शुक्रबार, असार ११ २०७८
काठमाडौं १०:२५
वासिङटन डिसी 00:40

सशस्त्र प्रहरीले खेलकुद प्रतियोगिता गर्ने

इनेप्लिज २०७३ माघ १० गते १२:१९ मा प्रकाशित

काठमाडौं, १० माघ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघमा विभिन्न प्रतियोगिताहरु आयोजना हुने भएका छन् ।

समितिले ‘तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक चौंथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजना गर्नेबारे जानकारी दिए ।

उनले सशस्त्र प्रहरी बलले हाल संचालन गर्न लागेको उल्लेखित तीन वटै राष्ट्रिय प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको कुरा समेत जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत माघ १३ गतेबाट नवौं सहबीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता हुनेछ । जसमा कुल १३ इभेन्ट्समा पाँच लाख ९५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।

उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसरस्थित नेपाल एपीएफ क्लवको लनटेनिस कोर्ट र सातदोवाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा संचालन हुनेछ । कुनैपनि एकल इभेन्ट्समा एक हजार रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार पाँच सय रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने छ । प्रतियोगिताका खेलहरु आइटीएफ र एएनएलटिएको नियमानुसार संचालन हुनेछ ।

यस्तै, माघ १६ गतेबाट तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने छ । जसमा भाग लिनको लागि खेलाडीले एकल इभेन्ट्समा पाँच सय रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने जनाइएको छ । प्रतियोगिताका खेलहरु बीडब्लुएफ र बीएसीको नियमाअनुसार संचालन गरिने छ ।

प्रतियोगितामा कूल १० इभेन्ट्स समावेश गरिएको र जम्मा पुरस्कार राशी सात लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै, १६ गतेबाटनै सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता हुनेछ ।

जुन खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियममा रहि नेपाल भलिबल संघको प्राविधिक सहयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीद्धारा संचालन गरिने छ । खेल लिगकम नकआउट प्रणालीमा वेष्टअफ फाइभमा खेलाइने छ ।

ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फारम नेपाल एपीएफ क्लब हल्चोक काठमाडौं, सशस्त्र प्रहरी बलका वाहिनीहरु, गणहरु र सीमा सुरक्षा कार्यालय तथा गुल्महरुबाट प्राप्त गर्न सकिने र माघ ११ गते कार्यालय समयभित्र एपीएफ क्लबमा बुझाउनु पर्नेछ ।

यसैगरी लनटेनिस प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फारम सशस्त्र प्रहरी बलका उल्लेखित कार्यालयहरु तथा अखिल नेपाल लन टेनिस संघ सातदोबाटो र त्रिपुरेश्वर लन टेनिस क्लब दशरथ रंगशालाबाट प्राप्त गर्न सकिने उनले जानकारी गराए ।

प्रतियोगिता सम्बन्धि कुनै जानकारी लिनु परेमा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको फोन नं. ०१–४२७८७७३ तथा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार के.सी.को मोवाइल नम्बर ९८५११६०९०० मा सम्पर्क गर्न सकिने छ ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले एपीएफ क्लवका खेलाडीको स्तर अभिवृद्धिको लागि खेलकुद क्षेत्रमै करीअर विकास गर्ने अवसर संगठनले उपलब्ध गराएको बताए । करारमा नियुक्त खेलाडीहरुलाई समेत सशस्त्र प्रहरी कर्मचारी सरह विमा र सशस्त्र प्रहरी बलको अस्पतालहरुमा उपचारको अवसर प्रदान गरिएको जानकारी समेत गराए ।

उनले नेपाल एपीएफ क्लवमा आवद्ध विभिन्न विद्याका खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुलाई युएन मिसनको अवसर तथा अन्य सुविधाहरु समान रुपमा प्रदान गरिएको र हालै सम्पन्न सातौं ‘बृहद खेलकुद प्रतियोगिता’ मा ५० स्वर्ण तथा रजत ४८ र ५८ कास्य पदक सहित सशस्त्र प्रहरी बलले प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको कुरा समेत उल्लेख गरे ।

क्लवका खेलाडीहरुले स्थापनायता हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ४२ स्वर्ण, ३० रजत, २७ कास्य पदक हासिल गरेको छ भने राष्ट्रिय स्तरमा ७१९ स्वर्ण, ५८४ रजत र ५८१ कास्य पदक हासिल गरेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले हाल सम्म ७६१ स्वर्ण सहित कूल १ हजार ९ सय ९३ पदक हासिल गर्न नेपाल एपीएफ क्लव सफल रहेको चर्चा गरे ।

प्रतिक्रिया