ट्रम्पको ऐतिहासिक घोषणाहरू: कर कटौतीदेखि ह्वाइट हाउसमै युएफसि भिडन्तसम्म

इनेप्लिज २०८२ असार २० गते ९:२१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवाको डे मोइनमा भएको भेलामा बिशाल कर र नीतिसम्बन्धी विधेयक पारित भएकोमा खुसी मनाए।

उनले भने, “केही घण्टा अघि संसदले ‘एक बिशाल, सुन्दर बिधेयक ’ पारित गरेर अमेरिकालाई फेरि महान बनाउने जुन शानदार जित हासिल गर्‍यो, त्यो अमेरिकाको लागि सबैभन्दा राम्रो जन्मदिनको उपहार हो।”

ट्रम्पले भने यो विधेयकमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कर कटौती, सबैभन्दा ठूलो खर्च कटौती, र सीमा सुरक्षामा सबैभन्दा ठूलो लगानी समावेश छ।

उनले प्रशासनको चर्चा गर्दै भने गत महिना हाम्रो सिमानाबाट एक जना पनि मानिस आएनन् ।

ट्रम्पले यो कानूनको पक्षमा कुनै पनि डेमोक्र्याटले मत नदिएको बताए। उनले अगाडी भने, “हामीले कर कटौती र हाम्रो सेनाको पुनर्निर्माणका लागि यति धेरै काम गर्‍यौं, तर एक जना पनि डेमोक्र्याटले हाम्रो लागि मत दिएनन्।

हामीले आउँदै गरेको मध्यवर्ती चुनावमा यसलाई प्रयोग गर्नुपर्छ, किनकि हामीले उनीहरूलाई हराउनु पर्छ… हामीले यति धेरै कुरा दियौं र उनीहरूले मत दिएनन् किनभने उनीहरू ट्रम्पलाई घृणा गर्छन्। तर म पनि उनीहरूलाई घृणा गर्छु।”

आयोवामा बोल्दै, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक स्थलहरूमा हालै गरेको अमेरिकी हमला र त्यसपछि बिशाल बिधेयकको पारित हुनु “उत्तम दुई हप्ता” भएको बताए।

हमलाहरुले इरानको आणविक सुविधाहरूको “पूर्ण विनाश” गर्‍यो । हमला गर्ने बि-२ बमबर्षक विमानका बिमानचालकहरू शुक्रबार जुलाई ४ को छुट्टीको लागि ह्वाइट हाउस भ्रमण गर्ने तयारीमा छन् ,उनले भने । उनले १४ वटा बम खसालेको प्रसङ्ग पनि ल्याए ।

अमेरिकाको २५० औं जन्मोत्सवका लागि ह्वाइट हाउसको चौरमा मार्शल आर्ट्स अर्थात् यूएफसी भिडन्त हुने घोषणा पनि गरे ।

शुक्रबार आयोवामा भएको आफ्नो भेलामा ट्रम्पले “अमेरिका २५०” को सुरुवात गर्दै आगामी वर्ष अमेरिकाको २५० औं जन्मोत्सव मनाउनका लागि हुने केही कार्यक्रमहरूको झलक दिए।

प्रतिक्रिया