेय निर्देशन गर्ने केशी डान्स सेन्टरका नृत्य निर्देशक नबिन केशी र लुना केशी लाई जान्छ । बधाई छ !

अर्को महत्वपूर्ण आकर्षण थियो सरोज खनाल, किरण प्रताप केशी र रीमा केशी अभिनित नाटक ‘भूकम्प’ | इस्वी सम्बत २०१५ मा नेपालमा गएको अति विनाशकारी महा भूकम्पको केन्द्रमा रहेर परिकल्पना गरि तयार गरिएको सो नाटक प्रस्तुति, सम्बाद र अभिनयमा कतै खोट लाउने ठाउँ थिएन। यस नाटकले प्रबासमा रहेको सम्पूर्ण नेपालीहरुको कथा, व्यथा र यथार्थ भाबना समेटेको छ । भूकम्पले आफ्नो घर मात्र होइन आफ्नो आमालाई पनि गुमाउनुको पिडा अनि देश फर्कन नसक्नुको कारण कति पीडादायी हुन्छ यसको छोटो बर्णन छ यस नाटकमा ।

नाटक छोटो भए पनि गहन सम्बादले देश, काल र परिश्थितिको समुल ब्याख्या गर्न सफल भएको छ | नाटकमा बिदेशमा बस्नेले देशमा हिलो छ्याप्ने, यो गर त्यो गर भनेर आदेश दिने, राम्रो भन्दा नराम्रो कुरालाई उचाल्ने, देशको राष्ट्रिय झन्डालाई भन्दा राजनीतिक झन्डा बोक्नुलाई प्राथमिकता दिने अनि बिरोधको लागि कालो झन्डा प्रदर्शन गरेर आफु आफुमा बिभाजन गर्न खोज्नु राम्रो संस्कार र परम्परा होइन भनेर राम्रो सन्देशमुलक विचार दिने अभिप्राय देखिन्छ ।

जो अति सराहनीय लाग्दछ । यो कुरा बुझ्नेलाई श्रीखण्ड र नबुझ्ने लाई खुर्पाको बिंड मात्र पनि हो | नेपाली चलचित्र जगतका हस्ती सरोज खनालको परिकल्पनामा तयार गरिएको सो नाटक सरोज खनाल, चलचित्र क्षेत्र कै स्थापित कलाकार किरण प्रताप केशी र रीमा केशी अभिनित सो नाटकको प्रस्तुति उम्दा थियो भन्न हिच्किचाईरहनु पर्दैन । सन्देशमुलक र खारिएको अभिनयको कारणले सबैले औधि मन पराएको थियो । सो नाटकको केहि प्रस्तुति श्रव्यदृश्य बाट मन्चन गरि प्रस्तुत गरिएको सो नाटकको यो नौलो प्रस्तुति जो अत्यन्तै स्वाभाविक र रमाईलो पनि थियो | यहि कार्यक्रमको लागि भनेर नेपाल देखि आएर यस्तो उत्कृष्ट नाटक र नृत्य प्रस्तुत गर्नु बरिष्ठ तथा चर्चित कलाकार सरोज खनाललाई बिशेष धन्यबाद र बधाई ।

सो कार्यक्रममा प्रस्तुत अरु गीत, नृत्य र प्रहसन औसत मनोरंजनपूर्ण नै थियो भन्दा हुन्छ | जो प्रत्येक कार्यक्रममा देखिरहने र सुनिरहने बाहेक थप वाह गर्ने लायक थियो जस्तो लाग्दैन | तर प्रबासमा रहेर आफ्नो व्यस्त जीवनको समय खर्चेर मातृभूमिको भाषा, कला र संस्कृति लाई संरक्षण र सम्बर्धन गर्नको लागी तयार यी सम्पूर्ण गायक तथा कलाकार हरु धन्यबादका पात्र मात्र होइन विशिष्ट छन् भन्ने मलाई लाग्दछ । कार्यक्रमको सफलताको श्रेय सबैलाई नै जान्छ |

परशु तिम्सिना र सुजाता बस्नेतको उद्घोषण ठिकै लाग्यो । परशुजी लाई धेरै पटक सुनेको हुँदा केहि भन्न परेन । तर सुजातालाई मैले पहिलो पटक सुनेको हुँदा भविष्यमा राम्रो कार्यक्रम संचालन गर्न सक्ने क्षमतावानको रुपमा हेरियो भने अत्युक्ति नहोला | तर कार्यक्रम संचालकले ख्याल गर्नु पर्ने मुख्य कुरा सम्पूर्ण दर्शकलाई कार्यक्रम भरि मनोरन्जनपूर्ण रुपमा बाँधेर राख्नु नै हो । चिच्याएर जबर्जस्ति तालि पिट्न लाएर अनि लामो लामो कुराहरु थोपर्नु दर्शक त्यति मन पराउदैनन ख्याल गर्नु पर्ने कुरा यो हो ।

सो कार्यक्रमको अरु बिबिध पक्ष लाई हेर्ने हो भने सुरक्षा र ब्यबस्थापनमा राम्रो विचार पुर्याएको देखिन्छ । कार्यक्रम प्रस्तुतिको बेला पछाडिको पर्दामा देखाईएको छायांकन सबै नै अति उत्कृष्ट थिए | प्राविधिकको यो पक्ष अति सर्हानिय थियो | ध्वनी हलको बाँया पट्टि जहाँ म थिएँ राम्रो र प्रष्ट बुझिदैन थियो । सबभन्दा कमजोर पक्ष थियो प्रकाशको (light) | कलाकार मन्चमा होस् या दर्शक दीर्घामा कतै पनि प्रकाश पर्याप्त मात्र होइन थिएन नै । केशी डान्स सेन्टरले हरेक बर्ष गर्ने यस्तो कार्यक्रम रहेकोले भविष्यमा यी कमि कमजोरीलाई ध्यानमा रहोस भन्ने नै यो लेखनको मुख्य अभिप्राय हो ।

तर यी सबका बाबजुद पनि कार्यक्रम सफल रह्यो । कार्यक्रमलाई सफल गर्न दिन रात नभनी मिहिनेत हर्ने सम्पूर्ण संलग्न ब्यक्ति बिशेष धन्यबादका पात्र छन् ।कार्यक्रमको आयोजना मात्र होइन उच्चस्तरको नृत्यको लागि परिकल्पना र निर्देशन गर्ने केशी डान्स सेन्टरका नबिन केसी र लुना श्रेष्ठलाई बिशेष धन्यबाद । फेरी पनि यस्तै उम्दा कार्यक्रम हेर्ने पाईयोस ।

लेखक :बसन्त श्रेष्ठ :

 

 

प्रतिक्रिया