मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १५:५६
वासिङटन डिसी 05:11

राष्ट्रपति निर्वाचनमा वाइडेनले मार्लान त वाजी ?

अमेरिकी निर्वाचनको लेखाजोखा

विष्णु शीतल २०७७ कार्तिक १७ गते ४:३० मा प्रकाशित

 

अबको अडचालिस घण्टा वित्दा नवित्दै अमेरिकाको ४६ औं राष्ट्रपति को हुने भन्ने करिब थाहा हुन सक्छ । विश्वव्यापी कोरोना भाइरसले ४ करोड ६४ लाख मानिसलाई आक्रमण गरेर १२ लाख मानिसहरुको ज्यानै लिइसकेकोे अवस्थामा अमेरिकामा भने राजनीतिको थामिनसक्नु ताप बढेको छ । मानिसहरु आगामी ४ बर्षका लागि अमेरिकाको राष्ट्रपतिको चुनाव गर्दैछन । यो लडाईंमा सामेल छन दुई पहलमान रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड जोन ट्रम्प र डेमोक्र्याटिक पार्टीको तर्फबाट  जोसेफ आर बाइडेन जुनियर(जो बाइडेन)  ।

यी मध्येका ट्रम्प वर्तमान राष्ट्रपति हुन भने बाईडेन पूर्व उपराष्ट्रपति हुन । पर्सि हुने निर्वाचनमा कुनै अदृष्य खेलहरु भएनन भने अबको चार बर्षका लागि जो बाइडेन ४६ औं राष्ट्रपति हुने छन ।  अमेरिकाको राजनीतिमा पनि अन्य मुलुकहरुको जस्तै अदृष्य शक्तिले आफ्नो पकड जमाइ राख्ने हँुदा नसोचिएको परिणाम आउन पनि सक्छ । तर हालसम्मको अवस्थामा विभिन्न संचारगृह र स्वतन्त्र पर्यवेक्षणकर्ताहरुले गरेको सर्वेक्षणमा जो बाइडेन ८ देखि १० प्रतिशत मतले अगाडि छन ।

अब चाँडै नै राष्ट्रपति डोनाल्ड ट्रम्पको पदावधि सकिने वा आगामी चार बर्ष फेरि व्हाइट हाउसमा बस्न पाउने निधो हुदैछ । यसको लागि धेरै लामो प्रतीक्षा गर्नुृ पर्ने छैन । उनले सन २०१६ को निर्वाचनमा डेमोक्र्याट उमेद्वार हिलारी क्लिन्टनलाई पराजित गरेर विजयश्री प्राप्त गरेका थिए । यो निर्वाचनमा राष्ट्रपति ट्रम्पले  झण्डै चार दशक राजनीतिमै विताएका पाका अनुभवी जो बाइडेनसँग प्रतिस्पर्धा गर्नु परेको छ ।

यो ४८ घण्टा अमेरिकी मतदाताले राष्ट्रपति ट्रम्पको चार बर्षे कार्यकालको समीक्षा गरिरहेका छन । त्यहाँ एक थरीले राम्रै मात्र देखिरहेका होलान अर्को थरी राम्रो नराम्रो दुबै हेर्दै होलान । तर समीक्षा भने अवश्य गर्दैछन जुन अति आवश्यक छ । ट्रम्पका प्रतिस्पर्धि बाइडेन लामो समयसम्म राजनीतिमा भए पनि अत्यन्त कम विवादमा परेका राजनीतिक व्यक्ति हुन । त्यसैले होला मानिसहरुले उनको चर्चा गर्ने मसला पाइरहेका छैनन । तर राष्ट्रपति ट्रम्प भने चार बर्ष व्हाइट हाउसमा बसेर राज गरिसकेका र हरेक पटकको भाषणमा कसैन कसैलाई गाली गर्ने,होच्याउने शैलीमा प्रस्तुत हुने कारणले चर्चामा आइरहन्छन । मानिसहरु उनको दैनिक जस्तै आउने सार्वजनिक मन्तव्य वा उनले प्रयोग गर्ने सामाजिक संजाल खास गरी ट्वीटरमा दिने गरेका सार्बजनिक अभिव्यक्तिलाई लिएर यो चार बर्षको अवधि ठूला साना चर्चामा आएरै वितेको छ । कोरोनाको महामारी शुरु भए यता उनले व्यक्त गर्ने भाइरस सम्बन्धि अभिव्यक्ति दैनिक जस्तै मिडियाको मसला बन्ने गरेको छ । अन्ततः उनी आफैं संक्रमित भए र पनि चर्चा मै रहे ।

हुन त राष्ट्रपति ट्रम्प राजनीतिक पृष्ठभूमिबाट आएका राजनीतिक व्यक्ति हैनन । उनी पर्यटन व्याबसायी हुन भने टेलिभिजन शो उनको सोख थियो । व्याबसायका क्रममा उनको भित्री सम्बन्ध को को सँग कहाँ कति थियो र छ भन्ने कुरा अमेरिकामा भन्न सकिन्न । किन भने मानिसको वैयक्तिक स्वतन्त्रता र गोपनीयतालाई बढी नै महत्व दिएर कानुनी संरक्षणसमेत गरिएको हुन्छ । यसैका कारणले पनि मानिसका सम्पर्क सम्बन्धहरु सबै सार्बजनिक भएका हुँदैनन । हिजो उनी के थिए र एकाएक अमेरिकको राष्ट्रपति जस्तो विश्वकै एक शक्तिशाली व्यक्ति हुन आइपुगे । राजनीति पावर सेन्टरबाट चल्ने भएकाले शक्ति केन्द्रहरुसँग नजिक पुग्न सक्ने मानिस एकाएक फुत्त आउन पनि सक्दा रहेछन। उनी पनि त्यसरी नै आए । नौलो मानिसले अलि बढी तामझाम गरे पछि मानिसहरुलाई कतै यसले तरक्की नै पो गरिहाल्छ कि भन्ने पनि लाग्न सक्छ । सायद यस्तै कारणले पनि २०१६ को निर्वाचन उनले जिते । उनले त्यस बखत व्हइट सुप्रीमेसीको प्रयोग त स्वभाविक रुपमा गरे नै नश्लिय राष्ट्रबाद पनि प्रयोग गरे । मेक्सीकोसँगको सीमामा पर्खालको नारा त्यसको एक उदाहरण हो । आप्रवासीप्रतिको अनुदार व्यबहार अर्को उदाहरण थियो । यो नश्लिय राष्ट्रबादको प्रभाव भने यो चुनावसम्म पनि यदाकदा प्रयोगमा आएको पाइन्छ । तर पर्खालको प्रसंग भने यस पटकको चुनावमा गलपासो भएको देखिदैछ ।

दुबै उमेदवार मंगलवार हुने निर्वाचनमा आ—आफ्नो जीतको दावी गर्दै कोरोना कहर कै बीचमा पनि हिडिरहेका छन । मानिसहरु भन्ने गर्दछन , विभिन्न चुनावी सभाबाट फर्के पछि सक्रमित भएकाहरु मध्ये झण्डै ७ सय अमेरिकीहरुको ज्यान गइसकेको छ । कतिपय चुनावी सभाहरुमा विना माक्स उपस्थित हुने, फर्केर गए पछि विरामी हुने क्रम तीब्र छ भन्ने चर्चा त पहिले पनि सुन्ने गरिन्थ्यो । यस्ता गतिविधिबाट मानिसको ज्यानै जान्छ भने यसलाई सामान्य रुपमा लिन मिल्दैन ।

सन २०१६ को निर्वाचनमा हिलारी क्लिनटनले डोनाल्ड ट्रम्पको भन्दा ३० लाख मत बढील्याएर पनि सत्ता ट्रम्पलाई छाडिदिनु परेको थियो । इलेक्टोरल कलेज भनिने पद्धति जुन राज्य वा निर्वाचन क्षेत्रहरुबाट आउने प्रतिनिधिको पनि बहुमत हुनु पर्ने भएकाले बहुसंख्यक अमेरिकी जनताले मत दिदा पनि आफ्नो राष्ट्रपति पाएका थिएनन । त्यसबाट पाठ सिकेर डेमोेक्र्याट नेताहरु त्यस तर्फ लागेका छन भने राष्ट्रपति ट्रम्प ठूलो संख्यामा डेलिगेट भएका फ्लोरिडा,पेन्सीलभेनिया,न्युयोर्क,ओहायो क्यालिफोर्निया जस्ता राज्यतर्फ आफ्नो चुनावी लहर बढाइरहेका छन । ट्रम्पलाई साना राज्यहरु जहाँ आप्रवासीहरुको संख्या न्युन छ त्यहाँ डर कम छ । उनी घना बस्ती भएको राज्यतर्फ केन्द्रित छन भने बाइडेनलाई अहिले पनि ती साना राज्यहरुमा पनि ध्यान दिनु छ । मत सर्वेक्षणले आफूहरुलाई अगाडि देखाए पनि डेमोक्र्याटहरु ढुक्कले बसेका छैनन ।

डेमोक्र्याटहरुलाई चार बर्षसम्म ट्रम्प प्रशासनले देखाएको कार्यशैली,झुटा आश्वासन,नगरेर अधुरा छोडिएका वा शुरु नै नगरिएका जनताका कामहरु निर्वाचन जित्ने आधार भएका छन । डेमोक्र्याट पार्टीका एक स्थानीय नेता हरि शर्माका अनुसार ट्रम्प प्रशासनको असफलता,जनतालाई दिएको झुटा आश्वासन,कोरोना भाइरस नियन्त्रण गर्न नसकेको वा हेलचेक्र्याई गरेको, राहतका नाममा जथाभावी राज्यकोषको दुरुपयोग गरेको विषय नै डेमोक्र्याटहरुले उठाइरहेका छन । यो कुराको हेक्का जनताले राखेको दावी नेताहरुको छ । यति बेलासम्म आइपुग्दा पनि दुबै उमेद्वारसँग जनतालाई आकर्षण गर्ने नारा त सुनिदैन तर राष्ट्रपति ट्रम्पको अलोकप्रियताको फाइदा भने डेमोक्र्याटहरुलाई जाने सम्भावना  प्रसस्तै देखिन्छ ।

कोरोनाभाइरसको महामारीबाट सिंगो विश्व नै आक्रान्त भइरहेका बेला अमेरिका भने चुनावको तापमा सेकिइरहेको छ । यसै पनि अमेरिका विश्वमा सबैभन्दा बढी संक्रमित र मृतक संख्या भएको मुलुक हो । यो लेख तयार गर्दै गर्दा विश्वमा चार करोड चौसठ्ठीलाख बीस हजार नौसय चालिसजना संक्रमित संख्या पुगिसकेको छ । यो समयसम्ममा  बाह्रलाख मानिसहरुले यो भाइरसबाट संक्रमित भएर ज्यान गुमाइसकेका छन । यता अमेरिकामा मात्र ९१ लाख ९९ हजार ५२३ जना विरामी परेका छन भने २ लाख ३० हजार ९३४ जनाले ज्यान गुमाइ सकेका छन । निर्वाचनकै कारण यो हप्ता यो संख्या नाटकीय रुपमा बढ्ने सबैले अनुमान गरिरहेका छन । अमेरिकाले यति ठूलो क्षति व्यहोर्नुमा ट्रम्प प्रशासनको लाप्रबाही भएको दावी डेमोक्र्याट नेताहरुको छ । यो परिस्थितिले ट्रम्पलाई रक्षात्मक अवस्थामा पुयाई दिएको छ भने जो बाइडेनलगायत डेमोक्र्याट नेताहरु जितको संभावना नजिक पाएर निकै उत्साहित देखिएका छन ।

महामारीका बावजुद पनि निर्वाचनको दिन उपस्थित भएर मतदान गर्न असमर्थहरुलाई अग्रिम मतदानको सुविधा हिजो शनिवारसम्म थियो । अन्तिम दिन हिजो स्थानीय सरकारी कार्यालय र प्रहरी चौकीहरुमा मतदाताहरुको निकै भिड थियो । यसबाट अनुमान गर्न चाहिँ के सकिन्छ भने यस पटक मतदाताहरु निकै सचेत छन । तुलनात्मक रुपमा बढी मतदान हुन सक्छ । यसबाट प्रतिस्पर्धा कडा हुुदैछ भन्ने संकेत पनि देखिन्छ ।

अमेरिकाको चुनावलाई प्रभाव पार्न सक्ने अर्को एक मुद्धा हो बेरोजगारी । हुन त बेरोजगारी संसारका जुनसुकै मुलुकको समस्या हो । यसले राजनीतिमा प्रभाव पार्ने गर्र्दछ । माहामारीकै बावजुद पनि अमेरिकामा बेरोजगारी संख्या बढ्न नदिएको रिपब्लिकन सरकारको दावी छ । हुन त सरकारले १० अर्ब (ट्रिलियन) डलर महामारीमा राहत वितरण गरेको तथ्यांक सार्बजनिक गरको छ । तर यसलाई मानिसहरुले राहतको नाममा सरकारी रकम यसरी वितरण गर्दा निर्वाचनलाई प्रभाव पार्न यसो गरिएको रुपमा पनि व्याख्या गरेका छन ।

डेमोक्र्याटहरु दावी गर्छन कि जनस्वास्थ्य,शिक्षा, अर्थलगायतका विषयगत जनसेवाका क्षेत्रहरु ट्रम्प प्रशासनले जवाफ दिन नसक्ने गरी खस्कीसकेको छ ।

जुन सुकै मुलुकमा निर्वाचनका बेला ठूला ठूला स्क्यान्डलहरु बाहिर ल्याइएका हुन्छन । तर यस पटकको निर्वाचनमा त्यस्ता स्क्यान्डल भने देखिएको वा सुनिएको छैन । हुन त अमेरिकाको राजनीति पनि अदृष्य शक्तिको प्रभावबाट मुक्त छैन । पुराना धनाड्यहरु,इन्धन कम्पनी वा तिनका दलाल कम्पनी,बीमा कम्पनी र हात हतियार कम्पनी वा तिनका एजेन्टबाट राजनीतिमा प्रभाव अनुमान गरिएभन्दा बढी  हुने गर्दछ । यस्ता पर्दा पछाडिका तत्वहरु निर्वाचनमा चनाखो भएर हेरिहेका हुन्छन । खास गरी सत्ताधारीसँग त्यस्ता शक्तिकेन्द्रले सम्बन्ध कायम राख्ने भएकाले पतिपक्षमा रहेका डेमोक्र्याटहरु बढी नै सचेत देखिन्छन । यस्ता सबै पक्षमा ध्यान दिदै जनताले आगामी मंगलबार हुन गइरहेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु पर्दछ ।

-विष्णु शीतल 

प्रतिक्रिया