शनिबार राति इजरायलको राजधानी तेल अभिभ स्थित होस्टेज स्क्वायरमा करिब ३०,००० प्रदर्शनकारीहरू भेला भई गाजामा भइरहेको युद्धको अन्त्य र अझैपनि हमासको कब्जामा रहेका इजरायली बन्धकहरूको तुरुन्त फिर्तीको माग गर्दै विशाल प्रदर्शन गरे।
सिएनएनका अनुसार यस प्रदर्शनले इजरायलभर दिनभर चलेका साना–ठूला विरोध कार्यक्रमहरूको शृंखलालाई एकजुट बनाएर राष्ट्रिय सन्देश दिएको छ।
प्रदर्शनमा सहभागीहरूले “उनीहरूलाई घर ल्याउनुहोस्” भन्ने नारा लेखिएका प्रचार सामग्रीहरू बोकेका थिए। केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै यस्तो सन्देश लेखे— “राष्ट्रपति ट्रम्प, गाजाको संकट अन्त्य गर! नोबेल पर्खिरहेको छ!” अर्थात् प्रदर्शनकारीले नोबेल पुरस्कारको लागि संकेत गरेका हुन् । र अहिले उनको यस बिषयमा जताततै चर्चा छ ।
ट्रम्पले हालै इजरायल र इरानबीचको १२ दिने तनाव अन्त्य गर्दै युद्ध विराम गराएका थिए। इरानले उत्तरी इजरायलतर्फ प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) प्रहार गरेपछि इजरायलले प्रतिक्रिया स्वरूप तेहरान नजिकैको रडार प्रणालीलाई लक्ष्य बनायो। यही कारणले धेरै इजरायलीहरू ट्रम्पले गाजामा पनि यस्तै प्रभाव पार्न सक्ने विश्वासमा छन्।
सिएनएनले उल्लेख गरे अनुसार प्रदर्शनमा बोल्दै रुबी चेन जसका छोरा इताय चेन अक्टोबर ७, २०२३ को हमलामा मारिए । तर शव अझै गाजामा रहेको छ। उनले भनिन् , “सबै बन्धकहरू फर्काउनु हाम्रो धर्म हो। यो आत्मसमर्पण होइन, यहूदी हुनुको प्रतीक हो।”
देशका अन्य शहरहरूमा पनि व्यापक बिरोध प्रदर्शन भएको छ । हाइफामा नेतान्याहूको राजीनामा माग्दै, “कति रगत बगाउनु बाँकी छ ?” भन्ने ध्वजा (ब्यानर)हरू बोकेका थिए।
वामपन्थी डेमोक्र्याट्स दलका नेता तथा पूर्व सेनाधिकारी याइर गोलानले भने, “बन्धकहरू कुनै सौदाबाजीको वस्तु होइनन्। उनीहरू हाम्रो परिवार हुन्। उनीहरूको फिर्तीलाई प्राथमिकता नदिने सरकार नेतृत्वको योग्य छैन।”
प्रतिक्रिया