सोमबार, असार २९ २०७७
काठमाडौं १८:०९
वासिङटन डिसी 08:24

वसुधैव कुटुम्बकम्

प्राडा मेदनीप्रसाद भण्डारी २०७७ जेठ १७ गते १३:४६ मा प्रकाशित

  • प्राडा मेदनीप्रसाद भण्डारी

आजको संसार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ताण्डवले क्षतविक्षत र आक्रान्त छ । मानवजातिलाई अशान्ति र भयले सताएको छ । हदैसम्मको पीडा उमडिएको छ । त्यो पीडामा सिङ्गो संसार एकतप्त रोएको छ । कोभिड–१९ लाई कुनै राष्ट्रको सीमा वा कुनै राजनीतिक परिवेशले पनि छेक्न सकेन । जगत नै भावशून्य, चेतनाशून्य, चिन्तनशून्य झैँ बनेको छ ।

संसारमै मलामी वैराग्य उत्पन्न भएको छ । मलामी वैराग्य घाटबाट ओत नर्फकिन्जेल रहन्छ । परिवारजन र आफन्त केही दिनसम्म जन्म–मृत्युको सत्य जान्ने ब्रह्मज्ञानीजस्ता बन्छन् । रात रहेपछि अग्राख पलाउँछ । बाँच्नेले गरिखानै प¥यो । विस्तारै मृत्युसत्य पनि बिर्सिन्छ । पिलिक्क सल्केको आत्मज्ञानको बत्ती मधुरो बन्छ । जीवन चक्र उही दिनचर्या, उही चटारो, दौडाहा, डाहा र हाहाहोहोमा पुग्छ । जीवन सामान्य बन्छ ।

संसारमा चलिआएका र चल्ने सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक गतिविधिहरूको एउटा सिलसिला छ । त्यसले समाजलाई उनेर राखेको छ । यसैकारण एउटा व्यक्तिको अवसानले परिवारलाई बाहेक समाज व्यवस्थामा फरक पर्दैन । राजनीतिको छक्कापञ्जा पनि चलिरहन्छ । बाँच्ने आधार र दाउपेचहरू पनि सामाजिक परिवेशकै उपज हुन् । एक प्रकारको चक्रव्यूह नै हो सामाजिक परिवेश पनि जसमा मानिस आआफ्नो ढंगले तयार रहन्छ । त्यो व्यूह रचनाबाट कसैले पनि आफूलाई मुक्त राख्न सक्दैन ।

समाज सधैँ सामान्य परिस्थितिमा रहँदैन । रोगव्याधि, महामारी र प्राकृतिक प्रकोपको भय चलिरहन्छ । युद्ध, अनेक प्रकारका विभेद र असमानता, गरिबी आदिले सामाजिक सन्तुलनमा आक्रमण गरिरहन्छन् । यो परिस्थिति सबै प्राणीमा उत्तिकै लागू हुन्छ । स्वसिर्जित परिवेश जनावरको समूहगत व्यवहारमा भने देखिँदैन ।

पृथ्वीमा मानवजन्मलाई सबै दर्शनहरूले सर्वोत्कृष्ट मानेका छन् । यसअनुसार के हामी मानवले जीवनलाई साँच्चै वरदान मानेका छौँ ? मानवता अङ्गीकृत गरेका छौँ ? उपलब्ध भएको सिङ्गो इतिहास साक्षी छ, जब मानवले आफू सर्वोकृष्ट प्राणी अनुभव गर्न थाल्यो तब नै विभेदको व्यवहार सुरु भयो । यो क्रम निरन्तर चलिरहेको छ ।

प्रारम्भिक विकासक्रममा मानिस नै मानिसको शत्रु थिएन होला । त्यसो भएको भए मानिसको अस्तित्व नरहन पनि सक्थ्यो । मानवजीवनको विकास द्रुत गतिमा हुनु सामाजिकता, सहअस्तित्व, समन्वय, प्रेम र सद्भाव नै मुख्य कारण हो । परिस्थितिबाट सिक्दै र तदनुकूल व्यवहार गर्दै यथार्थमा बाँच्नु मूल मानवीय गुण हो ।

यही गुणले मानिस अर्काको दुःखमा आफ्नै दुःख देख्छ र अर्काको अवसानमा आफ्नै अवसान देख्छ । सही अर्थमा यही हो मानवीय गुण । वास्तवमा अर्कामा आफू देख्नु, सम्मान गर्नु, आदर्श सामाजिक परिस्थिति सृजना गर्नु र त्यसमै रमाउँदै प्रतिकूलतासमेत सामना गर्दै नवीन मार्गहरूको खोजी मानव स्वभाव हो । परम्परा अङ्गीकार र परिष्कार गर्दै मानिस अघि बढेको हो ।

मानव भन्नु नै कोमलता, संवेदना, प्रेम, भावना र चेतना हो । मानिस जस्तो परिस्थितिलाई पनि आफूअनुकूल बनाई सिर्जना, अन्वेषण र उद्यम कायम राख्छ । यही आदर्श गुणले मानवजाति ज्ञानविज्ञानको स्रोत भयो । यसैले मानिस सर्वोकृष्ट प्राणी भयो । आज संसारमा मानवताका यी गुणहरू बलवान छन् । मानिसमा यी गुण नहुने भए यो विश्वको विनास आणविक आविस्कारकै समयमा भइसक्ने थियो ।

‘वसुधैव कुटुम्बकम्’ भाव जीवित छ । हामी मानव भएर बाँच्न पाउनुमा सन्तोष गर्ने यो एउटा पाटो हो ।

यसको अर्को पाटो भने विपरित छ । जब मानिसले प्रकृतिको अत्यधिक दोहन सुरु ग¥यो तब प्राकृतिक सन्तुलनमा असर पर्न थाल्यो । औद्योगिक क्रान्ति नै त्यसको सुरुआत हो । समाज विकाससँगै सामाजिक विभेद पनि सुरु भयो । बलिया र निर्धा, धनी र गरिब हुँदै जातको विभेद बढ्दै गयो । राज्य प्रणालीको सुरुआत नै बलियाको बल प्रयोगबाट भयो ।

समाजमा बलियाले निर्धामाथि शासन बढाउन थाल्यो । इतिहास बलियाकै पक्षमा गयो । यससँगै मानवता कमजोर हुँदै गयो । विश्व इतिहासमा युद्धको कथा प्रधान बन्न थाल्यो । क्रुर अत्याचारीहरू र युद्धबाट बाँच्न नयाँ थातथलो खोजी हुँदै मानव बसोबास बिस्तार हुँदै गयो । राज्यहरू पनि सोहीअनुसार विकास हुँदै गए ।

आज जो सपना बुन्न जान्दछ, झुक्याउन जान्दछ, बलमिच्याइँ गर्न जान्दछ र हतियार जोहो गर्न सक्दछ उसैले प्राकृतिक सम्पदाको असीमित दोहन गरेको छ । शक्तिशाली पनि उही छ, सफलताको कथा उसैको लेखिँदैछ । शक्तिहीनहरू लेखनदास भएका छन् ।

बिस्तारै सञ्चारजगत इतिहास लेखक भएको छ । आजका समाचार नै भोलिका लागि इतिहास हो । हामीले आज सम्प्रेषण गरेको समाचारका तथ्यहरूको फेहरिस्त इतिहास भएर रहनेछ । सञ्चारजगत देशकाल र परिस्थितिलाई यथार्थमा प्रतिविम्बित गर्ने ऐना हो । ऐना सफा भएन भने प्रतिविम्ब प्रष्ट देखिँदैन । यो ऐनाको निरन्तर सफाइ जरुरी छ । सञ्चारकर्मीहरू विवेकी, अनुशासित र मर्यादित हुन आवश्यक छ ।

के सञ्चारकर्मीहरू वास्तवमा युगको आवश्यकता अनुकूल सुशिक्षित, कार्यकुशल र प्रस्तुतिमा दक्ष छन् त ? सूचनाको संवेदनशीलता हृदयङ्गम गरेका छन् त ?

कुनै राज्य विषेश, क्षेत्र विशेषको कुरो होइन । समग्रमा संसारभर समाचार सम्प्रेषणमा मिल्दाजुल्दा समस्याहरू छन् । विश्वमा चर्चित समाचार संस्थाहरू आफैँमा वाद र राजनीतिमा विभाजित छन् । अधिकांश समाचार संस्थाहरू व्यक्तिका प्रशंसामा दौडेका देखिन्छन् । शक्तिका पछाडि देखिन्छन् । सञ्चारजगतको स्वतन्त्रता र निष्पक्षतामा खोट देखिन थालेको छ ।

धन, मान, शक्ति वा निजी स्वार्थमा स्वतन्त्र पत्रकारिता फस्टाउँदैन । पत्रकारिता व्यवसाय होइन, सेवाक्षेत्र हुनुपर्छ यो शिक्षणजस्तै पवित्र सेवा हुनुपर्छ । सेवामा नाफा नोक्सानको कुरो हँुदैन । सेवा निष्पक्ष र विभेदरहित हुन्छ । सेवाभावमै ‘सत्यमेव जयते’ हुन्छ ।

सञ्चारजगत सूचनाको संवाहक हो । सञ्चारले घटनाहरूलाई आमजनमानसमा सम्प्रेषण गरेर सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक क्षेत्र चलायमान राख्छ । सञ्चारजगत समन्वयकर्ता चाहिँ होइन ।

कहिलेकाहीँ समाचार भनेकै दुःखको संवाहक हो कि भन्ने पनि लाग्छ । समाचार भनेको यर्थाथको सूचना हो र समाजको आवश्यकता हो । यसो हुन नसके कमजोरी मान्नुपर्छ ।

सञ्चारजगतले आफूभित्रका कमजोरी खोतल्नु पर्छ र प्वालहरू पनि आफैँ टाल्नु पर्छ । पत्रकारिता छिद्रान्वेशी पनि हुन्छ । म आफैँ पनि सम्पादन समूहको सदस्य भएको हुनाले यस्तो देख्छु । सेवामा आनन्द पनि छ, पहिचानको आनन्द, सेवाको आनन्द । सञ्चारजगत समाज, देश र सिङ्गो विश्वका लागि पहरेदार हो ।

पहरेदारमा भय हुनु हुँदैन । भययुक्त पहरेदारले जिम्मेवारी पूरा गर्न सक्दैन । सेवा स्वतन्त्र र निष्पक्ष हुँदैन । त्यसैले त सञ्चारजगतमा एउटै घटनाको रङ्ग र तरङ्ग फरक पर्छ । दृष्टिकोण फरक हुनु र घटनाको रङ्ग अलग अलग देख्नु फरक कुरा हो । सञ्चारले उत्पन्न गर्ने तरङ्गबाट समाज प्रभावित हुन्छ ।

आज समाज सञ्चारको नकारात्मक तरङ्गबाट बढी तङ्गित छ । सञ्चारजगत समाजमा पहरेदार र सामाजिक चेतनाको अभियन्ता हो । सञ्चारजगतले समाज जगाइरहन्छ र राज्यको निगरानी गरिरहन्छ । यसकारण घटनाहरूको जिम्मेवारीपूर्ण सम्प्रेषण आवश्यक पर्छ । सञ्चारजगत विभाजक होइन संयोजक बन्नुपर्छ । नकारात्मक होइन सकारात्मक भाव सम्प्रेषण गर्नुपर्छ ।

जब संकटको अवस्था आउँछ तब सूचनाको महत्व प्रकट हुन थाल्छ । यस बेला कोभिड–१९ संकटले सारा विश्व आक्रान्त छ । मानिसहरू घरमा बन्दी छन् । मृतक आफन्तको अन्तिम विदाइ गर्न पाएका छैनन् । टाढैबाट मुकदर्शक बन्न बाध्य छन् । यस अवस्थाको सबैभन्दा प्रिय र भरपर्दो साथी सञ्चारजगत नै हो । सञ्चारजगत विश्वासपात्र भएर प्रिय बनेको पनि होइन । यसले आशाको दियो बाल्न खोज्ने भएकाले भरोसा भएको हो । आजको आवश्यकता भविष्यप्रतिको आशा, भरोसा विश्वासको हो । यसको संवाहक स्रोत सञ्चारजगत हो । यस अर्थमा सञ्चारसित आममानिसको भावना जोडिएको छ । सूचनाअनुसारको मानसिकता बन्ने गरेको छ ।

सञ्चारकर्मीहरू सधैँ अवसर चुनौतीको दोसाँधमा हुन्छन् । सूचनाले मानवहृदयमा संवेदना जागृत गर्न सक्नुपर्छ । यस बेला मानवमस्तिष्क विचलित छ । विचलित अवस्था साह्रै संवेदनशील हुन्छ । यस्तो समयमा समाचारले उल्टो परिणाम दिनु हुँदैन । समाचारले तर्साउनु हुँदैन ।

कोभिड–१ को सन्त्रासबाट हामी कहिले मुक्त हौँला, यसको सामाजिक आर्थिक, राजनीतिक असर के होला, अनि यसको दीर्घकालीन परिणाम के होला भन्ने अनेक अड्कलबाजीहरू हुन थालेका छन् । यथार्थमा कोभिड–१९ ले मानवजातिले जति वैज्ञानिक विकास गरे पनि साँचो अर्थमा अझै आफूलाई सुरक्षित गर्न सकेको रहेनछ भन्ने प्रष्ट पारिदिएको छ ।

टाढाको कुनै नक्षत्रमा पनि आशाको किरण नझल्किएको यो अवस्थामा सञ्चारजगत एउटा माध्यम हो । हामीसँग मानवसभ्यताको इतिहास साक्षी छ, कुनै पनि संकट चिरस्थायी छैन । सशक्त ज्ञान र सञ्चार नभएको समयमा पनि मानिसले अनेक विपद् पार लगाउँदै आएको हो । फरक के छ भने संसार आजको जसरी एउटा गाउँको रूपमा जोडिएको थिएन । विपद्ले सीमित ठाउँमा प्रभाव बनाउँथ्यो जति क्षति पु¥याए पनि त्यहीँ सकिन्थ्यो ।

आज संसार एउटा गाउँ भएको छ । मानिस चौबीस घण्टाभित्र पृथ्वीको एक कुनाबाट अर्को कुनामा पुगिसक्छ । संसारको एक कुनाको खबर सेकेण्डमै अर्को कुनामा पुग्छ । यसैकारण आज मानवता प्रवद्र्धन अति जरुरी भएको छ । विश्वबन्धुत्व प्रवद्र्धन जरुरी भएको छ । वसुधैव कुटुम्बकम जरुरी भएको छ । ‘बाचौँ र बाँच्न देऔँ’ को फैलावट जरुरी भएको छ ।

जीवनको यथार्थ र सत्य अनुभूति गराउने र मानव सभ्यताका सफलताका प्रमाणहरू प्रस्तुत गरेर समाजमा शक्तिको सञ्चार गराउन सक्ने सञ्चारजगतले नै हो । विपत्तिबाट सिकेका ज्ञानले मानिस आजको सभ्यतामा आइपुगेको हो । हाम्रा आदर्श जीवनदर्शनको प्रचारप्रसार आजको आवश्यकता हो ।

कोभिड–१९ को सन्त्रासले छियाछिया पारेको हृदयमा आशाको ज्योति छर्ने काम सञ्चारजगतले मात्र्र गर्न सक्छ । आजको दायित्व पनि यही हो । आजको युगमा मानवहृदयमा द्रुत गतिमा बन्धुत्वको उत्प्रेरणा जागृत गराउने पनि सञ्चार जगतले नै हो ।

मृत्युमा विजयप्राप्ति सम्भव छैन तर अभय सम्भव छ । संकटमा बाँच्नका लागि मानवीय प्रेम र उत्प्रेरणा आवश्यक पर्छ । घटनाबाट सिक्दै मानिस आजको युगमा आइपुगेको हो । यो क्रम अवश्य रोकिने छैन । आँधी–तुफान त आइरहन्छ । विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम्मा जीवनको सार्थकता खोजौँ । प्रकृतिमाथि विजयको प्रयास अनिष्टकारी साबित भइसकेको छ । शुभम् ।

(लेखक अमेरिकाको अकामाई युनिभर्सिटी र युक्रेनको समी स्टेट युनिभर्सिर्टीमा पढाउँछन् ।)

प्रतिक्रिया