सत्ता मेरा लागि गौण हो, संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध छुः प्रम
काठमाडौँ, ९ माघ । प्रधानमन्त्री सुशील कोइरालाले शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिबाट चाँडै लोकतान्त्रिक संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्रीले सत्ता आफ्ना लागि गौण र संविधान महत्वपूर्ण भएको बताउँदै संविधान निर्माणको अभियानमा आफ्नो दृढता व्यक्त गर्नुभयो । संविधान निर्माणप्रतिको पार्टीको पुरानो प्रतिबद्धता दोहोर्याउँदै त्यसका लागि निरन्तर प्रयत्न गरिरहेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले संवेदनशील मोडमा पुगेको मुलुकको वर्तमान राजनीतिक अवस्थालाई शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिबाट संविधान जारी गरेरै छाड्ने बताउनुभयो ।
नेपाली जनताको शान्त र विशाल जनमत लोकतान्त्रिक संविधान प्राप्त गर्दै सुदृढ राष्ट्रिय एकतासहित शान्त र समृद्ध नेपाल निर्माणको बहुसङ्ख्यक नेपाली जनताको चाहनालाई उग्र, अराजक र अलोकतान्त्रिक व्यवहारको निशाना बन्न नदिने दृढता प्रधानमन्त्री कोइरालाले व्यक्त गर्नुभयो । लोकतान्त्रिक संविधान निर्माणमा देशवासी र प्रवासी नेपालीको व्यापक सहयोग र समर्थनको अपेक्षा आफूले गरेको बताउँदै उहाँले मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास पथमा अग्रसर गराउनु आफ्नो एक मात्र लक्ष्य रहेको प्रस्ट पार्नुभयो ।
राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणमा सघाउन सबै राजनीतिक दलसँग अनुरोध गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“सुन्दर शान्त नेपालमा द्रुत विकासको थालनी गरौँ, जनता राष्ट्र निर्माण र विकास अभियानका महत्वपूर्ण ऊर्जा हुन्, अवसरका कमीले रोजगारीको खोजीमा बिदेसिन बाध्य भएका हाम्रा गतिशील र क्षमतावान् लाखौँ युवाको अवस्थालाई समेत ध्यानमा राखी जनताको जीवनस्तर उठाउने आमूल परिवर्तनको महाभियानको संवाहक बनौँ ।”
आपसी मनमुटाव बढाएर जनता र देशको हित नहुने र त्यसले केवल विभाजन र विद्वेष पैदा गराउने वास्तविकता स्मरण गराउँदै उहाँले संविधान लेखनका निम्ति जनादेश प्राप्त गरेका राजनीतिक दल तथा तिनका नेतालाई जनता निरास हुने स्थिति आउन दिन नहुनेमा जोड दिनुभयो । जनता हतोत्साहित भए राष्ट्र र राष्ट्रियता कमजोर हुने भन्दै उहाँले मुलुकमा शान्ति, सुव्यवस्था, सुशासन, पारदर्शिता, भ्रष्ट्राचार नियन्त्रण र उन्नतिका लागि योगदान गरिरहनु समस्त नेपालीको दायित्व भएको बताउनुभयो ।
नेपालले सबैसँग मित्रता र सद्भाव राख्दै आएका छिमेकी एवम् सबै मित्रराष्ट्रले नेपाल र नेपाली जनताको लोकतान्त्रिक प्रतिबद्धताप्रति देखाएको सद्भाव र समर्थनको सराहना गर्नाका साथै सबैसँग समानताका आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी लोकतान्त्रिक जगमा सामाजिक–आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउने वर्तमान सरकारको अभियानमा निरन्तर सद्भाव र समर्थनको अपेक्षा प्रधानमन्त्रीले सम्बोधनमार्फत व्यक्त गर्नुभयो ।
नेपालमा कायम हुने एकता, शान्ति, स्थिरता, लोकतन्त्र र विकासले हाम्रा छिमेकी र विश्व समुदायलाई पनि शान्ति र समृद्धिमा सकारात्मक योगदान पुग्ने यथार्थतर्फ उहाँले मित्रराष्ट्रको ध्यानाकर्षण गराउँदै नेपालको राष्ट्रिय एकता, दिगो शान्ति र सहमतिको राजनीति आफ्नो लोकतान्त्रिक अनुभव, अभ्यास र प्राथमिकतामा अघि बढ्दै सुदृढ हुने यथार्थ बुझिदिनुहुन अनुरोध गर्नुभयो ।
चिट्ठा परेर विकास नहुने
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बन्दैछ र राजनीतिक स्थिरता सुदृढ हुँदैछ भन्ने विश्वासमा देशभित्र र देशबाहिरका लगानीकर्ताहरुबाट ऊर्जा, पर्यटन, कृषि, उद्योगधन्दा, कलकारखाना र अन्य पूर्वाधार एवम् उत्पादनका क्षेत्रमा व्यापक लगानी सुरु भइसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“चाँडै ऊर्जा क्षेत्रको सङ्कट समाधान हुने सम्भावनाका बीच आर्थिक विकासका गतिविधि तीव्र हुँदै गएका छन्, पूर्वाधारका क्षेत्रमा सरकारको लगानीसमेत परिणाममुखी बन्दैछ, विकास चिट्ठा परेर हुने होइन, वर्षौं निरन्तर लगानी र उत्पादनले मात्र आर्थिक समुन्नतिको खुट्किलो चढ्न सकिन्छ, अनुकूल परिस्थिति बन्दै गएको बेला समाजमा द्वन्द्व र जनतामा निराशा आउने अवस्था कुनै पनि हालतमा बन्न दिनुहुँदैन ।”
प्रधानमन्त्रीले दिनुभएको सम्बोधनको पूर्णपाठः
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
१) वर्तमान संविधानसभाको निर्वाचनका समयमा र निर्वाचनपछि सबै राजनीतिक दलले एक वर्षभित्र नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरेका थियौँ । संविधानसभाले पनि दलहरुको भावनालाई आत्मसात् गर्दै ‘साझा सङ्कल्प’का रुपमा २०७१ माघ ८ भित्रै संविधान निर्माणको कार्यतालिका पारित गरेको स्मरण गराउन चाहन्छु । यो प्रतिबद्धताअनुरुप हिजो माघ ८ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसक्नुपर्ने थियो ।
२) संविधान निर्माणको कार्य नेपाल राष्ट्र, संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् र राजनीतिक दलहरुको जिम्मेवारीसँग प्रत्यक्ष सम्बन्ध रहेको विषय हो । तर पनि संविधान निर्माणजस्तो देश र जनताको भविष्यसँग गाँसिएको विषयलाई भरसक सहमतिमै सम्पन्न गर्नका लागि प्रधानमन्त्रीका रुपमा सबै दललाई नम्रतापूर्वक अनुरोध गर्दै आएको थिएँ । तर दुःखका साथ मैले भन्नुपर्दछ कि सबै राजनीतिक दलले माघ ८ गतेभित्र संविधान जारी गर्न लिएको ‘साझा सङ्कल्प’ केही राजनीतिक दलका अस्वाभाविक अडान र लोकतान्त्रिक विधिको बेवास्ता गर्ने प्रवृत्तिका कारण सङ्कटमा पर्न गएको छ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
३) हामी सबैले लक्ष्य बनाएको माघ ८ गतेको दिनसम्म आइपुग्दा हाम्रो संविधानसभा शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधि र व्यवहारका अभ्यास गर्ने ठाउँ बन्न पाएन । दुर्भाग्यवश माघ ५ गतेको मध्यरात्रिदेखि संविधानसभा उत्तेजनात्मक गतिविधि, तोडफोड र अराजक व्यवहारको प्रदर्शनी बन्न पुग्यो । संविधानसभाभित्रकै केही राजनीतिक दल मतभेदका विषयमा अनेकन वैकल्पिक प्रस्तावउपर छलफलमा केन्द्रित हुनाको साटो संविधानसभाबाट संविधान बन्न सक्दैन भन्ने राजनीतिक निष्कर्ष र मोर्चामा आबद्ध दलहरुसँग मिसिएर बन्द र हडतालको विकल्पतर्फ जाँदा संविधान निर्माणका प्रयासमा गम्भीर धक्का लाग्न पुग्यो । जनताका आशा र विश्वासमाथि लागेको यो चोटले मलाई मर्माहत तुल्याएको छ ।
४) हामीले आपसी सहकार्य, समझदारी, एकता र मेलमिलापका आधारमा हुने सहमतिको प्रयासलाई अझै छाडेका छैनौँ । संविधान निर्माणको विभिन्न चरणमा शान्तिपूर्ण जनआन्दोलनका सहयात्रीबीचको सहकार्यको भावना नटुटोस् भन्ने हाम्रो सदाशयता र प्रयत्न रहिआएको छ । “मिलेर हासिल गरेका उपलब्धिलाई मिलेर नै संस्थागत गरौँ” भन्ने हाम्रो भावनालाई कतिपय सहयात्री दलका नेताले कमजोरीका रुपमा उपयोग गर्न खोज्नुभएको छ, जसका कारण संविधान निर्माणको कार्य अनिर्णय र अन्योलको बन्दी हुन पुगेको छ । अब यस परिस्थितिको अन्त्य हुनुपर्दछ ।
५) मलाई विश्वास छ, जनताको मौलिक अधिकार, न्याय र स्वतन्त्रताको जग बलियो हुँदा मात्रै मुलुकको दिगो शान्ति र स्थिरता कायम हुन सक्दछ । नेपाल सदा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यसको सामाजिक सद्भावमाथि कसैले पनि खेलबाड गर्नु हुँदैन । आपसी सद्भाव, बन्धुत्वको भावना, सहिष्णुता र मेलमिलाप र सामञ्जस्यता कायम गरी राष्ट्र निर्माणमा समावेश हुनुपर्ने आजको आवश्यकता हो । त्यसैले मुलुकले आर्थिक रुपमा धान्न सक्ने, राष्ट्रिय एकतालाई मजबुत बनाउने, सामाजिक सद्भाव र सहिष्णुता कायम हुने लोकतान्त्रिक संविधान र सङ्घीय प्रदेशहरुको निर्माण गर्नुपर्दछ भन्ने हाम्रो दृढ अडान पुनः दोहो¥याउन चाहन्छु ।
६) आउने संविधानमा समस्त महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम, अन्य अल्पसङ्ख्यक, सीमान्तकृत र पिछडिएको वर्गसहित सबै नेपालीलार्ई आफ्नो पहिचान, धर्म, संस्कृति, वेशभूषा, भाषा, परम्पराको संरक्षण र संवद्र्धन गर्ने स्वतन्त्रताको प्रत्याभूति हुनेछ । नयाँ संविधानको निर्माणमा आमजनताको सहभागिता सुनिश्चित गरिएको छ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
७) लोकतान्त्रिक आधारशिलामा मात्र देशको राष्ट्रियता र राष्ट्रिय एकता संवद्र्धन गर्न सकिन्छ । लोकतान्त्रिक संस्थाहरुलाई सशक्त र मजबुत पार्दै सांस्कृतिक जगलाई सुदृढ बनाएर देशको प्राकृतिक र मानव संसाधनको अधिकतम उपयोग गरी मुलुकको चौतर्फी विकास गर्नुपर्ने बेलामा द्वेष, हिंसा र उत्तेजनालाई बढावा दिन उत्प्रेरित गर्ने कार्य हुनुलाई मैले दुर्भाग्यका रुपमा लिएको छु ।
८) नेपाली जनताले प्रजातन्त्रका लागि लामो सङ्घर्ष गरिसकेका छन् । ६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनलाई हामीले राजनीतिक परिवर्तनका लागि अन्तिम आन्दोलन भनेका थियाँै । राजनीतिक परिवर्तनपश्चात् मुलुकमा स्थायित्व र विकास होला, सुख र शान्ति पाइएला भन्ने जनताको आशालाई यथार्थमा रुपान्तरण गर्न हामीले लोकतान्त्रिक संविधान निर्माण गर्नैपर्ने अवस्था छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बन्दैछ र राजनीतिक स्थिरता सुदृढ हुँदैछ भन्ने विश्वासमा देशभित्र र देशबाहिरका लगानीकर्ताबाट ऊर्जा, पर्यटन, कृषि, उद्योगधन्दा, कलकारखाना र अन्य पूर्वाधार एवम् उत्पादनका क्षेत्रमा व्यापक लगानी सुरु भइसकेको छ । चाँडै ऊर्जा क्षेत्रको सङ्कट समाधान हुने सम्भावनाका बीच आर्थिक विकासका गतिविधि तीव्र हुँदै गएका छन् । पूर्वाधारका क्षेत्रमा सरकारको लगानीसमेत परिणाममुखी बन्दैछ । विकास चिट्ठा परेर हुने होइन, वर्षांैको निरन्तर लगानी र उत्पादनले मात्र आर्थिक समुन्नतिको खुट्किलो चढ्न सकिन्छ । अनुकूल परिस्थिति बन्दै गएको बेला समाजमा द्वन्द्व र जनतामा निराशा आउने अवस्था कुनै पनि हालतमा बन्न दिनु हुँदैन ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु
९) आपसी मनमुटाव बढाएर जनता र देशको हित हुँदैन । यसले केवल विभाजन र विद्वेष पैदा गराउँछ । जनता निरास हुने स्थिति आउन दिनु हुँदैन । जनता हतोत्साहित भए राष्ट्र र राष्ट्रियता कमजोर हुन्छ । यस कुरालाई ध्यानमा राख्दै मुलुकमा शान्ति, सुव्यवस्था, सुशासन, पारदर्शिता, भ्रष्ट्राचार नियन्त्रण र उन्नतिका लागि योगदान गरिरहने सबैलाई म धन्यवाद दिन चाहन्छु ।
१०) तसर्थ मेरो सबै राजनीतिक दलसँग विनम्र अनुरोध छ, राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरौँ । सुन्दर शान्त नेपालमा द्रुत विकासको थालनी गरौँ । जनता राष्ट्र निर्माण र विकास अभियानका महत्वपूर्ण ऊर्जा हुन् । अवसरका कमीले रोजगारीको खोजीमा बिदेसिन बाध्य भएका हाम्रा गतिशील र क्षमतावान् लाखौं युवाको अवस्थालाई समेत ध्यानमा राखी जनताको जीवनस्तर माथि उठाउने आमूल परिवर्तनको महाभियानको संवाहक बनौँ ।
११) नेपाल सबैसँग मित्रता र सद्भाव राख्दछ । हाम्रा छिमेकी एवम् सबै मित्रराष्ट्रले नेपाल र नेपाली जनताको लोकतान्त्रिक प्रतिबद्धताप्रति देखाएको सद्भाव र समर्थनको सराहना गर्दछौँ । सबै मित्रराष्ट्रसँग समानताका आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी लोकतान्त्रिक जगमा सामाजिक–आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउने हाम्रो अभियानमा निरन्तर सद्भाव र समर्थनको अपेक्षा गरेका छौँ । नेपालको राष्ट्रिय एकता, दिगो शान्ति र सहमतिको राजनीति हाम्रो आफ्नो लोकतान्त्रिक अनुभव, अभ्यास र प्राथमिकतमा अघि बढ्छ र सुदृढ हुँदै जान्छ । यस यथार्थलाई बुझिदिनुहुन हाम्रा मित्रहरुमा विनम्र अनुरोध गर्दछु । नेपालमा कायम हुने एकता, शान्ति, स्थिरता, लोकतन्त्र र विकासले हाम्रा छिमेकी र विश्व समुदायलाई पनि शान्ति र समृद्धिमा सकारात्मक योगदान पुग्नेछ भन्ने यथार्थतर्फ म हाम्रा मित्रराष्ट्रहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
१२) मुुलुकको भविष्य हाम्रो उद्देश्यको एकतामा निर्भर रहन्छ । संविधान एक राजनीतिक दस्तावेज पनि हो । यसमा तोकिएको संशोधनको प्रक्रियाबाट समयसापेक्ष जनआकाङ्क्षा प्रतिविम्बित हुन्छ । त्यसकारण लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान बनाई मुलुकलाई लामो सङक्रमणकालबाट जति सक्दो चाँडो निकास दिनु अनिवार्य ठानेको छु ।
१३) मेरो लक्ष्य लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास पथमा अग्रसर गराउनु हो । सत्ता मेरा लागि गौण विषय हो । म संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध छु ।
१४) संविधान निर्माण गर्ने प्रयत्नमा हामी आज एउटा संवेदनशील मोडमा उभिएका छौँ । म दृढतापूर्वक देश र जनतालाई आश्वस्त गराउन चाहन्छु, शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिको अबलम्बन गर्दै हामी देशमा चाँडै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नेछौँ । नेपाली जनताको शान्त र विशाल जनमत लोकतान्त्रिक संविधान प्राप्त गर्दै सुदृढ राष्ट्रिय एकतासहित शान्त र समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ । बहुसङ्ख्यक नेपाली जनताको यो चाहनालाई हामी उग्र, अराजक र अलोकतान्त्रिक व्यवहारको निशाना बन्न दिने छैनौँ भन्ने दृढता व्यक्त गर्न चाहन्छु । हाम्रो यस कार्यमा समस्त देशवासी र प्रवासी नेपालीको व्यापक सहयोग र समर्थन रहनेमा म विश्वस्त छु ।
जय नेपाल
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया