प्रमले बहुमतीय प्रक्रिया रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभएन: अध्यक्ष दाहाल
काठमाडौँ, ११ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि दुईपटक आह्वान गर्नुभए पनि बहुमतीय प्रक्रिया रोक्ने कुनै प्रतिबद्धता नआएका कारण वार्ताको प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभएको छ ।
ललितपुरको खन्ना गार्मेन्टमा आज आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वार्ताका लागि प्रधानमन्त्रीले देखाएको जस्तै सक्रियता संस्थागत रुपमा नेपाली काँग्रेस र नेकपा (एमाले) ले देखाउनुपर्नेमा जोड दिनुभयो ।
संविधान लेखन प्रक्रिया बहुमतको आधारमा अगाडि बढेको इतिहास कहीँ कतै पनि नभएको उल्लेख गर्दै उहाँले बहुमतीय प्रक्रिया रोकेर सहमतिको आधारमा अगाडि बढाउने विश्वासिलो प्रतिबद्धता आए आफूहरू संवादका लागि तयार रहेको बताउनुभयो ।
आन्दोलन आफूहरूका लागि बाध्यता बनेको उल्लेख गर्दै उहाँले विगतका सहमति र सम्झौता मान्दैनौँ र चिन्दैनौँ भन्ने सत्तारुढ दलको प्रवृत्ति मुलुक र जनताको हितमा नरहेको धारणा राख्नुभयो ।
एमाओवादी पद र प्रतिष्ठाका लागिभन्दा पनि मुलुक र जनताको हितमा केन्द्रित भएर लागेको तर्क गर्दै उहाँले भन्नुभयो, “एक थोपा रगत रहेसम्म मुलुक र जनताको हितमा नै लागिन्छ । पद र प्रतिष्ठा भन्ने कुरा सहायक विषय हो । प्रमुख विषय जनताको अधिकारको विषय हो ।”
प्रमुख दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र मधेसी, आदिवासी, जनजाति आन्दोलनसँग भएका सहमति नै संविधान निर्माणको आधार भएकाले मतादेशलाई मान्ने कि जनादेशलाई मान्ने विषयमा दुबिधा नराख्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले फागुन १६ गतेको आन्दोलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले महत्वका साथ हेरेकाले सक्रिय सहभागिता जनाउन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष शालिकराम जमरकट्टेलले मजदुर वर्गको अधिकार स्थापित गर्नका लागि पनि आन्दोलन अपरिहार्य रहेको बताउनुभएको थियो । सो अवसरमा दशवर्षे युद्धका क्रममा राज्यबाट बेपत्ता पारिएका नागरिकका परिवार, घाइते, अपाङ्गता भएका नागरिक र सहिद परिवारको समेत सहभागिता रहेको थियो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया