बिहीबार, माघ १५ २०७७
काठमाडौं ०५:०८
वासिङटन डिसी 18:23

काँग्रेस महाधिबेशन चुनावमा देखिएका केही समीकरणहरु

इनेप्लिज २०७२ फागुन २१ गते १२:४९ मा प्रकाशित

नेपाली काँग्रेसको महाधिवेशन सुरु भए सँगै काठमान्डौको राजनीतिक माहोल तात्न सुरु भएको छ । नेपाली काँग्रेसका प्रमुख नेताहरू आफ्नो प्यानल बनाउने, कुन पद कसलाई बाड्ने, को बाहिर पर्ने, कस्लाई भित्र पार्ने, कहाँ कसको पकड राम्रों छ, कस्लाई समेट्दा सहज तरिकाले जित्ने वातावरण बन्छ जस्ता विभिन्न जोडघटाऊमा व्यस्त छन् । महाधिवेशन प्रतिनिधि काठमान्डौ आईसकेको अवस्थामा नेताहरू आफ्नो पक्षका प्रतिनिधिलाई कसरी परिवर्तन हुनबाट जोगाइराख्न सकिन्छ र उनीहरूको मनको भावना कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्ने पिरलो समेत रहेको छ ।
जिल्लाबाट छनौट भएर आएका प्रतिनिधिहरू यो वा त्यो पक्षमा भनेर आएका छन् तर विगतमा सांसद नै बिक्री भएको घटना देखिएको देशमा जिल्लाका प्रतिनिधि कत्तिको सिद्धान्त निस्ठ भएर रहन्छन् हेर्न भने बाँकी छ । विगतका महाधिवेशनमा समेत मिश्रित परिणाम आएको अवस्थामा अहिले पनि सही व्यक्तिहरू छनौट भएर आउन सक्ने अनुमान सबैले गरेकाछन । कैयन जिल्लाका प्रतिनिधि छनौटका लागि भएको चुनावमा पैसाको राम्रों चलखेल भएको अवस्थामा, नेपालका सांसदहरु समेत हराउने देखि थाइल्याण्डको बैंकक सम्मका सयरमा गएको घटना विगतमा देखिएकोमा नेपाली काँग्रेसका प्रतिनिधि यो प्रलोभनमा पर्ने छन्, छैनन् वा केन्द्रमा समेत केही जिल्लाको झैँ पैसाको राम्रों चलखेल नहोला भन्ने अवस्था छैन । पुराना. त्यागी, निष्ठावान नेता कार्यकर्ताहरू भने पार्टीमा बढ्दोरुपमा रहेको यस प्रवृतिलाई हटाउनुपर्ने सोचमा रहेका छन् ।
१२ औं महाधिवेशनमा एउटा समूहमा रहेका रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र सुजाता कोइरालाले आ-आफ्नो उम्मेदवारी घोषणा गरे पनि सुजाताले रामचन्द्र पौडेललाई समर्थन गर्दै नउठ्ने घोषणा गरिसकेकीछिन् । रामचन्द्र पौडेलसंग रहेको बेमेलका कारण मिल्न नसकेका पौडेल र सिटौला दुवै उठेमा त्रिपक्षिय भिडन्त हुनगई कसैले स्पष्ट बहुमत ल्याउन नसक्ने हुँदा पुन: दोस्रो पटक पौडेल र देउवा बिचमा चुनाव हुनजाने अनुमान सबैको छ । पुन: चुनाव भएको अवस्थामा जसले सिटौलालाई आफ्नो पक्षमा तान्न सफल हुन्छ उसले नै बाजी मार्ने प्रबल सम्भावना रहने देखिन्छ । तर, प्रतिनिधिहरू एउटा व्यक्तिको पछि लागेर जाने अवस्था नभएको कारणले जिल्लामा प्रतिनिधिको चुनाव हुँदाको प्यानलको स्वरूपले समेत यहाँ मुर्त रूप दिनसक्ने अनुमान लागिएको छ ।
नेपाल र नेपालका राजनैतिक पार्टीमा भारतीयहरूको प्रत्यक्ष वा परोक्षरुपमा हस्तक्षेप भइरहेको देखिन्छ । यस्तो अवस्थामा भारतीयहरूको पहिलो रोजाइमा कोइराला परिवार, दोस्रोमा कृष्ण प्रसाद सिटौला र तेस्रोमा शेर बहादुर देउवा रहेकोमा कोइराला परिवारबाट सभापतिमा कुनै उम्मेदवार नभएको अवस्थामा उनीहरूले सिटौला जित्दा राम्रों हुने सदभाव राख्न सक्लान तर यसो हुने सम्भावना कमै देखिएको छ । सशांक कोइराला महामन्त्रीमा पौडेलको प्यानलबाट उठे पश्चात् कोइराला परिवारबाटै उम्मेदवारी घोषणा गरेकी सुजाताले पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिइन भने भारतीयहरूको दोस्रो रोजाइमा पर्ने सिटौला मैदानमा अझै छन् तर उनले जित्ने भन्दा पौडेलको सहज जितमा बाटो छेक्ने काम मात्र गर्दछन् भन्ने अनुमान सबैको रहेको छ । इन्डियाको रोजाइमा नपरेका रामचन्द्र पौडेल संस्थापन पक्षको उम्मेदवार बन्ने भएपछि भारतीयको चासोले यस महाधिवेशनलाई कत्तिको असर पार्न सक्ला भनी सबैले अनुमान लगाई रहेकाछन । नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीहरुमा भारत प्रति रहेको नकारात्मक धारणाले यो महाधिवेशन कसैको अनुकुलतामा नगई स्वयम् नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूको स्वविवेकमा निर्णय हुने प्रबल सम्भावना देखिन्छ ।
बि.स. २०५९ असारमा पार्टी बिभाजन हुनु, सदैव एक पार्टी भित्र दुई पार्टीको अवधारणा देखिएर पार्टीलाई कमजोर बनाउनु भन्दा सभापतिमा देउवा र महामन्त्रीमा कोइरालालाई दिएर समाधान हुन्छ कि भन्ने सोच पनि केही नेता कार्यकर्तामा पलाएको देखिन्छ । सभापति देउवालाई सभापति बनाएको अवस्थामा एक त पार्टी संस्थापन पक्षबाट बाहिर जाने, दोस्रो सभापतिले मनोनीत गर्ने उपसभापति, महामन्त्री जस्ता पदमा समेत देउवा पक्ष आउने हुँदा यो स्वय कोइराला परिवार र संस्थापन पक्षलाई समेत प्रत्युद्पादक हुन सक्ने भन्दै यो धारमा जान नसकिने भन्दै संस्थापन पक्षका लागेको देखिन्छ भने देउवाले सभापति जित्दा कम्तीमा एक दुई कार्यकाल संस्थापन पक्षबाट पार्टी नेतृत्व बाहिर जानुका साथै सदैव आफुहरु मूल नेतृत्वमा आउने बाटो कठिन हुँदै जान सक्ने भएले समेत यो धारलाई संस्थापन पक्षका नेताहरूले सहज रूपमा लिएको देखिएको छैन ।
केही प्रतिनिधिहरू शेर बहादुर देउवा सभापतिमा, गगन थापा महामन्त्री भएमा यस्ले पार्टी भित्रको गुटबन्दी अन्त्य हुने समेत अनुमान गर्दछन् । यो जोड घटाउमा संस्थापन पक्ष, कोइराला परिवारको प्रतिनिधित्व जस्ता कुराहरू समेत नसमेटिएको कारणले यो समिकरण सफल हुने सम्भावना कम नै देखिएकोछ ।
एक पक्ष भने रामचन्द्र पौडेललाई सभापति, प्रकाशमान सिंह उपसभापति, गगन थापा महामन्त्री बनेर शेर बहादुर देउवा वरिष्ठ नेतामा बस्दा सबै समीकरण पूर्ण हुने हुँदा यो विकल्प सबै भन्दा उत्तम विकल्प हो भन्ने पनि देखिन्छन । यसै समीकरणलाई रामचन्द्र पौडेललाई सभापति, प्रकाशमान सिंह उपसभापति, अर्जुननरसिंह के.सी. महामन्त्री भएमा अनुभवी नेताहरू नेतृत्वमा आउन जाने हुँदा नेपाली काँग्रेसलाई दीर्घकालीनरूपमा फाइदा पुग्न जाने समेत बताईरहेकाछन ।
पौडेल प्यानलबाट उपसभापति, महामन्त्रीमा उठ्ने उम्मेदवारहरु नेपाली काँग्रेसका लौहपुरुष गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र बि.पी. पुत्र सशांक कोइराला रहनुले गर्दा उनलाई ऊर्जा प्रदान भएको बताईन्छ । तर, शेर बहादुर देउवा स्वयम्को उचाइ र बाह्यशक्तिको प्रभाव समेत जोड्दा यी दुईको बिचमा रोचक भिडन्त हुने देखिएको छ । २०५९ असारमा पार्टी विभाजनपछि निर्मित काँग्रेस (प्रजातान्त्रिक)का सभापति भएका देउवा आफूलाई काँग्रेसको साधारण सदस्यबाट निकालेर गिरिजाबाबुले पाँच वर्षपछि ‘रेड कार्पेट’ बिछ्याएर क्षमताको कारण भित्र्याएको हुँदा आफू उपयुक्त उम्मेदवार रहेको बताईरहेकाछन भने अर्कोतर्फ बि.पी.ले रामचन्द्र पौडेलका बारेमा उनी पार्टीका हात, मुख र खुट्टा हुन् सिद्धान्त बेगर पार्टी अधुरो हुने हुँदा उनलाई कहिल्यै टाढा नराख्नु भनेको भनाई स्मरण गराउदै आफू नै वर्तमान अवस्थामा पार्टीलाई सशक्त बनाएर लैजान सक्ने क्षमता रहेको मेरा कार्य, अनुभव र बि.पी ले मेरा बारेमा राख्नु भएका मत नै मेरा जितका आधार हुन् भन्दै चुनावी मैदानमा आएका छन् । चुनावी समिकरणमा नेतृत्व दिने व्यक्तिको उचाइले केही मत फरक पार्ने भएता पनि समस्टिगत रूपमा टिममा कस्ता व्यक्तिहरू छन् भन्ने कुराले जितमा निर्क्योल गर्ने कुरा कसैले नकार्न सक्दैन ।
अहिले सबै प्रतिस्पर्धी बिचमा नीतिको भन्दा नेतृत्वको लागि मात्र टकराव भइरहेको अवस्था छ, सबै उम्मेदवार बिच नीति परिवर्तन गरेर जाने वा अवलम्बन गर्ने सोच देखिएको छैन । फरक छ त पार्टीलाई एक ढिक्का बनाएर कसरी बि.पी को प्रजातान्त्रिक समाजवादलाई कार्यान्यन गर्ने भन्ने मात्र हो ।

प्रतिक्रिया