शनिबार, मंसिर १३ २०७७
काठमाडौं २१:५१
वासिङटन डिसी 11:06

सहमतिको आधारमा नयाँ संविधान: राष्ट्रपति डा यादव

इनेप्लिज २०७१ फागुन १३ गते १४:१२ मा प्रकाशित

Rambaranलहान, १३ फागुन । राष्ट्रपति डा रामवरण यादवले मुख्य राजनीतिक दलले राष्ट्रको सर्वोत्तम हितलाई ध्यानमा राखेर वार्तामार्फत् सहमति गरी नयाँ संविधान जारी गर्नुपर्ने धारणा राख्नु भयो ।

राजधानी बाहिरको देश कै दोस्रो पुरानो विद्यालय सिरहा जिल्ला सदरमुकामस्थित चन्द्र उच्च माविको शत वार्षिकी समारोहको आज एक समारोहबीच उद्घाटन गर्दै राष्ट्रपति यादवले सबै विषयमा सहमति गरिसकेका राजनीतिक दलहरुले बाँकी रहेको सङ्घियताको विवाद पनि राष्ट्रको हितलाई केन्द्रमा राखेर सहमतिको संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको विकास निर्माण र प्रगतिको लागि सहमतिको संविधानको विकल्प छैन राष्ट्रपति यादवले भन्नुभयो, “राजनीतिक दलहरुले छिटो भन्दा छिटो वार्ता गरेर विवाद टुंग्याई नयाँ संविधान जारी गर्नुपर्छ ।”

उहाँले संवैधानिक परिषद्, लोकसेवा आयोग, विश्वविद्यालयका पदाधिकारी राजनीतिक भागवण्डामा होइन योग्य, इमान्दार र क्षमता भएका व्यक्तिलाई नियुक्त गरी मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

शत् वार्षिकी समारोहमा राष्ट्रपति डा यादवले शिक्षा क्षेत्रको प्रसङ्ग कोट्याउँदै सार्वजनिक शिक्षाको अवस्था सुधार्न शिक्षक, अभिभावक र सरकार सचेत हुनुपर्ने औँंल्याउनुभयो । सार्वजनिक शिक्षाको स्थानीय नेतृत्व चुनावबाट होइन सहमतिका आधारमा विद्वान व्यक्तिलाई छनौट गरिनुपर्नेमा राष्ट्रपति डा यादवले जोड दिनुभयो ।

राष्ट्रपति डा यादवले शत वार्षिकी समारोहको अवसरमा विद्यालय परिसरमा निर्मित शतवार्षिकी स्तम्भको समेत अनावरण गर्नुभयो । समारोहमा शिक्षामन्त्री चित्रलेखा यादव र सिरहा जिल्लाका सभासद्हरुको उपस्थिति रहेको थियो । विद्यालयमा अहिले एक हजार ६०० विद्यार्थी अध्ययनरत रहेका छन् भने ३६ जना शिक्षक र नौ कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया