बिहीबार, वैशाख ९ २०७८
काठमाडौं ०९:१४
वासिङटन डिसी 23:29

डा गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल

इनेप्लिज २०७१ चैत १६ गते ११:०४ मा प्रकाशित

govinda-kcकाठमाडौँ, १६ चैत । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै नौ दिनदेखि अनशनरत त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागमा कार्यरत प्रा डा गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बनेको छ ।

उहाँको स्वास्थ्यमा उपचाररत प्रा डा दिव्यसिंह शाहले आज अनशनस्थलमा डा केसीको स्वास्थ्यका बारेमा सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार डा केसीलाई जुनसुकै समयमा पनि सघन उपचारकक्ष (आइसियु)मा लगी उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।

तर डा केसीले भने आफूलाई आइसियुमा लगी उपचार नगर्न आफ्ना सहयोगीहरुलाई भन्नुभएको छ । डा शाहले डा केसीको पिसाबमा एसिटोन, कम रक्तचाप (लो ब्लड प्रेसर), कमजोर मांसपेशी तथा रक्तनली, टाउको दुख्ने, रिङ्गटा लाग्ने लक्षण देखिएको छ ।

डा शाहका अनुसार डा केसीको रक्तनली कमजोर हुँदै जाँदा यसले मस्तिष्क, मुटु तथा मिर्गाैलालाई प्रत्यक्ष असर पु¥याउन सक्छ । जुनसुकै समयमा यसको असर देखिन सक्छ । त्यसैले समय–समय इसिजीका मार्फत मुटु र मस्तिष्क परीक्षण हुँदै आएको छ ।

“नौ दिनदेखि खाना नखाँदा मधुमेह (सुगर) बढिरहेको छ, यसलाई नियन्त्रण गर्न स्लाइन पर्याप्त नहुन सक्छ,” डा शाहले भन्नुभयो – “हामीले डा केसीलाई कम बोल्न सुझाव दिइरहेका छौँ तर मानिरहनुभएको छैन, दैनिक बोलीमा स्पष्टता पनि आउन छाडेको छ ।”

डा केसी आफ्नो अनशनलाई ऐक्यबद्धता जनाउन आउनुहुनेलाई आफ्ना माग र अडानका बारेमा स्पष्ट गर्दै आउनुभएको छ । बिहानमात्र भेट गर्नुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई करिब पाँच मिनेट आफ्ना मागबारे जानकारी गराउनुभएको थियो ।

अनशन सुरु गरेपछि उहाँले धेरैबेर नेकाका उपसभापति रामचन्द्र पौडेल, एमालेका सचिव योगेश भट्टराई र मुख्य सचिव लीलामणि पौडेलसँग कुराकानी गर्नुभएको उहाँका हेरचाहमा जुटेका चिकित्सकले जानकारी दिएका छन् ।

यसैबीच, उहाँको मागप्रति सरकार संवेदनशील नदेखिएको भन्दै उपत्यकाभित्रका विभिन्न चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थीले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् ।

डा केसीको माग पूरा गर, चिकित्सा क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर, बिनापूर्वाधार नयाँ चिकित्सा अध्ययन कोटा वितरण नगर, अध्ययन अनुमति दिएका चिकित्सा कलेजको अनुगमन गरजस्ता नारा लेखिएको प्ले कार्ड बोकी उनीहरु बालुवाटारमा धर्नामा बसेका थिए ।

डा केसीको अनशनप्रति ऐक्यबद्धता जनाउन आजै नेकपा माओवादीका नेता चन्द्रप्रकाश गजुरेल अनशनस्थलमा पुग्नुभएको थियो । सो अवसरमा उहाँले डा केसीका माग जायज रहेको प्रतिक्रिया दिनुभएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पनि डा केसीलाई भेट गर्नुभएको थियो । नेपाल मानव अधिकार सङ्गठनले डा केसीका मागका सम्बन्धमा अविलम्ब वार्ता गर्न र वार्ताकै माध्यमबाट समस्याको हल गर्न सरकारसँग आग्रह गरेको छ ।

नेपाल चिकित्सक सङ्घले सरकारलाई डा केसीको माग सम्बोधन गर्न दिएको २४ घन्टे समयसीमा आज पूरा हुँदैछ । सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठले डा केसीका माग सम्बोधन नभए स्वास्थ्य सेवा ठप्प पारिने चेतावनी दिनुभयो ।

प्रतिक्रिया