वासिङ्टन — अमेरिकी रक्षा सचिव पीट हेगसेथको निर्देशन अनुसार परालैङ्गिक (ट्रान्सजेन्डर) सैन्य सदस्यहरूले आउँदो हप्ता जुन ६ भित्र स्वेच्छाले सेवा त्याग्नुपर्नेछ।
त्यसपछि उनीहरूलाई जबरजस्ती सेनाबाट हटाउने प्रक्रिया सुरु गरिनेछ।
सीबीएस न्यूजद्वारा प्राप्त दस्तावेज अनुसार अमेरिकी सेनाले परालैङ्गिक (ट्रान्सजेन्डर) सैनिकहरूसँग कसरी व्यवहार गर्ने भन्ने बारे नयाँ मार्गनिर्देशन जारी गरेको छ। यसमा सैनिकको जन्मसिद्ध लिङ्गको आधारमा व्यवहार गर्न भनिएको छ — चाहे ती उच्च अधिकारी किन नहोस्।
सेनाको नयाँ नीतिअनुसार यदि कसैले आफ्नो पहिचान जन्मको लिङ्गसँग मेल नखाने तरिकाले सामाजिक संजाल वा व्यक्तिगत कुराकानीमा देखाए भने त्यसलाई “लक्षण” मानिन्छ। त्यस्ता लक्षण भेटिएमा सेनापतिले चिकित्सा अभिलेख( मेडिकल रेकर्ड) समीक्षा सुरु गर्नुपर्नेछ।
यद्यपि हेगसेथले फेब्रुअरीमा अदालतमा दिएको दस्तावेजमा परालैङ्गिक सैनिकलाई “सम्मानपूर्वक व्यवहार गरिने” भनेका थिए, उनले मे महिनामा फ्लोरिडामा आयोजित सैनिक सम्मेलनमा भने, “अब केटा केटीको कपडा लगाउने दिन गए, अब त्यस्तो सहिँदैन।”
यस नीति अन्तर्गत नियमित स्वास्थ्य परीक्षणमा पनि सैनिकलाई उनीहरूको लिङ्ग पहिचानबारे सोधिनेछ।
सैन्य इकाइहरुलाई अत्यन्त व्यावसायिक व्यवहार गर्न भनिए तापनि यो नीति परालैङ्गिक समुदायको सामाजिक मान्यतासँग विपरीत देखिन्छ ।
प्रतिक्रिया