मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १८:०९
वासिङटन डिसी 07:24

आईतबार झापा र मनाङ भिड्दै

इनेप्लिज २०७२ वैशाख ५ गते १४:५५ मा प्रकाशित

लक्ष्मी काफ्ले
football_super_final_pic_final72159झापा, ५ बैशाख । रेड बुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा होम अन्तरगत झापा ११ ले आफ्नो दोस्रो खेल आइतबार खेल्दैछ ।

आइतबारको खेलमा झापाले चिरप्रतिद्वन्दी मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दैछ । विर्ता बजारस्थित डोमालाल रंगशालामा दिउँसो २ बजेबाट शुरु हुने खेलमा झापाका तर्फबाट कप्तान प्रवेश कटुवालसँगै स्ट्राइकर कर्ण लिम्बु, योगेश गुरुङ, विशाल राई ‘ए’, बुद्ध चेम्जोङ लगायतका खेलाडी हेर्न लायकका हुनेछन् भने  मनाङका तर्फबाट अनिल गुरुङ, निराजन खड्का, विशाल राई ‘बी’, अफ्रिकन खेलाडी डोडोज लगायत रहने छन् ।

केहि महिना अघि सम्पन्न एन्फा कपमा झापाले मनाङलाई १–० गोल अन्तरले पराजित गरेको थियो । ‘मनाङलाई पहिले पनि हामीले जितेकै हो, यसपालि त होम ग्राउण्ड पनि छ,’ झापा ११ का टिम व्यवस्थापक टेकराज तिलिङले भने, ‘आइतबारको खेलमा मनाङलाई रोक्दै झापा पहिलो स्थानमा उक्लनेमा हामी विश्वस्त छौं ।’

शनिबार साँझ बिर्तामोडमा आयोजित प्रि म्याच कन्फरेन्समा झापा ११ का प्रशिक्षक भगिरथ आले मामाले झापाले जित्नेमा आफू ढुक्क रहेको बताए । ‘लिगमा एउटा खेल हार्दैमा सकिँदैन,’ वरिष्ठ फुटबल प्रशिक्षक मामाले भने– ‘अवे गेम अझै बाँकी नै छ, हामी आत्तिनु हुँदैन ।’ उनले बेञ्चमा पनि झापाका खेलाडी भरपर्दो रहेको बताए । मामाले भने– ‘यहाँका दर्शकले झापाको खेलको बारेमा सुनेका मात्र थिए, अब त दर्शकले देखिपनि सकेका छन् ।’

होम अन्तरगत झापाको पहिलो खेलमा मिडफिल्डरको भूमिका कमजोर रहेको बताएका मामाले ट्रेनिङमा बिशाल राई ‘ए’ फिट देखिएपनि त्यो अनुसार खेल्न नसकेको स्पष्ट पारे । ‘मनाङ–मस्र्याङ्दीसँगको खेल हामीले जित्नै पर्छ,’ प्रशिक्षक मामाले भने– ‘झापासँगको खेल मनाङले मोरङसँग खेलेजस्तो चाहिँ हुँदैन ।’ मनाङको फरवार्ड र डिफेन्स राम्रो रहेको बताएका मामाले झापाले त्यसलाई क्लियर गर्ने बताए । प्रशिक्षक मामाले मनाङले मोरङसँग ड्र खेलेपछि झापाको आत्मबल अझ बढेको बताए । अघिल्लो खेलमा घाईते भएका झापाका कप्तान प्रवेश कटुवाल फिट भएको मामाले जानकारी दिए ।

उता मनाङ मस्र्याङदीका प्रशिक्षक राजुकाजी शाक्यले भने झापा ११ लाई घरेलु दर्शकको साथ रहेकाले झापा उच्च मनोबलमा रहेको स्वीकारेका छन् । ‘मलाई थाहा छ, हामीलाई गाह्रो छ,’ शाक्यले भने– ‘तर मलाई विश्वास छ, हामी यो खेल जित्छौं ।’
शाक्यले मोरङसँग ओभर कन्फिडेन्स भएर आफ्नो टिमले ड्र मा चित्त बुझाउनु परेको बताए । उनले भने– ‘झापासँग जित्नै पर्छ भन्ने कुरा हाम्रा खेलेडीले बुझेका छन् ।’ अवे अन्तरगत दोस्रो खेल खेल्न लागेको मनाङका प्रशिक्षक शाक्यले लिग लामो भएकाले पछि जे पनि हुन सक्ने बताउँदै अहिलेको स्थितिमा झापा ११ उपाधिको दावेदार रहेको बताए ।

आफूहरु टिमवर्कमा भर पर्ने बताएका शाक्यले झापाका कर्ण लिम्बू, बिशाल राई ए मनाङका लागि खतरनाक हुन सक्ने बताए ।

प्रतिक्रिया