
डा.राजकुमार छेत्री
साहित्यसर्जक डा. दामोदर पुडासैनी ‘किशोर’ज्यूको ‘कालो आँधी’ नेपाली आख्यानेतर गद्य साहित्यमा नवीन प्रयोगका रूपमा देखापरेको कृति हो । लेखकले यसलाई ‘मनालाप’ नाम दिनुभएको छ, जुन आत्मसंवाद, आत्म आलाप र आत्मस्वीकृतिको निर्बन्ध अभिव्यक्ति हो । यसमा बाह्य घटनाभन्दा अन्तर्मनका अनुभूति, चिन्तन र चेतनाका तरङ्गहरू प्रमुख रूपमा अभिव्यक्त भएका छन् । शब्दकोशीय अर्थमा मनालाप आत्मालाप, अन्तर्मनको कथन वा आफैँसँग गरिने संवाद हो । यही अर्थमा प्रस्तुत कृति लेखकको अन्तरचेतनाबाट उद्भूत अनुभूति, प्रश्न, निष्कर्ष र जीवनबोधको सघन अभिलेख बनेको छ ।
शीर्षकले सङ्केत गरे झैँ ‘कालो आँधी’ कुनै प्राकृतिक विपत्तिको कथा होइन, यो मानव अस्तित्वमाथि आइपर्ने अकस्मात् सङ्कट, पीडा र आत्मसङ्घर्षको प्रतीकात्मक आख्यान हो । नेजोफेरेन्जियल कार्सिनोमा जस्तो घातक क्यान्सर रोगसँगको मुठभेडले लेखकलाई जीवन र मृत्युको सीमारेखामा पुर्याएको थियो । उपचार प्रक्रियाका शारीरिक तथा मानसिक कष्टहरूका बीच उहाँले जीवन, समाज, सम्बन्ध, आस्था र अस्तित्वलाई नयाँ दृष्टिले नियाल्नुभएको छ । यही मृत्यु-सन्निकट अनुभवबाट जन्मिएको आत्ममन्थन नै ‘कालो आँधी’को मूल संवेदनात्मक आधार हो ।
कृतिको सबैभन्दा उल्लेखनीय पक्ष यसको प्रामाणिकता हो । यहाँ लेखकले कुनै आवरण, आडम्बर वा सामाजिक अभिनयको सहारा लिनुभएको छैन । जीवनले सिकाएका कठोर सत्य, सम्बन्धका जटिलता, अपेक्षा र यथार्थबीचका अन्तरविरोध तथा मानवीय दुर्बलताहरूलाई निर्भीक रूपमा प्रकाश पारिएको छ । यस कारण कृति व्यक्तिगत अनुभवको सीमाभन्दा माथि उठेर साझा मानवीय अनुभूतिको धरातलमा स्थापित भएको छ ।
‘कालो आँधी’ आत्मकथात्मक स्वरूपको भए पनि यसको उद्देश्य केवल व्यक्तिगत जीवनवृत्त प्रस्तुत गर्नु होइन । लेखकले निजी पीडालाई व्यापक मानवीय अनुभव र दार्शनिक चिन्तनसँग जोडेर जीवनको अर्थ खोज्ने प्रयास गर्नुभएको छ । कृतिभरि भय, अनिश्चितता, आशङ्का र वेदनाका अनेक तहहरू उद्घाटित छन् तर तिनका बीचमा जीवनप्रतिको अटुट आस्था, जिजीविषा र पुनर्निर्माणको विश्वास झन् सशक्त रूपमा अभिव्यक्त भएको छ । यस अर्थमा ‘कालो आँधी’ पीडाको मात्र अभिलेख नभई आशा र पुनर्जागरणको दस्तावेज पनि हो ।
प्रस्तुत कृतिमा सम्बन्धहरूको पुनर्मूल्याङ्कन पनि महत्त्वपूर्ण विषयका रूपमा उपस्थित छ । रोगले मानिसलाई शारीरिक मात्र होइन, सामाजिक र भावनात्मक रूपमा समेत परीक्षण गर्छ भन्ने यथार्थ लेखकका अनुभूतिमार्फत प्रकट भएको छ । सङ्कटका क्षणमा आफन्त, साथीभाइ र समाजबाट प्राप्त व्यवहारले सम्बन्धहरूको वास्तविक स्वरूप उद्घाटित हुन्छ । यही अनुभवले कृतिलाई थप मार्मिक, यथार्थपरक र चिन्तनशील बनाएको छ ।
विचारगत दृष्टिले ‘कालो आँधी’ आलोचनात्मक चेतनाले सम्पन्न कृति हो । लेखकले जीवन, धर्म, समाज, शक्ति, न्याय र मानवीय सम्बन्धसम्बन्धी स्थापित मान्यतामाथि प्रश्न उठाउनुभएको छ । उहाँका निष्कर्षहरूसँग पाठक पूर्णतः सहमत रहुन वा नरहुन, तिनले पाठकलाई सोच्न र पुनर्विचार गर्न भने बाध्य बनाउँछन् । यही बौद्धिक चुनौती नै कृतिको महत्त्वपूर्ण उपलब्धि हो ।
