अध्यावधिक गरिएको : म्यानमार भूकम्प: मृत्यु संख्या ३,००० नाघ्यो, ४,७१५ जना घाइते र सयौँ बेपत्ता

इनेप्लिज २०८१ चैत २० गते १०:३६ मा प्रकाशित

अध्यावधिक गरिएको : गत हप्ता म्यानमारमा आएको ७.७ रेक्टर स्केल(परिमाण)को शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३,०८५ पुगेको छ। म्यानमारको सैन्य सरकारले बिहीबार बिहान जारी गरेको अध्यावधिक अनुसार ४,७१५ जना घाइते भएका छन् भने ३४१ जना अझै बेपत्ता छन्।

गत शुक्रबारको भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो सहर मण्डले नजिक रहेको थियो। बिनाशकारी भुकम्पको कारण देशभर ठूला क्षति भएका छन्, हजारौँ भवनहरू ध्वस्त भएका छन्, सडक र पुलहरू भत्किएका छन्।

भूकम्पले छिमेकी देश थाइल्याण्डलाई समेत असर गरेको छ । बैंककमा मात्रै २२ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ३५ जना घाइते भएका छन्। अधिकांश मृत्यु एक निर्माणाधीन अग्लो भवन भत्किनुको कारणले आफ्नो ज्यान गुमाएका हुन् ।

बैंककका अधिकारीहरूले अझै ७२ जना बेपत्ता रहेको जानकारी दिएका छन्। उद्धार टोलीहरू दिनरात खोजी तथा उद्धार कार्यमा जुटेका छन्। सात दिन बितिसकेको अवस्थामा पनि केही जीवित भेटिने आशा गरिएको छ।

शहर प्रशासनले बिहीबार वर्षा हुने सम्भावना रहेको बताउँदै त्यसले खोजी तथा उद्धार कार्यमा थप अवरोध पुर्याउन सक्ने चिन्ता व्यक्त गरेको छ।

“हामी कुनै चमत्कारको आशा गरिरहेका छौँ,” प्रशासनले सामाजिक संजाल अध्यावधिक( अपडेट)मा उल्लेख गरेको छ।

प्रतिक्रिया