रवि–बालेनको संकेत, पुराना दलको चुनौती र नेपाली राजनीतिको नयाँ मोड (संन्दर्भ महाधिवेसन)

इनेप्लिज २०८३ असार ९ गते ०:३५ मा प्रकाशित

अरुण राज सुमार्गी

नेपालको राजनीतिमा समय–समयमा नयाँ शक्ति उदाएका छन्। तर अधिकांश नयाँ शक्तिहरू जनताको आशा बोकेर उदाए पनि संगठनात्मक कमजोरी, नेतृत्वबीचको द्वन्द्व वा स्पष्ट वैचारिक दिशाको अभावका कारण लामो समय टिक्न सकेनन्। यही पृष्ठभूमिमा चार वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई सामान्य राजनीतिक घटनाका रूपमा मात्र हेर्न मिल्दैन। यसले नेपाली राजनीतिमा दशकौँदेखि जमेको शक्ति संरचनालाई चुनौती दिएको छ भने जनताको राजनीतिक मनोविज्ञानमा आएको परिवर्तनलाई पनि उजागर गरेको छ।

कुनै ठूलो आन्दोलनको विरासत नभएको, लामो संगठनात्मक इतिहास नभएको र महाधिवेशनसमेत सम्पन्न नगरेको अवस्थामा रास्वपाले प्राप्त गरेको जनमत नेपाली राजनीतिमा दुर्लभ घटना हो। यसले एउटा सन्देश दिएको थियो । जनता अब केवल विचारधाराको बहसभन्दा पनि परिणाममुखी नेतृत्वको खोजीमा छन्। चितवनमा सम्पन्न भई रहेको रास्वपाको राष्ट्रिय महाधिवेशनलाई यही सन्दर्भमा हेर्न आवश्यक छ। यो केवल एउटा पार्टीको आन्तरिक कार्यक्रम मात्र होईन । बरु नयाँ राजनीतिक शक्तिको सम्भावना चुनौती र भविष्यको परीक्षणस्थल हो । कार्यक्रममा देखिएको जनसहभागिता, राष्ट्रिय राजनीतिका विभिन्न पात्रहरूको उपस्थिति तथा त्यहाँ व्यक्त गरिएका अभिव्यक्तिहरूले नेपाली राजनीतिमा विकसित भइरहेको नयाँ समीकरणतर्फ संकेत गरेका छन्।

विशेषगरी रवि लामिछाने प्रम बालेन्द्र शाह (बालेन) वरिपरि केन्द्रित जनआकर्षणले एउटा महत्वपूर्ण राजनीतिक तथ्य उजागर गरेको छ। त्यो तथ्य हो नेपालमा वैकल्पिक नेतृत्वको खोजी अझै समाप्त भएको छैन। जनताले पुराना दलहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन्, तर उनीहरूलाई सुधारको दबाब भने अवश्य दिएका छन्।

Screenshot

राजनीतिक रूपमा हेर्दा रवि लामिछाने र बालेन शाह दुई फरक संरचनाबाट आएका पात्र हुन्। एकजना पार्टी राजनीतिमा छन् भने अर्का स्वतन्त्र राजनीतिका प्रतीकका रूपमा स्थापित भएका छन्। तर दुवैलाई जोड्ने साझा सूत्र भनेको स्थापित राजनीतिक संस्कृतिप्रतिको जनअसन्तुष्टि हो। यही कारण उनीहरू युवा पुस्तामाझ आशाको केन्द्र बनेका छन्।

चितवनमा देखिएको दृश्यले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ। नेपालको राजनीतिमा नयाँ शक्ति उदाउनेबित्तिकै त्यसलाई विभाजन, अविश्वास वा आन्तरिक संघर्षतर्फ धकेल्ने प्रवृत्ति विगतदेखि देखिँदै आएको छ। जनयुद्धपछिको राजनीतिक इतिहास यसको साक्षी छ। कुनै समय परिवर्तनको शक्तिका रूपमा उदाएका दलहरू नेतृत्वबीचको अविश्वास र प्रतिस्पर्धाका कारण कमजोर बन्दै गए।

यही कारण पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थिति र उनको अभिव्यक्तिलाई धेरैले विशेष अर्थका साथ हेरेका छन्। जनयुद्धदेखि संविधान निर्माणसम्मको यात्रामा सहभागी भएका बाबुरामले राजनीतिक एकता र विभाजनका दुवै अनुभव गरेका छन्। त्यसैले रवि र बालेनजस्ता लोकप्रिय पात्रहरूबीच सहकार्य र विश्वास कायम रहोस् भन्ने उनको चाहना स्वाभाविक देखिन्छ। उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विगतका कमजोरी दोहोरिन नदिन चेतावनी दिएका जस्तो अनुभूति हुन्छ।

प्रधानमन्त्रीको उपस्थितिले पनि कार्यक्रमलाई थप राजनीतिक महत्त्व दिएको थियो। संसद्, सरकार र नयाँ राजनीतिक शक्तिबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्रीले आफ्नो शैलीमा सरकारको आत्मविश्वास प्रस्तुत गरे। राष्ट्रिय स्वाभिमान, सीमाका विषय र विकासका एजेन्डाबारे उनले दिएको सन्देशले सरकार अझै रक्षात्मक नभई आक्रामक राजनीतिक अवस्थामा रहेको देखायो।

राजनीतिक विश्लेषणको दृष्टिले हेर्दा प्रधानमन्त्रीको भाषणको मुख्य उद्देश्य दुईवटा देखिन्छ। पहिलो, सरकार कमजोर छैन भन्ने सन्देश दिनु। दोस्रो, नयाँ शक्तिको उदयलाई स्वीकार गर्दै पनि आफूहरू नै राष्ट्रिय राजनीतिको मुख्य केन्द्र भएको पुष्टि गर्नु। लोकतान्त्रिक राजनीतिमा यो स्वाभाविक रणनीति हो।
अर्कोतर्फ रवि लामिछानेको “बल बालेनको खुट्टामा छ” भन्ने अभिव्यक्तिले पनि धेरै तहका राजनीतिक अर्थ बोकेको छ। सतहमा हेर्दा यो एउटा हल्का शैलीको टिप्पणी जस्तो देखिए पनि यसको गहिरो सन्देश सहकार्य र सम्मानसँग सम्बन्धित छ। उनले बालेनलाई प्रतिस्पर्धीभन्दा पनि परिवर्तनको साझा यात्राका सहयात्रीका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। नेपाली राजनीतिमा प्रायः लोकप्रिय नेताहरूबीच प्रतिस्पर्धा र टकरावको चर्चा हुने गरेको छ। तर चितवनमा देखिएको सन्देश भने सहअस्तित्वको थियो।

यही कारण अहिले धेरै विश्लेषकहरूले “रवि–बालेन प्रभाव” लाई केवल दुई व्यक्तिको लोकप्रियताको रूपमा नभई एउटा राजनीतिक प्रवृत्तिका रूपमा अध्ययन गर्न थालेका छन्। यो प्रवृत्ति पुराना दलप्रतिको निराशाबाट जन्मिएको भए पनि यसको दीर्घकालीन सफलता भने संगठन, नीति र परिणाममा निर्भर रहनेछ।

इतिहासले देखाएको छ कि जनमत प्राप्त गर्नु एउटा उपलब्धि हो, तर त्यसलाई संस्थागत गर्नु अर्को चुनौती हो। रास्वपाका लागि पनि यही सबैभन्दा ठूलो परीक्षा हुनेछ। लोकप्रियता, सामाजिक सञ्जालको प्रभाव र जनउत्साहले निर्वाचन जिताउन सक्छ, तर राष्ट्र सञ्चालनका लागि नीति, संगठन, अनुशासन र दीर्घकालीन दृष्टिकोण आवश्यक पर्छ।

बालेन शाहको अनुभवले पनि यही कुरा पुष्टि गर्छ। काठमाडौं महानगरमा उनले केही क्षेत्रमा उल्लेखनीय हस्तक्षेप गरे पनि जनअपेक्षा अत्यन्त उच्च भएका कारण हरेक निर्णय कठोर परीक्षणको विषय बन्न पुग्यो। यही अवस्था भविष्यमा रवि लामिछाने र रास्वपाका सामु पनि रहनेछ।

आज नेपालको राजनीतिक बहसको केन्द्रमा एउटा महत्वपूर्ण प्रश्न छ।के नयाँ शक्तिहरूले पुराना दलहरूको विकल्प दिन सक्छन्? यसको उत्तर अहिले नै निश्चित छैन। तर एउटा कुरा स्पष्ट छ, उनीहरूले पुराना दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएका छन्। लोकतन्त्रमा यही नै नयाँ शक्तिको पहिलो सफलता मानिन्छ।

चितवन महाधिवेशनले दिएको सबैभन्दा ठूलो राजनीतिक सन्देश भनेको जनताले अझै परिवर्तनको सम्भावनामा विश्वास गरिरहेका छन् भन्ने हो। त्यो विश्वासलाई जोगाउन सके नयाँ नेतृत्वले इतिहास बनाउन सक्छ। नसके उनीहरू पनि विगतका असफल प्रयोगहरूको सूचीमा सीमित हुन सक्छन्।

अन्ततः नेपाली राजनीतिले अहिले एउटा नयाँ मोड लिइरहेको छ। पुराना दलहरू अनुभव र संरचनाको बलमा उभिएका छन् भने नयाँ शक्तिहरू जनअपेक्षा र परिवर्तनको नारासहित अगाडि बढिरहेका छन्। आगामी वर्षहरूमा यी दुई धारबीचको प्रतिस्पर्धाले नेपालको राजनीतिक दिशा निर्धारण गर्नेछ।

चितवनबाट उठेको सन्देश यही हो।जनताको आशा अझै जीवित छ, तर त्यो आशालाई परिणाममा बदल्न सक्ने क्षमता कसले देखाउँछ भन्ने परीक्षा अब सुरु भएको छ।

अरुण राज सुमार्गी


(सामाजिक विश्लेषक तथा समावेशी विकास अभियन्ता)

arunrajsumargi

प्रतिक्रिया