सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:४६
वासिङटन डिसी 17:01

केसी प्रशिक्षकमा नियुक्त

इनेप्लिज २०७२ असार ३१ गते १४:४४ मा प्रकाशित

Dhurba-Bahadur-KCकाठमाडौँ ३१ असार । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ध्रुवबहादुर केसीलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले केसीलाई आजैबाट प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

केसी दोस्रो पटक सिनियर टोलीको प्रशिक्षण बनेका हुन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका केसीले शुक्रबारबाट प्रशिक्षण सुरु गर्नेछन् । केसीको प्रशिक्षणमा नेपालले आगामी अगष्ट ३१ मा भारतसँग मैत्रिपूर्ण फुटबल खेल्नेछ ।

केसी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का मुख्य फुटबल प्रशिक्षक हुन् । सन् १९८७ बाट प्रशिक्षण सुरु गरेका केसीले उमेर समूहका विभिन्न टीम सम्हालिसक्नुभएको छ ।

उहाँ सन् १९९६ मा पहिलोपटक काठमाडौँमा आयोजना भएको सत्रौ एसियन यू १६ च्याम्पियनसीपमा नेपाली टोलीको मुख्य प्रशिक्षक हुनु हुन्थ्यो । त्यस्तै १९९८ मा केसीले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षण सम्हाल्नु भएको थियो । उहाँकै प्रशिक्षणमा नेपालले अलइन्डिया गभर्नर गोल्डकपमा जित हात पारेको थियो ।

फुलकुमार र सुनितालाई स्वर्ण
राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा भएको २०औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता–२०७२ अन्र्तगत शारीरिक अपाङ्गतातर्फको छात्र १०० र २०० मिटर दौडमा पशुपति उमाविका फुलकुमार राजवंशी प्रथम भएका छन् ।

उनले उक्त दुरी १२.०६ र २८.१६ सेकेन्डमा पुरा गरेका थिए । दुवै विधामा द्वितीय स्थानमा जन जाग्रितीका राजन पुन र तृतीय स्थानमा सरस्वती उमाविका सूर्यबहादुर भुजेल रहेका छन् ।

छात्रातर्फको प्रतिस्पर्धामा १०० र २०० मिटरमा गङ्गा उमाविकी सुनिता परियारले १६.८१ र ३७.५३ सेकेन्डका साथ दुवै स्वर्ण आफ्नो हात पार्न सफल भइन् । १०० मिटरमा जनता उमाविकी खु्श्बु जैसवालले रजत र महाराज माविकी सिमाले कास्य पाइन् । त्यस्तै २०० मि दौडमा मनकामना उमाविकी मुना पुरीले रजत र माता पवित्रा माविकी आशा चौधरीले कास्य जितिन् ।

दुई क्रचेजको १०० मिटर दौडको छात्रतर्फ वागेश्वरी माविका तेजबहादुर रानाले स्वर्ण जिते सो प्रतिस्पर्धामा खगेन्द्र नवजीवनका विशाल तामाङले रजत र मनकामना उमाविका सञ्जय तामाङले कास्य जिते । छात्रातर्फ मङ्गल प्रसादकी रिहाना शेख पहिलो, रामपुर उमाविकी रेखा विक द्वितीय र माध्यमिककी हिरादेवी दास तृतीय भइन् ।

शारीरिक अपाङ्गतातर्फ सटपुटमा छात्रतर्फ खगेन्द्र नवजीवनका लोेकेन्द्र घर्तीमगरले ७.५० मिटर साथ स्वर्ण, पशुपति माविका फुलकुमार राजवंशीले ६.९७ मिटरका साथ रजत र श्री माध्यामिकका पुरुषोत्तम ६.९६ मिटरका साथ कास्य जिते । छात्रातर्फ गङ्गा उमाविका सुनिता परियारले ४.८० मिटरका साथ स्वर्ण, आदर्श माविकी पुजा श्रेष्ठले रजत र विपी माविकी हीरादेवी दासले कास्य जितिन् ।

एकसय मिटर ह्विल चियरमा खगेन्द्र नवजीवनका रोहितकुमार श्रेष्ठले २२.५३ सेकेन्डका साथ स्वर्ण, लक्ष्यबहादुर मगरले रजत र दिनेश खत्रीले कास्य जिते । छात्रातर्फ कान्ति भैरवकी सरस्वती देवकोटा ३५.८२ सेकेन्ड साथ स्वर्ण, खगेन्द्रकी जेनिषा खडायत रजत र कान्तिकी सध्या सुनारले कास्य जितिन् ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य एवम् प्रतियोगिता आयोजक समितिका संयोजक मोहम्मद समिउल्लाह,राखेपका सल्लाहकार सालिकराम खड्काले पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक हजार पाँचसय, एक हजार र पाँचसय साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । दुई दिने प्रतियोगितामा उपत्यकाका २८२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया