सर्वोच्च अदालतको निर्णयद्वारा ट्रम्प प्रशासनलाई क्यूबा र हैटी आप्रवासीको संरक्षण अन्त्य गर्न बाटो खुला 

इनेप्लिज २०८२ जेठ १७ गते १५:२८ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई क्यूबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट आएका करिब पाँच लाख आप्रवासीलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति दिने बाइडेन-युगको “परोल कार्यक्रम”  अर्थात अस्थायी प्रवेश अनुमति निलम्बन गर्न अनुमति दिएको छ।

यो मे महिनामा दोस्रो पटक हो जब सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको प्रशासनलाई आप्रवासीहरूको अस्थायी कानुनी स्थिति फिर्ता लिन सहयोग पुर्‍याएको हो। यसअघि, अदालतले भेनेजुएलाली आप्रवासीहरूलाई दिइएको काम गर्ने अनुमति पनि हटाउन ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको थियो।

अदालतको निर्णय संक्षिप्त रूपमा जारी गरिएको सिएनएनले जनाएको छ  । र, यसमा हस्ताक्षर गरिएको छैन। तर दुई उदारवादी न्यायाधीशहरू सोनिया सोतोमयोर र केतान्जी ब्राउन ज्याक्सनले यस निर्णयको विरोध गरेका छन्।

यद्यपि यो “आपत्कालीन निर्णय” अन्तिम नभए पनि र मुद्दा अझै तल्लो अदालतमा चलिरहनेछ, यस आदेशले राष्ट्रपति ट्रम्पको प्रशासनलाई ती आप्रवासीहरूको छिटो डिपोर्टेसन प्रक्रिया अघि बढाउन अनुमति दिनेछ।

यो कदमले अमेरिका भित्र रहेका हजारौं क्यूबाली र हैटीका  आप्रवासीहरूलाई प्रत्यक्ष असर गर्ने देखिएको छ।

प्रतिक्रिया