सोमबार, असार ७ २०७८
काठमाडौं ०३:३३
वासिङटन डिसी 17:48

संविधान कार्यान्वयनमा सकारात्मक भूमिका खेल्न सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आग्रह

इनेप्लिज २०७३ मंसिर ९ गते १२:३४ मा प्रकाशित

surendra-kumar-karkiकाठमाडौँ, ९ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनका लागि सकारात्मक भूमिका निर्वाह गर्न आमसञ्चारमाध्यमलाई अपिल गर्नुभएको छ ।

सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘संविधान कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया तथा राष्ट्रिय आमसञ्चार नीति (सूचना तथा सञ्चारसम्बन्धी प्रतिवेदन, २०७३) सार्वजनिक कार्यक्रममा मन्त्री कार्कीले संविधान कार्यान्वयनबारे नकारात्मकभन्दा सकारात्मक समाचार सम्प्रेषण गरेर कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चारसम्बन्धी प्रतिवेदन २०७३ साउन ५ गते सरकारसमक्ष प्रस्तुत गरिसके पनि आज त्यसलाई पुस्तकका रूपमा सार्वजनिक गरिएको हो ।

“अहिले संविधानलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने बेला आएको छ, त्यसलाई सफल बनाउन मिडियाले समाचार, लेख वा सम्पादकीय लेखेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ”– सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो ।

संविधान कार्यान्वयनका लागि संविधानभित्र भएका हकअधिकारलाई तल्लोस्तरसम्म (गाउँगाउँमा) मिडियामार्फत पु¥याउनुपर्ने उहाँको भनाइ छ ।
सञ्चारमन्त्रीले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र मर्यादित बनाउनुपर्ने खाँचो औँल्याउनु भयो ।

सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले आमसञ्चार नीति क्रमिक रूपमा कार्यान्वयन भएको जानकारी गराउँदै थप कार्यान्वयन गर्न सबैको सक्रिय भूमिका हुनुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको भौतिक र पेसागत सुरक्षाको सुनिश्चितताको माग गर्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले आमसञ्चारमाध्यमको गुणात्मकभन्दा पनि सङ्ख्यामा मात्रै वृद्धि भएको अवस्थामा आमसञ्चार नीति कार्यान्वयन गर्दा धेरै समस्या समाधान हुने बताउनुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल, सूचना विभागका महानिर्देशक रघुराम विष्ट र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङले आमसञ्चार नीति कार्यान्वयनमा जोड दिनुभयो ।

प्रतिक्रिया