भाषिक दृष्टिले पनि यो कृति प्रभावकारी छ । सरल, प्रवाहपूर्ण र संवेदनशील भाषाशैलीका कारण जटिल अनुभूति र दार्शनिक चिन्तनसमेत सहज रूपमा सम्प्रेषित भएका छन् । कतै संस्मरणात्मक, कतै आत्मस्वीकृतिपरक र कतै दार्शनिक शैलीको प्रयोगले कृतिलाई बहुआयामिक बनाएको छ । अनुभूति र विचारको सन्तुलित संयोजनले यसलाई भावुकताको सीमामा मात्र सीमित हुन नदिई साहित्यिक गरिमा प्रदान गरेको छ ।
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित साहित्यकार डा. दामोदर पुडासैनी किशोरज्यूको यो कालो आँधी एक्काइसौँ कृति रहेछ । यसअघि उहाँका आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम, उज्यालो खोजिरहेको घाम, सहरबिनाको सहर, हिमालको आवाज, निर्वस्त्र घाम र लोलाएको साँझ, मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे शीर्षकका जम्मा एघारवटा कवितासङ्ग्रह प्रकाशित छन् भने यात्राका प्रेमिल तरङ्गहरू, नमेटिएका चित्रहरू, मायालु हुम्ला, सिमानाका रङ्गः सिमानाका तरङ्ग, पर्खालभित्रका राजधानी, ग्रीष्मको नीलो बतास, डोल्पो. ओ डोल्पो शीर्षकका सात नियात्रासङ्ग्रह तथा एउटा दर्शनसम्बन्धी कृति धर्मको ह्याङ्गओभर शीर्षकमा प्रकाशनमा आइसकेका छन् ।
यसका अतिरिक्त एक आर्थिक व्यवस्थापनसम्बन्धी कृति पनि प्रकाशित छन् । अतः कविता, नियात्रा, दर्शन तथा अन्य विविध विधामा उहाँले उल्लेखनीय योगदान पुर्याइसक्नुभएको छ । ‘कालो आँधी’ले उहाँलाई केवल सर्जकका रूपमा होइन, जीवनका गहिरा प्रश्नहरूसँग जुध्ने संवेदनशील चिन्तकका रूपमा पनि स्थापित गरेको छ ।
उहाँको सिर्जनात्मक कृति, साहित्यिक योगदानबारे त्रिभुवन विश्वविद्यालय लगायत यसबाट प्रबन्धन प्राप्त विभिन्न महाविद्यालय (क्याम्पस)-हरूबाट कल्पना दवाडी, लक्ष्मी पौडेल, पवित्रा भुषाल, रामेश्वर श्रेष्ठ, कुमारी लक्ष्मी जोशी, अर्चना पुडासैनी, सबिना पुडासैनी, अन्जुला मंगर, शारदाकुमारी ढुङ्गाना, विनिता पुडासैनी, अम्बिका आचार्य, लक्ष्मीकुमारी शर्मालगायत दर्जनौ शोधार्थीहरूले स्नातकोत्तर तहमा शोधपत्र तयार गरी सकेका छन् । यसका अतिरिक्त धेरैवटा विश्वविद्यालय र प्रबन्धन प्राप्त त्यसका आङ्गिक क्याम्पसहरूमा अझ धेरैवटा शोधकार्य, प्राज्ञिक अध्ययन-अनुशीलन भइरहेको थाहा लाग्छ ।
उहाँ सरकारी कर्मचारीको रूपमा कार्यरत् रहँदा र सेवा निवृत्त भएपछि पनि विभिन्न सरकारी अवसर र विभागीय औपचारिता पुरा गर्न तथा पारिवारिक भेटघाट र घुमडुल गर्न नेपाल अधिराज्यका विभिन्न जिल्लाका सहर र गाउँहरूलगायत संयुक्त राज्य अमेरिका, बेलायत, रूस, जापान, फ्रान्स, बेल्जियम, जर्मनी, दि नेदरल्याण्डस्, अष्ट्रिया, स्वीजरल्याण्ड, इजिप्ट, साउदी अरेविया,जोर्डन, कतार, युनाइटेड अरब इमिरेट्स, थाउल्याण्ड, पाकिस्तान, श्रीलंका, म्यान्मार, भारत, बङ्गलादेश, चीन, सिंगापुर, मलेसिया, ओमन, नर्वे, उत्तर कोरिया, साइप्रस, इजराइल आदि देशको भ्रमण गरिसक्नु भएको जानकारी पाइन्छ ।
