बैंककका भवनहरूमा २,००० भन्दा बढी संरचनागत चर्किएको फेला परेका छन् । शनिबार क्षेत्रीय गभर्नर चाडचार्ट सिट्टिपुन्टले उक्त जानकारी दिँदै ७०० भवनको विस्तृत निरीक्षण गर्ने योजना रहेको बताए।
“हामीले सुरक्षा पहिलो प्राथमिकतामा राखेका छौं,” चाडचार्टले वक्तव्यमा भने। यद्यपि, निर्माणाधीन भवन भत्किए पनि बनिसकेका भवनमा कुनै ठूलो क्षति नभएको उनले उल्लेख गरे।
शुक्रबार म्यानमारमा आएको ७.७ परिमाण (म्याग्निच्युड)को भूकम्पपछि बैंकक नजिकैको चाटुचाक पार्कमा निर्माणाधीन भवन भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ हराइरहेका छन्।
चर्किएको धेरैजसो विवरणहरु भीडभाडयुक्त क्षेत्रबाट आएका छन् जहाँ अग्ला भवनहरू रहेका छन्। सोमवारदेखि काम गर्ने भवनहरूको सुरक्षा सुनिश्चित गर्न निरीक्षण कार्य सप्ताहन्तमा तीव्र पारिने उनले बताए ।
भत्किएको भवनमा उद्धारकर्मीहरूले १५ जना जीवित रहेको संकेत देखिएको जानकारी दिएका छन्। “ढिलाइ नगर्नुहोस्, रोकावट नगर्नुहोस् – प्रत्येक सेकेन्ड महत्वपूर्ण छ,” चाडचार्टले भने। भत्किएको संरचनाबाट भग्नावशेष हटाउन भारी उपकरणहरू परिचालन गरिएको छ।
म्यानमारमा शुक्रबारको शक्तिशाली भूकम्पले १,००२ जनाको मृत्यु र २,३७६ जनालाई घाइते बनाएको छ।
कयौँ देशहरूले उद्धार टोली म्यानमार पठाएका छन्। चीनले १०० मिलियन युआन (१३ मिलियन) मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। म्यानमारले अन्तर्राष्ट्रिय सहयोग मागेपछि चीन पहिलो उद्धार टोली पठाउने देश बनेको हो।
प्रतिक्रिया