सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:१९
वासिङटन डिसी 17:34

अन्तर्राष्ट्रिय समुदाय नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न तयार: ऊर्जा मन्त्री ज्ञवाली

इनेप्लिज २०७२ असार ८ गते १२:१० मा प्रकाशित

Radha-Gyaliकाठमाडौँ, ८ असार । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारमा अन्तर्राष्ट्रिय समुदायले उल्लेख्य लगानी गर्ने वचन दिएका छन् ।

विश्व ऊर्जा परिषद्को बैठकमा भाग लिन अघिल्लो साता फिलिपिन्स जानुभएका ऊर्जा मन्त्री राधा ज्ञवालीसँग अन्तर्राष्ट्रिय समुदायले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका हुन् ।

विश्वका ऊर्जा विज्ञको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले नेपाल लगानीका लागि सुगम गन्तव्य रहेको भन्दै लगानीका लागि आफूहरु तयार रहेको बताएका हुन् ।

ऊर्जा मन्त्रालयमा रासससँग कुरा गर्दै ऊर्जा मन्त्री ज्ञवालीले एसियाली विकास बैंक, विश्व बैंक, विश्व ऊर्जा परिषद्लगायतले नेपालका ठूला जलविद्युत् आयोजनामा उल्लेख्य लगानी गर्ने वचनबद्धता व्यक्त गरेको जानकारी दिनुभयो । पछिल्लो पटक नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्रने वातावरण बन्दै गएको उल्लेख गर्दै ऊर्जा मन्त्री ज्ञवालीले भारतसँग भएको विद्युत् व्यापार सम्झौता र भारतीय लगानीकर्तासँग भएको विद्युत् विकास सम्झौताले लगानीको ढोका खोलेको बताउनुभयो भयो ।

उहाँका अनुसार गत मङ्सिरमा सम्पन्न सार्क सम्मेलनले दक्षिण एसियामा ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा प्रमुखताका साथ जोड दिएपछि सहज वातावरण बनेको छ ।

भूकम्पपछि नेपालमा लगानीका लागि अवसर निर्माण भएको आफूले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले ऊर्जा सुरक्षा, सामाजिक उत्तरदायित्व र वातावरणीय प्रभावलाई विशेष ख्याल गर्नुपर्नेमा ‘वल्र्ड इनर्जी लिडरसिप समिट’ ले विशेष जोड दिएको बताउनुभयो ।

भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, ब्राजिल, युरोपेली सङ्घ आबद्ध मुलुकले नेपालको ऊर्जा क्षेत्रमा विशेष चासो राखेको जानकारी दिँदै मन्त्री ज्ञवालीले ‘उज्यालो नेपाल समृद्ध नेपाल’ को नारा साकार हुने चरणमा पुगेको बताउनुभयो ।

विश्वमा हालसम्म पनि ८७ प्रतिशत ऊर्जा परम्परागत स्रोतमा नै निर्भर रहेको र त्यसमा विशेष गरी पेट्रोलियम पदार्थले नै प्रमुख हिस्सा लिएको सन्दर्भमा जलस्रोतको धनी हुनुको नाताले नेपाल नै लगानीका लागि स्वर्ण भूमि रहेको अन्तर्राष्ट्रिय समुदायले थाहा पाएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

नेपालको समग्र जलविद्युत् क्षेत्र नदी प्रवाहमा आधारित भएकाले हिउँदको समयमा ऊर्जा सङ्कट कायम रहने गरेको छ । जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता दिनुपर्ने, सामाजिक सहभागिता बढाउनुपर्ने र ऊर्जाका विभिन्न स्रोतलाई समानरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएकामा आफूले सम्मेलनमा विशेष जोड दिएको राससलाई बताउनुभयो ।

निर्माणमा थप सुरक्षात्मक उपाय अवलम्बन गरिनुपर्ने

नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा रहेको र गत वैशाख १२ गतेको गोरखा भूकम्पका कारण करिब रु १५ अर्ब बराबरको क्षति भएको सन्दर्भमा आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुरक्षात्मक उपाय खोज्नु पर्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।

भूकम्पले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाभन्दा निजी क्षेत्रका आयोजना बढी क्षतिग्रस्त भएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था(इपान)ले समेत जानकारी गराइसकेकाले थप तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

भूकम्प र प्राकृतिक विपद्बाट जलविद्युत् आयोजना जोगाउनका लागि थप लगानी गर्नुपर्ने, भौगर्भिक अध्ययनमा विशेष जोड दिनुपर्ने आवश्यकता अन्तर्राष्ट्रिय समुदायले औँल्याएको उहाँले जानकारी दिनुभयो । ‘‘नदी प्रवाहमा आधारित भन्दा जलायशयुक्त आयोजनालाई विशेषरुपमा अगाडि बढाउनुपर्ने राष्ट्रिय आवश्यकता देखिएको छ भने अर्कोतर्फ विद्युत् व्यापारका लागि सहज बजार पनि खोज्नुपर्ने छ,’’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

भारतीय बजारलाई केन्द्रमा राखेर नेपालमा जलविद्युत् आयोजना अगाडि बढेको, माथिल्लो कर्णाली, अरुण तेस्रो जस्ता ठूला आयोजना निर्माण सुरु हुन लागेको, विगत लामो समयदेखि अवरुद्ध रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि सुरु हुन लागेको सन्दर्भमा थप लगानीको वातावरण तयार पार्नुपर्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय समुदायले भूकम्पपछिको नेपालको अवस्था र ऊर्जा क्षेत्रको विकासमा विशेष चासो देखाएकाले सरकारले पनि आवश्यक तयारी गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया