आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:३३
वासिङटन डिसी 08:48

गैँडामा क्षयरोग भेटिएपछि…

इनेप्लिज २०७३ वैशाख १ गते १४:०५ मा प्रकाशित

rhinonepalwwfरत्ननगर (चितवन), १ वैशाख । वन्यजन्तु संरक्षणमा चोरी–सिकार सबैभन्दा ठूलो चुनौती थियो र यसलाई विगतमा धेरै हदसम्म नियन्त्रण लिने काम भयो । चोरी–सिकार नियन्त्रणमा लागि स्थानीय जनतासँगको सहकार्यमा नयाँ प्रविधिको प्रयोग गरियो ।

प्रहरी र प्रशासनले सक्रियता बढायो । फलतः चितवनले तीन पटकसम्म शून्य चोरी–सिकार वर्ष मनाउन सक्यो । तर अब यतिले मात्रै संरक्षण कार्य प्रभावकारी हुन्छ भन्नेमा ढुक्क हुने अवस्था रहेन । बुधबारदेखि सुरु भएको वन्यजन्तु सप्ताहको अघिल्लो महिनामा चितवन निकुञ्जको दुर्लभ एकसिङ्गे गैँडामा पहिलो पटक क्षयरोग पुष्टि भएको प्रतिवेदन आएपछि संरक्षणका लागि नयाँ चुनौती थपिएको छ ।

गैँडा विशेषज्ञ डा नरेश सुवेदी अब चोरी–सिकार मात्रै संरक्षणको चुनौती नरहेको बताउनुहुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत रहनुभएका डा सुवेदीले गैँडामै विशेषज्ञता हासिल गर्नुभएको छ । “अब संरक्षण कार्यलाई प्रभावकारी बनाउन जङ्गली वन्यजन्तुको समेत गहिरो र वैज्ञानिक अध्ययनको खाँचो छ,” सुवेदीले भन्नुभयो – “कालगतिले मरेका वन्यजन्तुको पनि गहिरो अध्ययन नभई हुँदैन भन्ने पुष्टि भयो ।”

चितवन निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने अमलटारीमा २०७१ फागुन ५ गते एउटा पोथी गैँडा कालगतिले म¥यो । त्यसको नमुना सङ्कलन गरेर जर्मन–नेपाल टिवरक्युलोसिस सेन्टर काठमाडौँमा नमुना परीक्षणका लागि पठाइएको थियो । नमुना पठाएको आठ हप्तापछि प्रतिवेदन आयो । तर कुन प्रजातिको कीटाणु हो भनेर नेपालमा पुष्टि हुन सकेन । त्यसलाई पुनः जापानमा परीक्षणका लागि पठाइएपछि गैँडामा नयाँ क्षयरोग भएको पुष्टि भएको वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । करिब एक वर्षपछि यही चैतको पहिलो साता पुष्टि हुनसक्यो ।

उहाँका अनुसार कीटाणुको प्रजाति नेपालमा पत्ता नलागेपछि होक्कानो युनिभर्सिटी स्यापोरो जापानमा परीक्षणका लागि नमुना पठाइएको थियो । उक्त परीक्षणले माइक्रो ब्याक्टेरियम ओरिजिएस भएको पुष्टि भएको डा गैरेले प्रस्ट्याउनुभयो । पहिला यो अरब भूमिको ओरिक्ज भन्ने वन्यजन्तुमा देखिएको क्षयरोगको कीटाणुसँग मेल खाएकाले यसको नाम माइक्रोब्याक्टेरियम ओरिजिएस भनिएको हो । अहिलेसम्म जङ्गलका गैँडामा यसरी क्षयरोग पुष्टि भएको यो नै पहिलो भएको गैँडा विशेषज्ञ डा सुवेदीले दाबी गर्नुहुन्छ ।

यसअघि चिडियाघरका गैँडामा भने देखिएको थियो । अब हरेक जनावरको विषयमा गम्भीर हुनुपर्छ र गहिरो अध्ययन पनि आवश्यक छ भन्ने यसले देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले बताउनुहुन्छ ।

उहाँले मुख्यगरी घरपालुवा जनावर र क्षयरोग लागेका हात्तीलाई सकेसम्म सङ्क्रमणको बेला जङ्गल नलैजानु एक महत्वपूर्ण उपाय हुने बताउनुभयो । सँगसँगै बासस्थान संरक्षण र आहाराको राम्रो व्यवस्था भयो भने पनि रोग प्रतिरोधात्मक शक्ति बढी भई सङ्क्रमणका सम्भावना कम हुने गैँडा विशेषज्ञ सुवेदी बताउनुहुन्छ ।

चितवनमा आठ–दश वर्षअघि पालुवा हात्तीमा क्षयरोग भेटिएपछि अहिले पनि उपचार जारी छ । तर ती हात्ती निर्बाध जङ्गल जाने भएकाले त्यसैबाट जङ्गली जनावरमा पनि रोग सर्ने सम्भावना बढी हुने संरक्षणकर्मी बताउँछन् । यसअघिको अध्ययनमा नेपालका पालुवा हात्तीमध्ये २३ प्रतिशतमा क्षयरोग भएको तथ्याङ्क थियो । औषधिको प्रयोग थालिएकाले अहिले केही घट्दो क्रममा छ । सोही विषयमा संरक्षण विज्ञ तथा सरोकारवाला संस्थाबीचको गम्भीर छलफलबाट सामूहिक रुपमा अघि बढ्ने गरी समितिसमेत बनाइएको छ । समितिको संयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपछि डा आइपी ढकाल रहनुभएको छ ।

पछिल्लो तथ्याङ्कमा चितवनमा ६०५ गैँडा रहेका देखिएकामा कालगतिले पछिल्लो शून्य चोरी–सिकार अवधिमा १५ वटाभन्दा बढी गैँडा मरिसकेका छन् । नेपालमा ६४५ वटा गैँडा रहेको अनुमान छ ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल कुनै साना जनावर मरे भने पनि अहिले परीक्षण गर्न थालिएको बताउनुहुन्छ ।

नयाँ वर्षको सुरुआतमा २०७३ साल वैशाख १ देखि ७ गतेसम्म २१औँ वन्यजन्तु सप्ताह मनाइँदै छ । यस वर्ष सप्ताहको नारा ‘वन्यजन्तुको भविष्य हाम्रै हातमा’ रहेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभएको छ । चितवनमा सातै दिन निकुञ्ज, उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागितामा संरक्षणमूलक कार्यक्रम गरिने छ ।

प्रतिक्रिया