बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १०:१२
वासिङटन डिसी 23:27

तीन नेता एकैसाथ भूकम्प प्रभावित जिल्लामा, राष्ट्रिय एकताको भावनाका साथ अघि बढ्न प्रमबाट आग्रह

इनेप्लिज २०७२ वैशाख २३ गते १०:०७ मा प्रकाशित

sushil-kp-prachanda-650x295धुन्चे(रसुवा), २३ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय विपत्तिका बेला सबै नागरिक राष्ट्रिय एकताको भावनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज बिहान ९ एनआरए ७ हेलिकप्टरबाट नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका साथ सदरमुकाम धुन्चे आउनुभएका प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितलाई जिल्ला र केन्द्रीयस्तरबाट राहत तथा सेवासुविधा मिल्ने आश्वासन दिँदै भूकम्पपीडित नागरिकलाई कुनै पनि भेदभाव नगरी एक ढिक्का भएर राहत एवम् उद्धार गर्न सबै पक्षलाई आह्वान गर्नुभयो । उहाँले यहाँ भइरहेको राहत वितरण तथा उद्धारका कार्यको प्रशंसा पनि गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सबैलाई सम्बोन गर्दै भन्नुभयो, “प्रकृतिको सामना गर्न सबैले दलगत स्वार्थ त्याग्नुपर्छ, गाउँ–समाजमा सबैले जनसेवामा सहकार्य गर्दै अगाडि बढ्नुपर्छ ।” उहाँले वर्षायाममा जस्ताको टहरामा बसोवास मिलाउनुपर्ने र वर्षापछि मात्र भूकम्प प्रतिरोधी आवास निर्माण गरिनुपर्ने पनि बताउनुभयो । उहाँहरु आज बिहान ९ बजे धुन्चेस्थित नेपाली सेनाको हेलिप्याडमा उत्रनुभएको थियो । नेताहरुले लाङ्टाङलगायत रसुवाका भूकम्पबाट क्षतिग्रस्त ठाउँको हवाई अवलोकन पनि गर्नुभएको थियो ।

सो अवसरमा एमालेका अध्यक्ष ओलीले भूकम्पमा परी दिवङ्गत भएका नागरिकको चिरशान्तिको कामना र घाइते सबै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबै एक जुट भई विपत्तिको सामना गर्नुपर्ने बताउनुभयो । त्यस्तै राससको जिज्ञासामा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष दाहालले यो विपद् व्यवस्थापन गर्न सबै तह र तप्काका मानिस एक जुट हुनुपर्ने बताउँदै खोज, उद्धार तथा राहत र पुनःस्थापनामा सबैलाई लाग्न आग्रह गर्नुभयो ।

मुलुकको कार्यकारी प्रमुखलगायत मुख्य दलका शीर्ष नेताको भूकम्प प्रभावित क्षेत्रमा भएको सामूहिक निरीक्षणले नेताहरुमा राष्ट्रिय मेलमिलापको भावना बढेको र भूकम्पपीडितले पनि यथेष्ट राहत र पुनःनिर्माणमा सहयोग पाउने आशा यहाँ गरिएको छ ।

सो अवसरमा प्रजिअ उद्धवप्रसाद भट्टराईले यहाँ भइरहेको राहत वितरण, स्थानीय जनताको बसोवासको अलावा पर्यटन व्यवसाय, जलविद्युत्, अन्तर्राष्ट्रिय व्यापार, सरकारी कामलगायत भूकम्पको प्रभावबाट नाजुक रसुवाली नागरिकका अवस्थाबारे प्रधानमन्त्री र नेताहरुलाई जानकारी गराउनुभएको थियो ।

यस्तै नेपाली सेना नारायणदल गणका गणपति प्रमुख सेनानी लक्ष्मण थापाले सेनाले गरेको खोज,उद्धार तथा राहत वितरणलगायत तथा जिल्लामा सेनाको दीर्घकालीन योजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै ९८१ सामान्य घाइतेलाई स्थानीयस्तरमा उपचार गरिएको र तीमध्ये ७५ विदेशीलाई प्राथमिक उपचार गरिएको बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति लामाकार्पु तामाङ, एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, एमाओवादीका इन्द्र गोतामेलगायत जिल्ला तहका नेताहरुले राहत तथा पुनर्वासका लागि विशेष ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गर्र्दै जिल्लास्तरमा राहत सङ्कलन, व्यवस्थापन र वितरण समितिले गरेको कामको प्रशंसा गर्नुभएको थियो । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विशिष्ट नेताहरु भूकम्प प्रभावित जिल्लामा आएकाले जनताको मनोबल बढेको बताउँदै अब उद्धार, राहत र पुनःस्थापना कार्यले तीव्रता पाउने विश्वास रासससमक्ष व्यक्त गर्नुभयो ।

जिल्लामा हालसम्म यही वैशाख १२को भूकम्पको प्रभावबाट ४५६ को मृत्यु तथा ७५२ जना घाइते भएका छन् । यहाँका ९० प्रतिशत घर पूर्ण रुपमा क्षतिमा परेका छन् । उद्धार गरिएका विदेशी पर्यटकमा ३५२ जना छन् ।

प्रतिक्रिया