म्यानमारमा गत मार्च २८ मा गएको ७.७ परिमाण (रेक्टर स्केल)को शक्तिशाली भूकम्पले हालसम्म ३,५६४ जनाको मृत्यु पुगेको छ । पछिल्लो अध्यावधिक अनुसार ५,०१२ जना घाइते छन् भने २१० जना अझै हराइरहेका छन्।
यस भूकम्पले राजधानी सहित छ वटा क्षेत्र र राज्यहरूमा गम्भीर क्षति पुर्याएको छ ।
सरकारी संचार माध्यम एमआरटिभीका अनुसार देशभर एक साता भारी वर्षा, चट्याङ, हावाहुरी, असिना पानी र पहिरोको सम्भावना रहेको छ । जनतालाई सतर्क रहन आह्वान गरिएको छ। तापक्रम हप्ताको मध्यतिर ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ।
भूकम्पपछि विद्युत्, दूरभाष (फोन), घुम्तीयन्त्र संजाल (मोबाइल नेटवर्क )ठप्प हुँदा उद्धारकार्यमा ठूलो समस्या परेको छ। सडक र पुलहरू भत्किँदा आपूर्ति र राहत पु¥याउन गाह्रो भइरहेको छ।
म्यानमार रेस्क्यु फेडेरेसन (मण्डाले ) का एक अधिकारीका अनुसार भारी वर्षाका कारण शनिबार र आइतबार उद्धारमा प्रयोग गरिने विद्युतीय उपकरणहरू रोक्नु परेको थियो, जसले खोज तथा उद्धार कार्य अझ कठिन बनाएको छ।
मण्लेडामा केही भवनहरू वर्षा र हुरीका कारण थप भत्किएपछि आश्रय लिनेहरूलाई झनै समस्या परेको छ। इरावाडी समाचार संस्थाका अनुसार मण्लेडाको ग्रेट वाल होटल(अतिथिगृह)को भग्नावशेषमा ८० शव फेला परेका छन् ।
सैन्य सरकारका अनुसार ५,२२३ भवन, १,८२४ विद्यालय, २,७५२ गुम्बा, १६७ अस्पताल, १९८ बाँध र १८४ सडक खण्डमा क्षति पुगेको छ। सन् २०२१ मा सेनाले सत्ताको नियन्त्रण लिएपछि देशमा नागरिक द्वन्द्व चलिरहेको छ, जसले राहत कार्यलाई झनै जटिल बनाएको छ।
प्रतिक्रिया