मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०२:२६
वासिङटन डिसी 16:41

संविधान निर्माणमा सहमतिको प्रयास जारी छ:मन्त्री निधि

इनेप्लिज २०७१ पुष ३० गते १४:३८ मा प्रकाशित

Bimalendra-Nidhiभक्तपुर, ३० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सरकार सहमतिमा संविधान जारी गर्न अझै पनि लचक भएर प्रस्तुत हुन तयार रहेको बताउनु भएको छ ।

चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको प्रथम नगर परिषद्ले पारित गरेको आर्थिक वर्ष २०७२÷०७३ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा उहाँले माघ ८ गतेभित्र सहमति मै संविधान जारी गर्न सरकार तयार रहेको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो–“सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान बनाउन चाहन्छ, सहमतिमा संविधान जारी गर्न प्रदेश विभाजन, सङ्ख्या, नामाकरणलगायत बारे लचक भएर प्रस्तुत हुन सरकार अझै तयार छ अधिकतम लचकताका साथ एउटा बिन्दुमा सम्झौता होस् र सहमतिमै संविधान जारी होस् भन्ने सरकारको चाहना छ ।”

कार्यक्रममा सभासद् अनुराधा थापामगरले जातजातिका नाममा सङ्घीय राज्य घोषणा गरे मान्य नहुने बताउनुभयो । त्यस अवसरमा स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले गाविस नगरपालिका भएको परिप्रेक्ष्यमा सबैको सहयोगबाट नगरको विकास गर्नुपर्ने धारणा राख्नु भयो ।

चाँगुनारायण नगरपालिकाको कार्यकारी अधिकृत प्रल्हादप्रसाद पुडासैनीले आव २०७२÷०७३ का लागि कुल १० करोड २३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । जसमा पुँजीगत खर्चतर्फ रु सात करोड ४० लाख र प्रशासनिक खर्चतर्फ रु दुई करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कार्यक्रममा सभासद् रामेश्वर ढुङ्गेलले नयाँ नगरपालिकाको विकासका लागि धेरै चुनौती र अवसर आएकाले यसलाई आत्मसात् गर्दै विकासमा एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया