प्रख्यात कालीबाबा बाल्टिमोरमा

इनेप्लिज २०८२ जेठ १७ गते ९:५० मा प्रकाशित

हिन्दू धर्मका प्रसिद्ध साधक कालीदास बाबा बाल्टिमोर आउनु हुने भएको छ। कालीबाबाको रुपमा नेपाल र भारतमा ख्याती कमाउनु भएका बाबा शनिवार र आइतवार बाल्टिमोरमा रहनु हुने बाबाको भ्रमण व्यवस्थापन गरिरहेका स्थानीय आयोजकहरुले जानकारी दिएका छन्।

नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगाको तत्कालीन बर्नालु गाविसमा सन् १९५१ मा जन्मनु भएका बाबा कालीदासले भारतबाट ज्ञान र काली माताबाट सिद्धि प्राप्त गर्नु भएको छ। भारतका विभिन्न स्थानमा बाबाका धामहरु रहेका छन्। बाबाको हरियाणा राज्यको साम्प्लामा बाबाको धाम रहेको छ। भारतको आसाममै बाबाले श्री शिवशक्ति मन्दिर ट्रष्ट संचालन गर्नु भएको छ भने बाबा कालिदास परोपकार सोसाईटीमार्फत मानव सेवाको क्षेत्रमा बाबाले योगदान गरिरहनु भएको छ। यसैगरी बाबा कालीदास परोपकार अस्पताल स्थापना गरेर बाबाले नि:शुल्क उपचारको सेवा पनि प्रदान गरिरहनु भएको छ। यसैगरी मठ,मन्दिर र गौशाला निर्माण गरेर बाबाले हिन्दू धर्म र मानवताको क्षेत्रमा निरन्तर सेवा गर्दै आउनु भएको छ।

बाबाले २४ सै घण्टा विश्व शान्ति अखण्ड महायज्ञ लगाई रहनु भएको छ। विश्व शान्ति, मानवता, भाइचारा र हिन्दू धर्मको प्रचारमा बाबा सक्रियतापूर्वक लाग्नु भएको छ।

कालीमाताबाट ज्ञान र दीक्षा प्राप्त गर्नु भएका बाबा अन्न अनाज केही खानु हुन्न। केवल नरिवलको पानी पिएर हिन्दू धर्म र अध्यात्मको माध्यमबाट उहाँ विश्व शान्तिको कामनासहित मानव सेवामा समर्पित हुनुहुन्छ। सिद्धयोगी महामण्डलेश्वर स्वामी श्री १००८ बाबा कृष्णानन्द कालीदास स्वामी परमहंस गुरुज्यूको रुपमा सम्मानित कालीबाबाले बनारस हिन्दू विश्व विद्यालयबाट हिन्दू धर्म र दर्शनमा स्तानकोत्तर तहको अध्ययन पुरा गर्नु भएको छ।

हाल अमेरिकामा रहनु भएका बाबा टेक्सास, कोलोराडो, जर्जिया, न्यूजर्सी हुँदै शुक्रवार राती बाल्टिमोर आइपुग्नु हुनेछ। बाल्टिमोर भ्रमणको व्यवस्थापन गरिरहेका स्थानीय व्यवसायी बिनोद उप्रेतीका अनुसार बाबा शनिवार र आइतवार बाल्टिमोरमा रहनु हुनेछ। बाल्टिमोरमा रहंदा उहाँले आफ्ना शुभेच्छुक र हिन्दू धर्मका अनुयायीहरुलाई प्रवचन दिने र आशीर्वचन दिने कार्यक्रम तय गरिएको छ। बाल्टिमोरमै रहेका पत्रकार एवं स्थानीय आयोजक मध्येका एक गौतम दाहालले दिनुभएको जानकारी अनुसार, कालीबाबाको सम्मान र स्वागतमा शनिवार बिहान १० बजेदेखि मध्यान्हसम्म स्थानीय हिन्दू-बुद्ध मन्दिरमा आयोजना हुने कार्यक्रममा बाबा सहभागी हुनुहुनेछ। यसैगरी अन्य हिन्दू मन्दिरमा समेत बाबालाई दर्शनका लागि लैजाने तयारी छ।

बाबा सोमवार बिहानै बाल्टिमोरबाट फ्लोरिडा उड्नु हुनेछ। बाबाको बाल्टिमोरमा आयोजना हुने भक्तजनसंग हुने भेटघाट कार्यक्रमको व्यवस्थापन हिन्दु-बुद्ध मन्दिरका संचालकहरुले गरिरहेको र आफुहरुले त्यसको समन्वय गरिरहेको व्यवसायी विनोद उप्रेतीले बताउनु भएको छ।

कालीबाबासंग भेटेर आशीर्वचन लिन इच्छुक भक्तजन र शुभचिन्तकहरुलाई शनिवार बिहान स्थानीय हिन्दू-बुद्ध मन्दिरमा उपस्थित हुन पनि आयोजकद्वय गौतम दाहाल र विनोद उप्रेतीले अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया