प्रमुख निर्वाचन आयुक्त उप्रेती उमेर हदबाट सेवानिवृत्त
काठमाडौँ, १ जेठ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण आजदेखि सेवानिवृत्त हुनुभएको छ ।
निर्वाचन आयोगमा आज आयोजित समारोहमा आयुक्तत्रय दोलखबहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव र इला शर्मा तथा आयोगका कर्मचारीले उहाँलाई विदाई अभिवादन गर्नुभएको थियो ।
मुलुकमा प्रजातन्त्रको पुनःस्थापनासँगै विसं २०४७ सालमा विशेषज्ञको रुपमा आयोगमा प्रवेश गर्नुभएका उप्रेतीले पछिल्लो समय प्रमुख निर्वाचन आयुक्तको रुपमा दुई वर्ष दुई महिना काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो ।
विसं २०४८ सालपछिका सम्पूर्ण निर्वाचनमा कुनै न कुनै रुपमा योगदान पुर्याउनुभएका उप्रेती २०६३ साल कात्तिकमा निर्वाचन आयुक्त, २०६६ साल जेठमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र २०६८ सालको चैतमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने मौका प्राप्त गर्नुभएको थियो ।
उहाँले प्रजातन्त्रपछि छैठौं प्रमुख निर्वाचन आयुक्तको रुपमा काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगमा प्रवेश गर्नुअघि उहाँ राष्ट्रिय कम्प्युटर केन्द्रको शाखा अधिकृत हुँदै निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
विदाई समारोहपछि रासससँग कुराकानी गर्दै उहाँले फोटोसहितको नामावली तयार गरी त्यसको आधारमा मतदाता परिचयपत्र वितरण गरेर संविधानसभाको पछिल्लो निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न गर्न सकेकोमा त्यसलाई जीवनमा गरिएका सबैभन्दा महत्वपूर्ण काम मध्येमा आफूले सम्झने प्रतिक्रिया दिनुभयो ।
मतदाता शिक्षाकालागि मतदाता शिक्षा तथा सूचना केन्द्र स्थापना, सञ्चालन र विस्तारलाई राम्रो उपलब्धिको रुपमा आफूले लिएको बताउँदै उहाँले त्यसले निर्वाचन आयोगलाई विश्वका केही उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायका रुपमा स्थापना गराउन समेत सफल भएको जानकारी दिनुभयो ।
“निर्वाचन पछाडि सहमति गरेर यतिबेला संविधान बनाइसक्नुपर्ने हो, तर दलहरूले राष्ट्रको समुच्चरुपमा सहमति बनाएर संविधान जारी गर्ने प्रयास गरिरहेकाले यो संविधानसभाबाट देश र जनताले संविधान प्राप्त गर्नेमा आफू पूर्ण विश्वस्त छु”– उहाँले भन्नुभयो ।
उहाँ सेवानिवृत्त भएसँगै आयोगका वरिष्ठ आयुक्त दोलखबहादुर गुरुङले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्नुहुनेछ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया