काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरु लाई फुटाउन खोजेको भन्दै त्यस्तो काम नगर्न आह्वान गरेका छन्।
एनआरएनए आइसीसीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एकताको महाधिवेशनपछि, परराष्टबाट पत्र पाइसकेपछि र फैसला कार्यान्वयन निर्देशनालयबाट त्यस अनुसारको पत्राचार पछि संघको केन्द्रीय कार्यालयमा प्रवेशमा रोकटोक गर्ने कुरै हुँदैनथ्यो । अधिवेशनपछि वद्रीजीसहित पूर्व अध्यक्षहरुसँग कुरा भइरहेकाले वार्ता मिल्न सक्छ भनेर बलजफ्ती नगरेकै हो । जहाँ सम्म वैधानिकताको कुरा छ अहिले हेमराजजीले विधानको हवाला दिएर भ्रम फिजाउने काम गर्नुभएको छ,” उनले भने।
“हामी नै वैधानिक हौं । परमादेशबाट उच्चस्तरीय समिति गठन भयो । परमादेश अनुसार जे जे भन्यो त्यही अनुसार निर्वाचन भयो । परराष्ट र कानुन मन्त्रालयका प्रतिनिधि हुनुहुन्थ्यो । निर्वाचन पछि परराष्टबाट वैधानिकता पाइयो भने कूटनीतिक नियोगमा पत्राचार भइरहेको छ । आधिकारिकता पुष्टि गर्ने निकाय भनेको परराष्ट मन्त्रालय हो । सर्वोच्चको फैसलाको पनि उहाँहरुले आ आफ्नै तरिकाले व्याख्या गर्नुभएको छ । उहाँहरुले ब्याख्या गरेर हामीले जित्यौं भन्नु हुन्छ । सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निकाय हो । हामीलाई रोक्ने हो भने फैसला कार्यान्वयन गर्ने निकायबाट पत्र ल्याए भइहाल्यो नी । त्यस्तो पत्र ल्याउनु भयो भने हामी मानीहाल्छौं । अब पुनरावलोकनको बारेमा पनि उहाँहरुले भ्रम छर्नु भएको छ । अहिले अदालतमा ६ वटा मुद्दा छन् । सबै मुद्दा पूर्ण इजलासमा पुगेका छन् । अबको २ तीन हप्तामा अहिलेको अन्यौल अन्त्य हुनेमा विश्वस्त छु,” उनले भने।
“बद्रीजीहरुले गर्नु भएको पत्राचारलाई खारेज गरेका छौं । त्यसको कुनै औचित्य छैन । समानान्तर कमिटी गठन गर्नु गम्भीर विषय हो । हामी फुटाउन र विभाजन गर्नुहुँदैन भन्ने पक्षमा छौं । अमेरिकामा म जाँदा दुई कमिटीलाई मिलाउने आधार तयार पारेर आएको हुँ । त्यसमा डा अर्जुन बन्जाडे र सूर्य लम्सालले असाध्यै राम्रो भूमिका खेल्नु भयो । त्यो सहमतिको आधार तयार भएको हो । एमआइएस सिस्टमको बारेमा छलफल गरेका थियौं । मध्यमार्गी बाटो पहिलाएका छौं । त्यहाँ पनि कार्यान्वयन भएन । अहिले बद्रीजीले झुक्याउने खेल गर्नु भएको छ । एनसीसीहरुको निर्वाचन अलि पर सार्नु पर्छ । कि आफै मिलौं होइन भने अदालतको फैसला कुरौं भनेको हो । एमआइएस सिस्टम आफैमा समस्या होइन । बद्रीजीको कन्ट्रोलमा भएकाले हामीले स्वीकार नगरेको हो । एमआइएसलाई स्वतन्त्र टिमले मनिटरिङ गर्नुपर्छ भन्ने कुरा त विधानमै छ,” अध्यक्ष श्रेष्ठले भने।
“सर्वोच्चले भनेको मान्छौं त्यो अवधिसम्म एनसीसी नचलाउ भनेका छौं । आइसीसीको विवाद मिलाउन सकिन्छ तर एनसीसी विभाजित भयो भने गाह्रो हुन्छ त्यसका लागि हामीले गर्नुपर्छ । एनसीसी स्वायत्त संस्था भएकाले उनीहरुलाई चलाउन हुँदैन । विवादित अवस्थामा एनसीसीको अधिवेशन जुलाईमै गर्नुपर्छ भन्ने बाध्यतामा नपारौं पनि भनेका छौं । हामीले एनसीसीको अधिवेशन सार्न सकियो भने धेरै समस्या समाधान हुन्छ भनेका छौं । विधान भनेको संस्थाको लागि हो । संस्था राम्रो बनाउनका लागि बनाएको हो । त्यसैले विधानलाई संशोधन गरेर बाधाहरु फुकाउन सकिन्छ । तर साथीहरु विधानको हवाला दिँदै अवस्था भाँड्न खोज्नु भयो । एनसीसीमा देखिएको अन्यौल हटाउने जिम्मेवारी हाम्रो हो । तर अहिले चार वटा कमिटी भंग गरेर समानान्तर कमिटी गठन गरेर एनसीसी फुटाउन सुरु गर्नुभयो । उहाँहरुको कार्यलाई हामीले मान्यता दिँदैनौं । उहाँहरुले अहिले चार वटा एनसीसीलाई देखाएर अरुलाई तर्साउन खोज्नु भएको हो,” उनले भने।
पत्रकारहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष श्रेष्ठले भने, “बद्रीजीहरुको कन्टोलमा रहेकाले एमआइएसबाट सबै त्रसित छन् । हामी समानान्तर कमिटी बनाउन नहुने पक्षमा छौं । पूर्व अध्यक्ष एवं संस्थापक अध्यक्षज्यूहरु चुप लागेर नबस्नुहोस् । तपाईंहरु बोल्नु पर्छ । अहिले समानान्तर कमिटी बनाउनका लागि तपाईहरुले रोक्नु पर्छ । समस्या समाधानका लागि तपाईहरुले भूमिका खेल्न पर्छ,” अध्यक्ष श्रेष्ठले भने।
“अहिले नागरिकताको विषयमा ड्राफ्ट हुँदैछ । हामीले नागरिकता लगायतका मुद्दाहरु स्थापित गर्नका लागि लाग्नु पर्नेमा यो लफडामा परेका छौं । पूजी नेपालमा भित्र्याउनका लागि हामीले पहल गर्नु पर्छ । हामी अब विश्वासयोग्य हुनुपर्छ । हामीले एकताको लागि इमान्दार प्रयास गरिरहेका छौं । यो प्रयासमा सबै एनसीसीहरुले साथ दिनुहोस् । सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्छौं । अदालतले ढिला गर्छ भने हामी वैधानिक तरिकाले सचिवालय गएर काम सुरु गर्छौं । हामी कानुनकै प्रयोग गरेर अधिकारलाई स्थापित गरेर काम गर्ने छौं। पूर्व अध्यक्षहरुले पनि बोल्नु पर्यो। एनसीसी भंग गर्नु हुदैन भनेर भन्नु पर्यो। भिष्म पितामह जस्तो हुनु भएन। सहीलाई सही भन्नु पर्यो। हामी चुप लागेर बस्दैनौ। वैधानिक तरिकाले अब अफिसमा जान्छौं। अध्यक्ष श्रेष्ठले भने ।
एनआरएनए अभियन्ता आरके शर्माले आफुले गएको ५, ७ बर्ष देखि नै एनसीसी नफुटाउनुहोस भन्दै आएको स्मरण गरे । “एनसीसी स्वायत्त छन् । तपाईंहरुको होडवाजीले कुनै पनि गरिबको छोराले प्रहरीमा धाउनु पर्ने अवस्था नपरोस् । दुवईमा यसअघि एनसीसी डिजल्भ हुँदा ४० पटक दुवईका स्थानीय निकायमा धाउनु परेको थियो । सवै सम्मानित साथीहरु एनसीसीमा हुनुहुन्छ । समाजको हितमा काम गरौं । आम नेपालीको समस्या समाधानका लागि लाग्नु पर्छ । एनसीसीहरु धैर्य गर्नु होस् । निकास केही समयपछि निस्किन्छ । फैसला कार्यान्वयनका पत्रहरु आउँदा त कार्यान्वयन भएका छैनन् । आइसीसीका लागि एनसीसीहरु नफुटिदिनुहोस्,” उनले भने।
एनआरएनए आइसीसीका उपाध्यक्ष सुनिल साहले केही साथीहरुले संस्था अनावश्यक तरिकाले कब्जा गरेको बताए। “अवैध भइसकेका साथीहरुले एनसीसीहरुलाई चिठी लेखेर दुःख दिनु भएको छ । अहिलेसम्म हामीलाई कार्यालय हस्तान्तरण गर्नु भएको छैन । अब उहाँहरुले अफिस छोड्नु पर्छ । एनआरएनएमाथि गम्भीर संकट भएकाले सबै एक हुन जरुरी छ,” उनले भने।
एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमले एनसीसीहरु स्वायत्त छन् भन्दै एनआरएनएको नाउँमा बद्री केसीको टिमले विभाजन ल्याउने काम गरेकोमा त्यस प्रति खेद व्यक्त गरे। “सर्वोच्च अदालतको परमादेशबाट बनेको उच्चस्तरीय समितले एनसीसीलाई स्वायत्त रुपमा काम गर्ने वातावरण बनाएर मे ३–४ मा अधिवेशन गराएको जगजाहेर छ । वद्री केसी र गौरी जोशीले अहिले सम्बन्धित देशका निर्वाचित भएका साथीहरुलाई हटाउने काम गरेका छन् । बद्री जी र गौरी जोशीलाई यहीबाट आग्रह गर्न चाहन्छु । अदालतमा मुद्दा चलिरहेको छ । अहिले सचिवालय दुरुपयोग नगर्नुहोस्,” उनले भने।
एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष केशव पौडेलले एनआरएनए आन्दोलनको २२–२३ वर्षको अवधिमा विगत केही समयदेखि खराब अवस्थाबाट गुज्री रहेको बताए । “अझैं पनि हामी कसरी एकताबद्ध बनाउने अभियानमा लाग्दा केही साथीहरु कसरी यसलाई कब्जा गर्ने र व्यक्तिगत फाइदाका लागि प्रयोग गर्न सकिन्छ भन्ने ध्याउन्नमा लाग्नु भएको छ । आज हामी जुन अवस्थामा पुगेका छौं यो राम्रो अवस्था होइन । एनसीसीहरुमा विभाजन भयो भने अवस्था जटिल हुन्छ । समानान्तर कमिटी बनाउनु एनआरएनए मुभमेन्टमा कालो दिन हो,” उनले भने।
एनसीसी बेल्जियमकी अध्यक्ष सीता सापकोटाले वैधानिक हिसाबले निर्वाचित एनसीसी बेल्जियमको कार्य समितिलाई बर्खास्त गर्ने अधिकार केसी समूहलाई न भएको बताइन्। उनले एनसीसी बेल्जियमका ८० प्रतिशत सदस्य एकताको पक्ष रहेको भन्दै आफ्नो श्रोत र साधनले भ्याए सम्म जाजरकोटमा स्कुल बनाउने, स्थानीय समुदायलाई सेवा गर्ने लगायतका सामाजिक काम गरि रहेको बेला संस्था फुटाउने काम गरेको भन्दै खेद व्यक्त गरिन्। ” म चुनाव जितेर आएको हो । मलाई कागजको खोस्टोले फाल्न सक्दैन । एनसीसीहरुलाई स्वायत्त भएर काम गर्न दिनुहोस् । हामीले चिया पनि संस्थाको पैसाबाट नखाएर काम गरिरहेका छौं। तर तपाईंहरुले सदस्यहरुले पठाएको पैसाबाट मुद्दा मामिला गरि रहनु भएको छ। कार्यालय कब्जा गर्नु भएको छ। बद्री केसीले कानून मान्नु पर्दैन? हामी कसैको दास होइन । हाम्रो मानहानी भएको छ। हामी मुद्दा हाल्छौं। ” उनले भनिन्।
एनआरएनए अध्यक्ष युएईका विकास शाहीले एनसीसी युएइलाई दिइएको मान्यता फिर्ता लिएको भन्ने पत्र प्राप्त भयो। यो सुन्दा हाँसो लाग्यो । अहिलेको अवस्थामा बद्री केसीको कमिटि नै अवैध छन् भन्ने हाम्रो बुझाई हो । अवैध मान्छेले हाम्रो वैधानिक संस्थालाई अवैध भन्ने हक अधिकार छैन । यहाँको लोकल अथरीटीमा दर्ता भएको संस्था हो । हामीले निर्वाचनको प्रक्रियाहरु अगाडि बढाएका छौं । हामीले युएईमा नेपाल फेस्टिबल आयोजना गर्यौं । परोपकारी कामहरु गरेका छौं । हाम्रो एनसीसीको बैठक बसेर त्यो पत्रलाई खारेज पनि गरेका छौं,” उनले भने।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न एनसीसीका पदाधिकारी तथा एन आरएन अभियन्ताहरुले आफ्नो धारणा राख्दै बद्री केसी समूहले एनआरएन एनसीसीहरु फुटाउन गरि रहेको अराजक कामको कडा आलोचना गर्दै एनसीसीहरु एकजुट भएर यस्तो क्रियाकलापको डटेर सामना गर्नु पर्ने बताएका थिए।
प्रतिक्रिया