चीनको नौसेनाले दक्षिण चीन सागरमा रहेको विवादित स्कारबोरो शोएल ( चट्टानी क्षेत्र)नजिक “लडाइँ तयारी गस्ती”गरेको छ।
चिनियाँ सरकारी समाचार संस्था शिन्ह्वाका अनुसार पीपुल्स लिबरेशन आर्मी( जनमुक्ति सेना)का सेनापतिले मे महिनाभरि उक्त क्षेत्र जसलाई चीन “ह्वाङयान द्वीप” भन्छ , त्यस क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।
चीनले यो अभ्यास आफ्नो “समुद्री र हवाई सम्प्रभुता र सुरक्षा जोगाउन” गरेको दाबी गरे पनि फिलिपिन्सले यसलाई उक्साहटपूर्ण गतिविधि मानेको छ। सन् २०१२ मा चीनले परम्परागत माछा मार्ने क्षेत्र मानिएको समुन्द्री चट्टान क्षेत्र (स्कारबोरो शोएल)लाई फिलिपिन्सबाट कब्जा लिएको थियो। यो द्वीप लुजोन टापुबाट करिब २२० किलोमिटर पश्चिममा पर्छ।
अल जजिराका अनुसार सन् २०१६ मा अन्तर्राष्ट्रिय न्यायाधिकरण( ट्राइब्यूनल)ले चीनको दाबीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार आधारहीन ठहर गरेको भए पनि चीनले लगभग सम्पूर्ण दक्षिण चीन सागरमा आफ्नो स्वामित्व दाबी गर्दै सैन्य गतिविधिहरू जारी राखेको छ।
अप्रिलको अन्त्यमा चीनको नौसेनाले स्कारबोरो शोएल नजिकै फिलिपिन्सको तटरक्षक जहाजमा पानी फ्याँक्ने तोप प्रहार गरेर क्षति पुर्याएको भन्दै मनिलाले “खतरनाक गतिविधि” र “अवरोध” को आरोप लगाएको थियो।
प्रतिक्रिया