बिहीबार, साउन १४ २०७८
काठमाडौं ०१:१६
वासिङटन डिसी 15:31

धैर्य गरेर विपत्तिको सामना गरौँ: प्रधानमन्त्री

इनेप्लिज २०७२ जेठ १२ गते १२:२० मा प्रकाशित

US Khabar.com Submits Relief Fund to the PM

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले धैर्य गरेर भूकम्पबाट सिर्जित महाविपत्तिको सामना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

‘युएस खबर डटकम’द्वारा संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमार्फत भूकम्पबाट प्रभावित जनताको राहतका लागि सङ्कलित दुई लाख ८० हजारबराबरको चेक आज बुझ्दै प्रधानमन्त्री कोइरालाले सबै भएर सामना गरे छिट्टै समस्या समाधान हुने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितको उद्धार तथा राहतका लागि खडा गरिएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सङ्कलित रकम पारदर्शी रुपमा उपयोग भइरहेकोे बताउँदै त्यसमा अनियमितता गर्नेलाई कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोग सामग्री वितरण नदोहोरियोस् भन्नाका लागि सरकारले उद्धार तथा राहत कार्यमा एकद्वार प्रणाली अपनाएको जानकारी गराउँदै त्यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सो रकम नेपाल प्रेस युनियनको संयोजनमा हस्तान्तरण गरिएको हो ।

आजै उद्धार कोषमा नेपाल विद्युत् प्राधिकरणको रु दुई करोड ५० लाख, प्राधिकरण कर्मचारीको रु पाँच लाख, चिलिमे जलविद्युत् परियोजनाको रु दुई करोड र माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको रु ५० लाख बराबरको चेक ऊर्जामन्त्री राधा ज्ञवालीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

त्यस्तै एनसेलले रु १० करोड, डाबर नेपालले रु एक करोड, एसियन पेन्ट्सले रु ११ लाख ११ हजार १११, एसियन पेन्ट्सका कर्मचारीले रु सात लाख ११ हजार १११, आनन्द सङ्घ पुलाहरी गुम्बाले रु ३० लाख, करुणा फाउन्डेसनले रु पाँच लाख र सापकोटा समाज इटहरीले रु एक लाख बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया