सोमबार, साउन १८ २०७८
काठमाडौं ००:५८
वासिङटन डिसी 15:13

नेपाल स्काउटलाई अझ सशक्त भएर खट्न राष्ट्रपतिको आग्रह

इनेप्लिज २०७२ जेठ ४ गते १४:३९ मा प्रकाशित

Rambaran-Yadavकाठमाडौं, ४ जेठ । राष्ट्रपति डा रामवरण यादवले वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पनबाट भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै पीडितको उद्धार तथा राहतमा नेपाल स्काउटले अहिलेसम्म गरेको कामप्रति सन्तोष व्यक्त गर्नुभएको छ ।

नेपाल स्काउटका पदाधिकारीसँग आज बिहान राष्ट्रपति भवनमा भएको भेटमा उहाँले स्काउटलाई अझ सशक्त र सङ्गठित भएर खट्न आग्रह गर्नुभयो ।

नेपाल स्काउटका प्रमुख स्काउट एवम् युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको नेतृत्वमा गएको टोलीमा नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहाल, स्काउट मास्टर बलराम प्यासी तथा विश्व स्काउट सङ्गठनको ग्लोबल संयोजक मोसेस माइकल एन्डागोसमेत सहभागी हुनुहुन्थ्यो ।

वैशाख १२ को भूकम्पलगत्तै नेपाल स्काउट बढी क्षतिग्रस्त भएको ऐतिहासिक हनुमानढोका दरबार परिसर, साँखु, पाटन दरबार क्षेत्र, खोकना, बुङमति, लुभु, सानागाउ भक्तपुर, ठिमीलगायतका क्षेत्रमा घाइतेको जीवितै उद्धार, मृतक खोज्ने, भत्किएका घरबाट महत्वपूर्ण कागजात र अन्नपात झिक्ने कामको साथै पशुपति आर्यघाट सफाइको काममा समेत सक्रिय भएर खटिएको छ ।

सो अवसरमा राष्ट्रपति डा यादवले यतिखेर भूकम्पका कारण मुलुकले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएको थाहा हुँदाहुँदै सरकारको कमजोरीका कारण बनेका ठूलाठूला घर र अन्य भौतिक सम्पत्ति नष्ट भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भूकम्पबाट भएको क्षतिमा आफू पनि उत्तिकै दोषी भएको बताउँदै राष्ट्रपति डा यादवले गत वर्ष सुदूरपश्चिमका बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोले पु¥याएको क्षतिको पनि स्मरण गर्नुभयो ।

राष्ट्रपतिले आफूले चुरे संरक्षणका लागि आवाज उठाउँदै आएको उल्लेख गर्दै ६० प्रतिशत जङ्गल मासिएको, नदीनाला र उर्वर भूमि नष्ट हुँदै आएकोमा पनि चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विश्व स्काउट सङ्गठनको ग्लोबल संयोजक मोसेस माइकल एन्डागोलाई नेपाल स्काउटसँग मिलेर राहत र उद्धारको काम गर्न पनि आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रपतिसमक्ष नेपाल स्काउटका प्रमुख आयुक्त दाहालले भूकम्पपछि हालसम्म नेपाल स्काउटले गरेका कार्यको विवरण बुझाउनुभएको थियो ।

प्रतिक्रिया