
डा. श्याम केसी
भूकम्प, बाढी, आँधी सबै प्राकृतिक हुन्—तर तिनबाट हुने मृत्यु, विनाश र दीर्घकालीन आर्थिक धक्का भने धेरै हदसम्म मानव निर्मित नै हुन्छन्।
एउटै गहिराइ र तीव्रताको भूकम्प उत्तिकै जोखिममा रहेका टोकियो वा सान फ्रान्सिस्कोमा जाँदा त्याँहाका भवनहरू धेरैजसो नढल्ने, क्षति तुलनात्मक रूपमा कम हुने, र पुनर्निर्माण तथा जनजीविका सामान्यीकरण छिटो हुने, तर काठमाडौं जस्ता शहरहरूले भने ठूलो मानवीय तथा आर्थिक क्षति भोग्नुपर्ने -यस्तो किन हुन्छ?
झट्ट सुन्दा, काठमाडौंको यस्तो तुलना टोकियो वा सान फ्रान्सिस्कोसँग गर्दा अव्यवहारिक लाग्न सक्छ, तर यो नगरी किन काठमाडौं बढी जोखिममा रहन्छ बुझ्न पनि सकिन्न। कारण प्रष्ट छः किनकि हाम्रोमा भूकम्प प्रतिरोधको बहस र प्रयास अझै धेरैजसो उद्धार र पुनर्निर्माणमा मात्र केन्द्रित देखिएको छ, जब कि भूकम्पको वास्तविक प्रतिरोध त्यसभन्दा पहिले शुरु हुन पर्छ—खास गरी भूकम्प नआएको समयमा, जसलाई हामी “शान्त अवधि” (peace period) भन्न सक्छौं जुन टोकियो वा सान फ्रान्सिस्को शहरहरूले दशकौँ देखि गर्दै आएका छन्। यही समयमा गरिने गतिविधिले भविष्यमा भूकम्प आएको बखत क्षति घट्छ कि बढ्छ, निर्धारण गर्छ।
हामी हरेक नागरिकहरू यो मौन अवधिमा सजग भएर आआफ्नो तयारी बढाउनै पर्छ। ढोका न ढकढकाई कुनै बेला आउन सक्ने भूकम्पको क्षति न्यूनीकरणको लागि हरदम र निरन्तर चनाखो रहनै पर्छ।
नेपालको सन्दर्भमा निश्चय पनि हामी भूकम्पीय जोखिमबारे अनभिज्ञ छैनौं। इतिहास, विज्ञान, र अनुभव—सबैले हामीलाई जोखिमको संकेत दिइरहेका नै छन्। तर पनि, प्रत्येक ठूलो भूकम्प पछाडि उही कथा दोहोरिन्छ—अत्यधिक क्षति, ढिलो पुनर्निर्माण, र फेरि बिस्तारै बिर्सिने बानी। समस्या केवल स्रोतको अभाव होइन; प्राथमिकता, कार्यान्वयन, र सामूहिक अनुशासनको पनि हो।

किन उही प्रकृतिको भूकम्प टोकियोमा जाँदा तुलनात्मक रूपमा कम क्षति हुन्छ? किन भवनहरू धेरैजसो उभि नै रहन्छन्, र जनजीवन छिट्टै सामान्यीकरण हुन्छन्? यसको जवाफ प्रविधिमा मात्र सीमित छैन; यो नियमको पालनासँग सम्बन्धित छ। जहाँ नियमहरूलाई गम्भीरतापूर्वक लिइन्छ, त्यहाँ जोखिम कम हुन्छ। जहाँ नियमहरूलाई “सम्भव भएसम्म” मात्र मानिन्छ, त्यहाँ जोखिम बढ्छ।
हामीकहाँ भवन निर्माण मापदण्ड छन्, तर तिनको पालना असमान छ। कतै कडाइ, कतै लचकता, कतै पूर्ण बेवास्ता। “अहिले जोगाऔँ, पछि हेरौँला” भन्ने मानसिकता अझै बलियो छ। सानो बचतले ठूलो जोखिम निम्त्याउँछ भन्ने कुरा थाहा हुँदाहुँदै पनि व्यवहार परिवर्तन भएको छैन।
भूकम्प प्रतिरोधको लागि उद्धार र पुनर्निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ, तर आफैमा अपूरो छ। शहरको वास्तविक परीक्षा भूकम्प नआएको समय—“शान्त अवधि”—मा हुन्छ। यही समयमै संरचना बलियो बनाइन्छ, संस्थाहरू तयार गरिन्छ, र व्यवहार सुधारिन्छ। तर दूर्भाग्यबस यही समयको हामी सदुपयोग गर्न सक्दैनौँ। जोखिम देख्दैनौँ।
हामीकहाँ भवन निर्माण मापदण्ड छन्, तर तिनको पालना असमान छ। कतै कडाइ, कतै लचकता, कतै पूर्ण बेवास्ता। “अहिले जोगाऔँ, पछि हेरौँला” भन्ने मानसिकता अझै बलियो छ।
पछिल्ला वर्षहरूमा केही सुधार अवश्य देखिएका छन्। पुनर्निर्माणका क्रममा प्राविधिक मापदण्डबारे चर्चा बढेको छ, स्थानीय तहमा केही क्षमता विस्तार भएको छ, र जनचेतनामा हल्का परिवर्तन आएको पनि छ। तर यी प्रयासहरू धेरै अधुरा र अपुग छन्। शहरहरू विस्तार भइरहेका छन्, तर सबै ठाउँमा जोखिमअनुसार योजना भएको देखिँदैन। पुराना संरचनाहरू अझै ठूलो मात्रामा असुरक्षित छन्। बीमा जस्ता उपायहरू अझै सीमित दायरामा छन्।

भनिन्छ, बढीमा तीन बर्षमा महाप्रलयहरू व्यक्तिको मानसपटलबाट हराएर जान्छन्। हुन पनि हो, हामीले देख्दा देख्दै चर्किएका घरहरूमा आफन्तहरू फर्किसकेका छन्, १२ तला माथिको अपारटमेन्ट अझै सबै भन्दा महँगै छन्, भोलि नै अर्को महाभूकम्प गयो भने कता कहाँ शेल्टर लिने कसैलाई अत्तोपत्तो छैन।

महाप्रलयहरूको याद धमिलो हुँदै गए पनि हामी हरेक नागरिकहरू यो मौन अवधिमा सजग भएर आआफ्नो तयारी बढाउनै पर्छ। ढोका न ढकढकाई कुनै बेला आउन सक्ने भूकम्पको क्षति न्यूनीकरणको लागि हरदम र निरन्तर चनाखो रहनै पर्छ।
लेखकका पुराना लेखहरु पढ्न तल क्लिक गर्नुहोला :
प्रतिक्रिया