आइतबार, असार २१ २०७७
काठमाडौं ००:१५
वासिङटन डिसी 14:30

नो जष्टिस, नो पिस (फोटो फिचर सहित)

जातिवादले आक्रान्त विश्व

किशोर सापकोटा २०७७ जेठ १७ गते १:१८ मा प्रकाशित

म वसेको शहर लुइभेल अशान्त भएको करिव २४ घण्टा वितिसकेको छ । लुइभेलभन्दा करिव ७ सय माइल टाढा रहेको अमेरिकी अर्को शहर मिनियापोलिस अशान्त भएको त्यो भन्दा दुगुना समय भयो । अमेरिकाभन्दा ९ हजार माइल टाढा रहेको मेरो देश नेपालको रुकुम र जाजरकोटको अवस्था पनि उस्तै छ । संसारमा धेरै ठाऊमा अशान्ति होला, तर मैले उल्लेख गरेका यी तीन ठाऊ अशान्त हुनुको एउटै कारण हो, जातिवाद ।

नेपालका हुन् वा अमेरिकाका, हरेक घटनाहरु स्तव्ध वनाउने खालका छन् । घटनाक्रमहरुले नेपालदेखि अमेरिकासम्म, जातिवादवाट अछुतो छैन भन्ने प्रष्ट पार्छ । नेपालमा तथाकथित सिमित माथिल्लो जातका मानिसले दलितमाथि गर्ने विभेद र अमेरिकामा केही गोराहरुले कालामाथि गर्ने विभेद उस्तैउस्तै प्रकृतिका छन् । यो विभेद हेर्दा लाग्छ, नेपालका केही उपल्लो जातिका मानिसले दलितलाई र अमेरिकाका ह्वाइट सुप्रिमेशी पक्षधरहरुले काला वा आप्रवासीहरुलाई गर्ने विभेद अमानवीय प्रकृतिका छन् ।

म वसेको लुइभेल केन्टकी राज्यमा पर्छ, जहां काला जातिलाई दासतावाट मुक्त गर्ने अमेरिकाका सोह्रौ राष्ट्रपति अव्राहम लिंकनको जन्म भएको थियो । तत्कालीन राष्ट्रपति लिंकनले काला जातिलाई दासतावाट मुक्त गर्न सेप्टेम्वर २२, १८६२ मा जारी गरेको कार्यकारी आदेश जनवरी १, १९६३ वाट कार्यान्वयनमा आएको थियो जसलाई इमान्सिपेशन प्रक्ल्यामेशनको रुपमा जानिन्छ ।

नेपाल होस् वा अमेरिका, कानुनले विभेद गर्दैन । देशको मुल कानुन संविधान र अन्य कानुनहरुले सवै नागरिकलाई समान देख्छ तर समस्या यस्ता कानुन कार्यान्वयन गर्ने मानिसहरुको दिमागमा छ, जनस्तरमा छ । मिनसोट्टा राज्यको मिनियापोलिसमा स्वेत प्रहरीहरुले अश्वेत नागरिक जर्ज फ्लोयडको घांटीमा घुंडाले थिचेर मारे । गत मार्चमा लुइभेल शहरमा व्रियोना टेलरलाई प्रहरी अधिकारीहरुले घरमानै लागु औषध कारोवारी भएको आशंकामा ८ गोली प्रहार गरेर हत्या गरे तर सो अभियोग पुष्टि भने भएन ।

अमेरिकामा गोराहरुको सर्वोच्चता अतिवादी वा सुरक्षा अधिकारीहरुले अश्वेतहरुमाथि गर्ने अन्यायका श्रृंखला जारी छन् । यस्ता अन्यायका विरुद्धमा कालाहरु मात्र होइन, गोराहरु पनि आन्दोलनमा उत्रिन्छन्, जो अमेरिका सवैको राज्य हो भन्ने ठान्छन् । मैले यो संक्षिप्त नोट लेखिरहंदा अहिले पनि लुइभेल, क्यालिफोर्निया, ह्युष्टन, वासिंगटन डिसी, न्यूयोर्क, एट्लान्टा लगायत थुप्रै शहरमा प्रदर्शन भएका छन्, जारी छन् ।

लुइभेलमा विहीवार राती भएको प्रदर्शनको क्रममा अज्ञात व्यक्ति वा समुहको गोली प्रहारवाट ७ जना प्रदर्शनकारी घाइते भएका थिए, त्यसको विरोधमा चर्को प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले हल अफ जस्टिसको भवनमा सिसा ठटाएका छन्, नारा लेखेका छन् । एटलान्टामा अमेरिकाको राष्ट्रिय झण्डा जलाएर अश्वेतहरुको झण्डा फहराइएको छ । सीएनएन भवनको अगाडि प्रदर्शन भएको छ, सीएनएन विल्डिंगको शिसा फोडिएको छ, सिएनएनको लोगोमाथि कोर्ने र आक्रमण गर्ने काम भएको छ ।

प्रदर्शनकारीहरुले क्यालिफोर्नियामा फ्रि वेमा निस्किएर गाडीका शिसाहरु फोडेका छन् । स्थिति उत्तेजक वन्दै गएपछि मिनियापोलिस र सीमा जोडिएका नगरहरुमा कफ्रर्यु आदेश जारी गरिएको छ ।

प्रदर्शनकारीहरुले जो जस्टिस नो पिस (न्याय नभइ शान्ति हुंदैन), आइ क्यान्ट व्रिथ ( म सास फेर्न सक्दिन), व्लाक लाइभ्स म्याटर (कालाहरुको जीवनको पनि अर्थ हुन्छ) जस्ता नारा लगाउने र प्लेकार्ड वोक्ने गरेका छन् ।

सांच्चैनै हरेक मानिसको जीवनको अर्थ हुन्छ । नेपालमा दलित भएकै कारण नवराज विक सहित उनीसंग आएका पांचजनालाई कुटीकुटी मार्ने सवै अपराधीहरुलाई कडा कारवाही होस् र मृतकका परिवारले न्याय पाएको अनुभूति गरुन । सत्य हो, नो जस्टिस नोस पिस ।

तस्विर : सीएनएन

प्रतिक्रिया