मेरिल्याण्डमा सामूहिक इहि तथा कयता पूजा (ब्रतवन्ध) संस्कार सम्पन्न

इनेप्लिज २०८२ असार १४ गते २०:४७ मा प्रकाशित

कयता पुजा र ईहि संस्कार नेवाः समुदायमा दशकर्म संस्कार मध्य एक संस्कार हो । कयता पुजामा बालकहरू ५ बर्ष वा सो भन्दा माथि १३ बर्ष भित्र गरिन्छ भने ईहि संस्कारमा बालिकाहरू ६ बर्ष देखि १० बर्ष भित्र गरिन्छ ।

नेपाल बज्रयान महाबिहार, लुम्बिनीको चक्रेश्वर गुरु डा.नरेशमान बज्राचार्यको निर्देशनमा गुरु वज्राचार्य संघ, अमेरिकाको आयोजना तथा अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघ, मेरिलाण्डको सहयोगमा अमेरिकामा पहिलो पटक जुन २१ तारिखका दिन सामुहिक इहि तथा कयता पूजा (ब्रतवन्ध) संस्कार सम्पन्न भयो ।

१० बर्षीय निरभ आचार्य, ८ बर्षीय अनीस आचार्य, ६ बर्षीय आर्यभ ताम्राकार बालकहरुद्वारा कयता पुजा (ब्रतवन्ध) संस्कारमा र ९ बर्षीय आर्यातारा शाक्य, ५ बर्षीय आभालिना माया कुटु बालिकाहरुद्वारा इहि संस्कारमा भाग लिइएको यस पवित्र कार्यक्रम मेरिल्याण्डको बर्टनस्भिलमा अवस्थित वाशिङ्गटन काली मन्दिर, मेरिल्याण्डको प्राङ्गणमा करिब १०० जना पाहुनाहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

नेवाः बौद्ध बज्रयान परम्परा अनुसार गरिएको यस पूजाको संचालन मूलाचार्य गुरुजुमा मेरिल्याण्डबाट यज्ञ मान शाक्य बज्र गुरुजु र उपाध्याय गुरुजुमा टेक्ससबाट उत्तम बज्राचार्य गुरुजु आउनु भई पूजा संचालन गरिएको थियो । जजमानमा थकाली र नकीं अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघबाट कैलाश सिंह र रिता सिंह बस्नु भएको थियो भने न्वकुहरुमा हिना बज्राचार्य र सगीना श्रेष्ठ बस्नु भएको थियो ।

बालबालिकाहरुको लसकुस (स्वागत गरि पुजा स्थल सम्म लगिने) को लागि नकीं न्वकु साथै नेपाली समुदायका सदस्यहरु सगिना श्रेष्ठ, समिधा श्रेष्ठ, हिना बज्राचार्य, सबिना सुवाल, सुष्मा महर्जन, लक्ष्मी रंजीत, रेश्मी रंजीत, रंजिता श्रेष्ठ, शान्ति श्रेष्ठ, रेश्मी ताम्राकार, रमिता महर्जन, देवलक्ष्मी खड्गी, सदिक्षा साही, रत्ना रंजीत, अनु जोशी, राधा जोशी, रोशनी गोर्खाली, समालता प्रधानहरुको साथै परम्परागत बाजागाजाको लागि जयम्बु रंजित, लुजला रंजित र कोहिल मान शाक्यबाट लसकुस गरि लगिएको थियो र सकृय स्वयम सेवा तथा सहयोग गर्नुभएको थियो ।

अभिषेक दिनको लागि मूलाचार्य गुरुजु, उपाध्याय गुरुजु, स्थबिर रजेन बज्राचार्य र थकाली कैलाश सिंहको साथमा बालबालिकाका बुबाहरु बिबभ आचार्य, सगुन ताम्राकार, किजन मान शाक्य र सुनिल कुटु गरि ५ जनाबाट बालबालिकाहरुलाई स्नान गराई अभिषेक दिनु भएको थियो ।

सम्पूर्ण कार्यक्रम ईनेप्लीजद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो । यस कार्यक्रमको फोटोग्राफ्रि तथा भिडियोग्राफ्रि फोटो बैंकका राजीव श्रेष्ठ, समृद्ध श्रेष्ठ र समिधा श्रेष्ठबाट कैद गरिएको थियो । आमन्त्रित वाशिंङ्गटन डि.सी. क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता थियो । अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघको तर्फबाट संयोजन प्रबिन ताम्राकारले गर्नु भएको थियो ।

कयता पुजा र ईहि संस्कार नेवाः समुदायमा दशकर्म संस्कार मध्य एक संस्कार हो । कयता पुजामा बालकहरू ५ बर्ष वा सो भन्दा माथि १३ बर्ष भित्र गरिन्छ भने ईहि संस्कारमा बालिकाहरू ६ बर्ष देखि १० बर्ष भित्र गरिन्छ । यी संस्कारहरू गरिनुको मुख्य कारण बाल्य अबस्थाबाट वयस्क अबस्थामा प्रवेश गर्नु हो ।यस संस्कारमा बालकहरूको बाल्यावस्थाको कपाललाई मामा (पाजु) ले सुनचाँदीको चक्कू (खोचा) ले टूप्पी (आगंसा) मात्र बाकी रहने गरि खौरिन्छ भने ईहि गरिने बालिकाहरूको खुट्टाको न∙ काटिन्छ र अलः लगाईन्छ ।

कयता पुजामा फुफुले बालकको खौरेको कपाललाई काँचको थालीमा थापिन्छ भने ईहि संस्कारमा फुफुले काँचको थालीमा बालिकाको खुट्टाको नगंलाई थापिन्छ । यी सबै कार्य सकिएपछि स्नान गराई शुद्ध गरिन्छ र सबै बालबालिकाहरूलाई (लसकुस) स्वागत गरि पुजा मण्डपको ठाउमा बसाईन्छ । कयतापुजाका बालकहरूले गुरूको समिपमा बसि गुरूबाट गुरू शिक्षाको लागि अनुरोध गरिन्छ र गुरूबाट गुरूकुलमा बस्नको लागी चाहिने सबै सामान दिई शिष्य बनाईन्छ र आमा बुबासंग बिदा लिई ७ पाईला हिंडी ब्रतादेश गईन्छ । अन्तमा मामाले फकाएर घर फिर्ता ल्याईन्छ ।

ईहि संस्कारमा बाल्यावस्थाबाट वैस्क अवस्थामा प्रवेशको रूपमा ईहि (पर्सी) साडी दिईन्छ । यो संस्कार मुख्य बेल संग सम्बन्ध छ । जसलाई बौद्ध परम्परा अनुसार बोधिचित्तको रूप दिईएको पाईन्छ । ईहि गरिने बालिकाको पनि बेलको जस्तै चित्त होस भनि गुरूले ईहि गरिने बालिकाको हातमा बेल राखि मन्त्र उच्चारण गरि भावना गरिन्छ र समय आएपछि आफ्नो छोरीको बिबाह गरिदिने संकल्प गरिन्छ ।

बिहान ८ बजे देखि २ बजेसम्मको पुजामा गुरुमण्डलाचरणबाट पुजा शुरु भई ब्रतबन्धका बालकहरुको देशान्तरबाट फर्कि गृहस्थी धर्म ग्रहण र इहि संस्कारका बालिकाहरुकोबाह्रा छुयगु (भिक्क्षा प्रदान) बाट यस संस्कारको पुजा समापन भएको थियो ।

प्रतिक्रिया