म्यानमारमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १,६०० नाघेको छ। देशको सैन्य प्रशासनले सरकारी दूरदर्शनमार्फत मृत्यु संख्या औपचारिक रूपमा घोषणा गरेको हो।
यसअघि १,००२ जनाको मृत्यु पुष्टि भएको थियो, तर पछिल्लो विवरण अनुसार यो संख्या १,६०० भन्दा माथि पुगेको छ। घाइतेको संख्या ३,४०८ पुगेको छ भने हालसम्म १३९ जना हराइरहेका छन्।
म्यानमारको मन्डाले शहरमा भत्किएको आवासगृह (अपार्टमेन्ट )भवनको भग्नावशेषबाट दुई सन्तानकी आमा फ्यु ले खाइङलाई जीवितै उद्धार गरिएको छ।
भूकम्प गएको करिब ३० घण्टापछि उनलाई भग्नावशेषबाट निकालिएको हो। उनलाई बाहिर निकाले पछि उनका श्रीमानले उनलाई भावुक हुदै अँगालो हाले।
“सुरुमा म उनले बाँच्ने आशा गर्न सक्दिनथेँ,” उनका श्रीमानले एएफपीलाई भने। “तर जब उनलाई जीवित देखेँ, म अत्यन्त खुसी भएँ।”
एएफपीका अनुसार, भग्नावशेषमा अझै ९० भन्दा बढी मानिस फसेका हुनसक्ने अनुमान गरिएको छ।
शुक्रबार गएको ७.७ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्पले म्यानमारमा व्यापक क्षति पुर्याएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार, यो भूकम्प म्यानमारमा एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली हो।
संयुक्त राष्ट्रसंघका अनुसार, भग्नावशेष र क्षतिग्रस्त सडकहरूले उद्धार तथा राहत कार्यमा बाधा पुर्याइरहेका छन्।
म्यानमारका केन्द्र तथा उत्तरपश्चिमी क्षेत्रहरू मन्डाले, म्यागवे, ने पि त, र सागाइङका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचार गर्न संघर्षरत छन्। साथै, आवश्यक चिकित्सा सामग्री तथा अन्य औषधिहरूको अभावले थप जटिलता निम्त्याएको छ।
प्रतिक्रिया