युक्रेनको राजधानी किभमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म रुसले अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको छ। यो हमलामा २३ जना मानिस घाइते भएका छन् भने राजधानीका धेरै ठाउँमा क्षति पुगेको छ।
युक्रेनको हवाई सेनाका अनुसार, रुसले एकै रातमा युक्रेनभरि ५५० वटा मानव रहित यान (ड्रोन) र क्षेप्यास्त्र (मिसाइल )प्रहार गर्यो। यसमध्ये धेरैजसो ‘शाहिद’ मानव रहित यान (ड्रोन )थिए भने रुसले ११ वटा क्षेप्यास्त्र (मिसाइल )पनि प्रयोग गरेको थियो।
रातभरि, किभमा रहेका एसोसिएटेड प्रेसका पत्रकारहरूले मानव रहित यान (ड्रोन)हरूको लगातार आवाज, विस्फोटको आवाज र तीव्र बन्दुकहरुको आवाज सुनिरहेका थिए । यता युक्रेनी सेनाले हवाई हमला रोक्न प्रयास गरिरहेका थिए।
यस हमलाको मुख्य निशाना राजधानी किभ नै थियो। नगर प्रमुख भिटाली क्लित्च्कोका अनुसार कम्तीमा २३ जना घाइते भएका छन् भने १४ जनालाई अस्पताल भर्ना गरिएको छ । युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले २७० वटा निशाना खसाल्यो, जसमा दुईवटा समुन्द्री क्षेप्यास्त्र (क्रुज मिसाइल )पनि थिए। अरू २०८ वटा निशाना राडरबाट हराए ।
रुसले नौ वटा क्षेप्यास्त्र र ६३ वटा मानव रहित यानले आठ ठाउँमा सफलतापूर्वक प्रहार गर्यो। खसालिएका मानव रहित यानका टुक्राहरू कम्तीमा ३३ ठाउँमा खसेका थिए।
यो हमला राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दूरवार्ता (फोन)मा कुरा गरेर आफ्नो प्रशासनले युक्रेनलाई केही हतियारको ढुवानी रोक्ने निर्णयबारे पहिलो पटक सार्वजनिक टिप्पणी गरेको केही घण्टापछि भएको हो।
यो निर्णयले पेट्रियट क्षेप्यास्त्र ,एआईएम-७ स्प्यारो हावाबाट हावा क्षेप्यास्त्र र छोटो दूरीका क्षेप्यास्त्रहरू जस्ता हतियारहरूलाई असर गर्छ। यी क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन)हरूलाई रोक्न र रुसी विमानहरू खसाल्न आवश्यक छन्।
रुसको पछिल्लो सबैभन्दा ठूलो हवाई हमला भएको एक हप्ता पनि पुगेको छैन। आपतकालीन सेवाहरूले राजधानीका १० जिल्लामध्ये कम्तीमा पाँचवटामा क्षति भएको बताएका छन्। सोलोमियान्स्की जिल्लामा एउटा पाँच तले आवासीय भवन आंशिक रूपमा ध्वस्त भयो र एउटा सात तले भवनको छतमा आगो लाग्यो।
प्रतिक्रिया