“ट्रम्पलाई हत्या गर्ने धम्की दिएको आरोप झूटो साबित: आप्रवासीको नाममा षड्यन्त्र, अनुसन्धानले खोलेको रहस्य”

इनेप्लिज २०८२ जेठ १७ गते १:३२ मा प्रकाशित

वाशिङ्टन डीसी– अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टि नोएमले सामाजिक सञ्जालमार्फत एक झस्काउने दाबी गरिन् । सिएनएनका अनुसार उनले एक अवैध आप्रवासीले राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिएको पत्र लेखेको र उनलाई पक्राउ गरिएको भनिन् , तर पछिल्लो अनुसन्धानले यो दाबी झूटो भएको देखाएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार ५४ वर्षीय रामोन मोरालेस रेयेसले यस्तो पत्र कहिल्यै लेखेका थिएनन्। बरु, उनी आफैँ एक आपराधिक षड्यन्त्रको शिकार भएका थिए। अधिकारीहरूको भनाइमा, यो पत्र कसैले जानीजानी लेखेर रेयेसको नाममा पठाएको थियो, ताकि उनलाई अमेरिकाबाट निष्कासन गराएर उनी साक्षी रहेको डकैती र आक्रमणको मुद्दा विफल बनाइयोस्।

पत्रमा लेखिएको थियो: “म आफैँ मेक्सिको फर्कनेछु , तर त्यसअघि ट्रम्पको टाउकोमा गोली हान्नेछु।” तर हस्तलेखन परीक्षण तथा कारागारभित्र गरिएका दूरवाणी (फोन)हरूका आधारमा अधिकारीहरूले रेयेसलाई निर्दोष ठहर गरेका छन्।

मिल्वाकी प्रहरीले यो घटनालाई ‘पहिचान चोरी’ र ‘साक्षीमाथि दबाब’ सम्बन्धी अपराधका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। तर हालसम्म कसैलाई आपचारिक रूपमा मुद्दा लगाइएको छैन।

रेयेसमाथि राष्ट्रपतिलाई धम्की दिने कुनै आरोप लगाईएको छैन। यस घटनाले आप्रवासी समुदायमा झूटा आरोपमार्फत दुरव्यवहार र न्यायमा हस्तक्षेपको सम्भावना कति खतरनाक हुन सक्छ भन्ने कुरामा गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया