
अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको एउध पुस्तकालयभित्र गत सोमबार बेलुका एक १८ वर्षका युवाले अन्धाधुन्ध गोली चलाए। यो दुःखद घटनामा दुई जना निर्दोष मानिसको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन्। प्रहरीका अनुसार आक्रमण गर्ने ती युवाले धेरै वर्ष पहिले भएको अमेरिकाको ‘कोलम्बाइन स्कूल’ को ठूलो नरसंहार जस्तै भयानक रूपमा धेरै मानिस मार्न चाहन्थे।
क्यालिफोर्नियाको चिको शहरमा रहेको ‘बुट काउन्टी पुस्तकालय’ मा बेलुका ५ बजेतिर अचानक गोली चल्न थालेको थियो। गोली चल्नसाथ प्रहरी तुरुन्तै घटनास्थल पुगेको थियो। गोली चलाएर पुस्तकालयको पछाडिको ढोकाबाट भाग्दै गरेका १८ वर्षीय ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवाको नाम ब्राडली स्कट सेयर हो। उनलाई अहिले जेलमा राखिएको छ र उनीमाथि दुई जनाको हत्या गरेको मुद्दा चलाइएको छ।
प्रहरीका अनुसार ती अपराधीले पुस्तकालयमा पढ्न आएका सर्वसाधारणलाई चिन्दैनथे।
उनी अन्तर्जाल अर्थात् इन्टरनेटमा मानिसको आमहत्या गर्ने अपराधीहरूलाई मन पराउने एउटा नराम्रो बिधुतिय (अनलाइन )समूहमा आबद्ध थिए। उनले धेरै मानिस मार्ने पुराना अपराधीहरूले जस्तै लुगा समेत लगाएका थिए। यो घटनामा उनले एक्लै योजना बनाएर गोली चलाएको प्रहरीको अनुमान छ।
यस आक्रमणमा अपराधीले जम्मा आठ पटक गोली चलाएका थिए। गोली लागेर एक जनाको पुस्तकालयको मुख्य ढोकामा र अर्को एक जनाको भवनको पछाडि मृत्यु भएको थियो। मृत्यु हुनेमा एक जना ७४ वर्षका वृद्ध र अर्का एक युवक परेका छन्। मृतक युवकका भाइ बेन्जामिन हेनेबेरीले आफ्नो दाजु गुमाउनुपर्दा आफू पूर्ण रूपमा मर्माहत भएको बताएका छन्।
एबिसीन्यूजका अनुसार घटनामा एक बालिका पनि घाइते भएकी थिइन्। गोली चल्दा फुटेको सिसाले लागेर उनी घाइते भएकी हुन्। उनलाई अस्पताल लगिएको थियो र उपचारपछि उनी घर फर्किसकेकी छिन्। प्रहरीले अपराधीको कारबाट अरू दुईवटा बन्दुक पनि फेला पारेको छ।
यो भयानक घटनापछि सो क्षेत्रका सबै पुस्तकालयहरू बन्द गरिएका छन्। अहिले जनताका लागि कुनै खतरा नरहेको र प्रहरीले अमेरिकी गुप्तचर निकाय एफबीआईसँग मिलेर यस घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।
प्रतिक्रिया