प्रस्तुत कृति पढ्दै जाँदा प्रत्येक पृष्ठमा प्रेरणादायक तथा कवितात्मक पङ्क्तिहरू रहेको पाइन्छ । सन्दर्भमा केही दृष्टान्तहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु-साहित्य शोध हो, सत्यको अनुसन्धान हो । साहित्यको नाममा पुरानै कुराहरू दोहोर्याइरहने हो भने साहित्य लेख्नु र पढ्नुको के अर्थ. मान्छेले जीवनभर जीवनका अनेकौं रहस्यहरू खोतलिरहन्छ, बुझ्न कोसिस गर्छ र सबैकुरा प्रष्ट नहुँदै मृत्युवरण गर्दछ ।
राम्रोसँग बुझ्न थालियो भने यो जीवन र जगत्जति सुन्दर अरू केही छैन । यही जीवनका हरेक क्षणलाई सिर्जनशील बनाउने हो भने संसार अझ सुन्दर र फलदायी बनाउन सकिन्छ । त्यसैले जीवन व्यर्थ छैन अनमोल छ, निस्सार छैन सारपूर्ण छ- फगत चाहियो जाँगर, समयको सही सदुपयोग र ठीक दृष्टिकोण ।जीवन सङ्घर्ष हो, सम्झौता पनि हो । सङ्घर्ष र सम्झौताको बीचमा प्रेमका पाङ्ग्राहरू चलेभने रसिलो हुँदो रहेछ जीवन ।
निरर्थक हुने रहेछ प्रेमबिनाको जीवन । प्रेमकै अभावले निम्त्याउने रहेछ जीवनमा दुःख । जिन्दगीलाई जिन्दगीभर सजगतापूर्वक हेरिरहनुपर्ने रहेछ । नत्र एक सेकेण्डमै गुमनाम हुन बेर छैन जीवन अस्तित्व । जिन्दगी सोंचाइभन्दा बढी भोगाइ हो । सोचेजस्तो र खोजेजस्तो मात्र जिन्दगी हुँदैन । नलेखिएको खाली कागजस्तो जिन्दगीलाई व्यक्ति स्वयंले बनाउने हो सार्थक र अर्थपूर्ण । मैले लेख्नुपर्छ । हरेक मान्छेका आ-आफ्नै कथा हुन्छन् । एकको कथा अर्कोसँग मिल्दैन, तर हरेकको कथा अर्कोको लागि उदाहरण बन्न सक्छ । मेरो कथा मैले नै नलेख लेख्ने कसले. मेरो कथा मेरो लागि हो नै ।
समालोचक प्रा. डा. नेत्र एटमले भूमिकामा यस कृतिलाई ‘सुनाउन होइन, अनुभूत गराउन लेखिएको कृति’ भनी मूल्याङ्कन गर्नुभएको छ । उहाँका अनुसार क्यान्सरसँगको साक्षात्कारपछि लेखकले जीवनलाई नयाँ दृष्टिले नियाल्दै प्राप्त अनुभूति र निष्कर्षहरूलाई अत्यन्त मार्मिक तथा यथार्थपरक ढङ्गले अभिव्यक्त गर्नुभएको छ । प्रकाशक रत्न पुस्तक भण्डारले पनि यसलाई जीवन–संघर्ष, साहस र आत्मविश्वासको सशक्त दस्तावेजका रूपमा प्रस्तुत गरेको छ । स्वयं लेखकका शब्दमा यो ‘जीवन र मृत्युको लडाइँको मझधारमा बसेर लेखिएको मनको आलाप’ हो ।
नेपाली साहित्यमा अस्तित्ववादी आत्मालाप वा मनालाप शैलीका कृतिहरू अत्यन्त न्यून छन् । जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढेपछि यस्तै शैलीमा लेखिएका अरू कृति पढ्ने मनको लोभ, धोको थियो । मनको त्यो चाहना र धोको यस कालो आँधीले पूर्ण गरिदिएको छ । विधागत नवीनता, वैचारिक गहिराइ, अनुभूतिको प्रामाणिकता र जीवनबोधको सघनताका कारण ‘कालो आँधी’ विशेष महत्त्वको कृति बनेको छ ।
यस कृतिले एक व्यक्तिको रोग, पीडा र सङ्घर्षलाई मात्र अभिव्यक्त गर्दैन, मृत्युको छायाँमा उभिएर जीवनलाई पुनः चिन्ने मानवीय यात्रालाई पनि शब्द दिन्छ । आत्मस्वीकृति, आलोचनात्मक चेतना, वैज्ञानिक दृष्टि र जीवनप्रतिको अटुट आस्थाको सशक्त संयोजनका कारण यो कृति व्यक्तिगत अनुभवको अभिलेख मात्र नभई जीवन, मृत्यु, अस्तित्व र मानवीय सम्बन्धबारे गम्भीर विमर्श गर्ने उल्लेखनीय साहित्यिक दस्तावेजका रूपमा स्थापित भएको छ ।
डा.राजकुमार छेत्री
प्राध्यापक, स्नातकोत्तर नेपाली विभाग
दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ
प्राध्यापक आवास,
लेबोङ कार्ट रोड, सिंहमारी, दार्जीलिङ
प्रतिक्रिया