
विश्वकप भकुण्डो प्रतियोगिता (फुटबल)मा उपाधिको दाबेदार मानिएको इंग्ल्यान्ड घानाविरुद्ध गोलरहित (०–०) बराबरीमा रोकिएको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इंग्ल्यान्डले भकुण्डो माथि धेरै समय नियन्त्रण राखे पनि घानाको बलियो र अनुशासित रक्षापंक्ति तोड्न सकेन।
खेलको अधिकांश समय इंग्ल्यान्डले आक्रमण गर्ने प्रयास गरिरह्यो। तर घानाका खेलाडीले संगठित रक्षात्मक खेल प्रदर्शन गर्दै इंग्ल्यान्डका अधिकांश अवसर विफल पारिदिए। खेलको अन्तिम समयमा भने इंग्ल्यान्डले जित निकाल्ने सुनौलो अवसर पाएको थियो। निको ओ’राइलीको टाउकोले हानेको भकुण्डो गोल खम्बा (पोस्ट)मा लागेर फर्कियो भने त्यसपछि फर्किएर आएको भकुण्डोलाई कप्तान ह्यारी केनले प्रहार गरेको बल पनि गोलपोस्ट(गोल खम्बा)माथिबाट बाहिरियो। त्यससँगै इंग्ल्यान्डको जितको सपना अधुरै रह्यो।
खेलका क्रममा दुवै टोलीका खेलाडीबीच केहीबेर तनावपूर्ण अवस्था पनि सिर्जना भएको थियो। तर निर्णायकले खेललाई नियन्त्रणमा राखेपछि कुनै ठूलो विवाद हुन पाएन।
मध्यान्तर पछि घानाले आक्रमणको गति बढाएको थियो। यसले इंग्ल्यान्डलाई थप दबाबमा पार्यो। इंग्ल्यान्डका प्रशिक्षक थोमस टुखेल खेलभरि निकै असन्तुष्ट देखिए। आफ्ना खेलाडीको प्रदर्शनप्रति उनी पटक–पटक निराश बनेका थिए। टोलीले सिर्जनात्मक खेल देखाउन नसकेको र गोल गर्ने स्पष्ट अवसर कम बनाएको उनको चिन्ताको विषय बन्यो।
यस विश्वकपमा यसअघि उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्ड यस खेलमा भने आफ्नो लयमा देखिएन। टोलीले आक्रमणमा नयाँ सोच र प्रभावकारिता देखाउन सकेन। त्यसैले समर्थकहरू पनि निराश बने।
यता, घानाका खेलाडी र समर्थकका लागि भने यो बराबरी जितसरह सावित भयो। बलियो प्रतिद्वन्द्वीविरुद्ध एक अंक सुरक्षित गरेपछि उनीहरूले मैदानमै खुसी मनाए।
यस बराबरीसँगै समूह ‘एल’ मा इंग्ल्यान्ड र घाना दुवैको समान ४–४ अंक भएको छ। दुवै टोली बाहिरिने (नकआउट )चरण नजिक पुगेका छन्। तर समूह विजेता बन्न इंग्ल्यान्डले अब अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ।
प्रतिक्रिया