युरोपमा गर्मीको कडा कहर: फ्रान्समा दुई अबोध बालकसहित १८ जनाको मृत्यु, तापक्रमले तोड्यो इतिहास

इनेप्लिज २०८३ असार ९ गते ०:०९ मा प्रकाशित

अहिले पूरा युरोप महादेश अत्यधिक गर्मीको चपेटामा परेको छ। रोयटर्स लगायत बिश्वविख्यात पत्र पत्रिकाले जनाए अनुसार फ्रान्समा मात्रै यो कडा गर्मीका कारण १८ जनाको ज्यान गइसकेको छ।

दुःखद कुरा, ज्यान गुमाउनेमा दुई जना साना बालबालिका समेत छन्, जसलाई फ्रान्सको एउटा शहरमा तातो गाडीभित्रै छाडिएको थियो। फ्रान्सका झण्डै ५ करोड ३० लाख मानिसहरूलाई अहिले सरकारले उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ।

फ्रान्सका धेरै विद्यालयहरूमा गर्मीको कारण बन्द गरिएको या समय फेरिएको छ। फ्रान्सको ‘बर्डो’ शहरमा तापक्रम ४१.९ डिग्री सेल्सियस पुगेको छ, जसले इतिहासकै सबैभन्दा धेरै गर्मीको रेकर्ड तोडेको छ।

स्पेन जस्तो तुलनात्मक रूपमा चिसो देशमा पनि तापक्रम सोचेभन्दा धेरै माथि पुगेको छ। विश्व मौसम संगठनका अनुसार, संसारका अन्य ठाउँको तुलनामा युरोप महादेश दोब्बर गतिमा तातिरहेको छ।

फ्रान्सको कार्पेन्ट्रस शहरमा २ र ४ वर्षका दुई अबोध बालबालिका आफ्नै घरबाहिर कारभित्र अचेत अवस्थामा भेटिएका थिए। आमाले फेला पारेर उद्धार टोली बोलाए पनि उनीहरूलाई बचाउन सकिएन। यस्तै, गर्मीकै कारण ८० देखि ९५ वर्ष उमेरका तीन जना वृद्धवृद्धाको पनि स्वास्थ्य बिग्रिएर मृत्यु भएको छ।

यो कडा गर्मीबाट बच्न र शरीरलाई चिसो बनाउन मानिसहरू नदी तथा पोखरीमा हाम्फाल्न थालेका छन्। तर, यसले झन् ठूलो दुर्घटना निम्त्याएको छ।

आइतबार र सोमबारको बीचमा मात्रै गर्मी छल्न खोज्दा १३ जनाको डुबेर मृत्यु भएको छ। फ्रान्सको नागरिक सुरक्षा विभागले मानिसहरूलाई जथाभाभी नपौडिन र सुरक्षाकर्मी भएका ठाउँमा मात्र जान आग्रह गरेको छ।

गत वर्ष पनि फ्रान्समा गर्मी बढेका बेला पानीमा डुबेर मर्नेहरूको संख्या १७२ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया