मतदाता सूचीबाट नागरिक हटाउने प्रयासमा अदालतको रोक, ट्रम्प प्रशासनलाई ठूलो झट्का

इनेप्लिज २०८३ असार ८ गते २३:४४ मा प्रकाशित

अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले निर्वाचनमा नागरिकता जाँच गर्न प्रयोग गर्दै आएको संघीय तथ्याङ्क भण्डार(डाटाबेस)को नयाँ संस्करण प्रयोग गर्न रोक लगाएको छ।

अदालतले यो प्रणालीले अमेरिकी नागरिकहरूको गोपनीयता उल्लङ्घन गर्ने र योग्य मतदाताहरूलाई गल्तीले मतदाता सूचीबाट हटाउन सक्ने जोखिम रहेको जनाएको छ।

अमेरिकी जिल्ला अदालतकी न्यायाधीश स्पार्कल एल सुकनाननले सोमबार दिएको आदेशमा एसएभिई अर्थात् सरकारी सुविधा प्राप्त गर्ने व्यक्तिको आप्रवासन स्थिति प्रमाणीकरण प्रणालीको हालै गरिएको स्तरोन्नति कानुनअनुसार नभएको ठहर गरिन्। उनीका अनुसार यस प्रणालीले विभिन्न सरकारी निकायका संवेदनशील व्यक्तिगत विवरणहरू एकै ठाउँमा संकलन गरेको छ, जसका कारण वास्तविक अमेरिकी नागरिक पनि गल्तीले गैरनागरिक ठहरिन सक्ने र मतदाता सूचीबाट हटाइने सम्भावना बढेको छ।

न्यायाधीश सुकनानले आफ्नो आदेशमा भनिन्, “संघीय सरकारले अमेरिकी नागरिकहरूको गोपनीयताको अधिकारमाथि हस्तक्षेप गरेको छ, जसले मतदानजस्तो पवित्र अधिकारलाई नै जोखिममा पारेको छ। यस्तो अवस्था अदालतले चुपचाप हेरेर बस्न सक्दैन।”

यो फैसला ट्रम्प प्रशासनका लागि ठूलो कानुनी झट्का मानिएको छ। प्रशासनले विभिन्न राज्यका मतदाता सूचीमा गैरनागरिकहरू रहेको दाबी गर्दै संघीय निकायहरूको सहयोगमा कडाइ गर्ने अभियान अघि बढाएको थियो।

तर अदालतको नयाँ आदेशपछि उक्त डाटाबेसको संशोधित संस्करण प्रयोग गर्न अब रोक लागेको छ।

प्रतिक्रिया