महाभूकम्प, महारोग र महाप्रलयहरू ;गोर्खा भूकम्पको ९ वर्ष र कोभिडको ४ वर्ष विशेष

इनेप्लिज २०८१ वैशाख १२ गते २१:४२ मा प्रकाशित

डा. श्याम केसी । ठीक ९ बर्ष अघि भूकम्प आएको चौथो दिन त्रिभूवन विमानस्थल ओर्लदा एक प्रकारको सन्नाटाले स्वागत गरेको थियो। अध्यागमन सम्मको बाटोमा परेको हल्का चिरा बाहेक बिमानस्थलमा अरू क्षति भएको थिएन।

घर पुगेर मुवाबुवाको दर्शनपछि उपत्यका भित्र अधिक प्रभावित पश्चिम क्षेत्र, धरहरा, काठमाँडौ दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र पुगेँ। धेरै आफन्तहरूसँग वहाँहरूको निवासमै भेटघाट पनि भयो। भूकम्पले प्राय कमजोर संरचना भएका प्राचीन सम्पदाहरू तथा ग्रामीण पूर्वाधार, घर वस्तीलाई ध्वस्त पारेको थियो।

८,००० भन्दा बढीको मृत्यु भएको थियो र हजारौँ घाइते भएका थिए। यद्यपि ७.८ रिक्टरले हल्लाएको काठमाँडौ मूलतः जोगिएको थियो, सौभाग्यवश ।

ब्यक्तिको जीवनमा झैं राष्ट्रको जीवनमा पनि सन् २०१५ को महाभूकम्प जस्तै बिल्कुल अकल्पनीय तर एकदमै उथलपुथल ल्याउने घटनाहरू “महाप्रलय” बनेर आईदिन्छन्। यी घटनाहरूले विभिन्न रूपहरू लिन सक्छन्, जस्तै वित्तीय दुर्घटनाहरू, प्राकृतिक प्रकोपहरू, वा भू-राजनीतिक उथलपुथलहरू। अत्यन्तै दुर्लभ, अनपेक्षित तर अत्यधिक प्रभावशाली हुने यस्ता घटनाहरूले राष्ट्रको मनोबिज्ञानलाई पूरै हतप्रत र बिक्षिप्त बनाइदिन्छन्।

यस्तो घटनाहरू कुन बेला कुन रूपमा घट्ने हुन् कुनै निश्चित पूर्ब अनुमान लगाउन त सकिदैंन नै, तर तिनीहरूले दिने परिणामले भने राष्ट्रकै जीवनमा गम्भीर तात्कालीक र दीर्घकालीन असर पार्दछन्।

पछिल्ला केही दशकका घटनाहरू हेर्दा नेपालमा थुप्रै त्यस्ता असामान्य घटनाहरू घटीसकेका छन् जसले नेपाल र नेपाली समाज र अर्थतन्त्रलाई पटक पटक कमजोर बनाईदिएको छ। यी मध्य केही प्राकृतिक घटना छन् त केही मानव निर्मित।

अत्यन्तै दुर्लभ, अनपेक्षित तर अत्यधिक प्रभावशाली हुने यस्ता घटनाहरूले राष्ट्रको मनोबिज्ञानलाई पूरै हतप्रत र बिक्षिप्त बनाइदिन्छन्।

सन् १९९६ देखि लगातार दुई दशक सम्म राजनैतिक सङ्क्रमण र आर्थिक मन्दीबाट गुज्रीरहेको राष्ट्रलाई महाभूकम्परूपी ‘महाप्रलय’ले नराम्ररी हल्लाइदियो। थिलथिलाएको राष्ट्रले महाभूकम्पको करीब ५ महीना पछि सेप्टेम्बर २०१५ मा एक ढिक्का भई जसोतसो उठेर नयाँ संबिधान जारी गर्यो।

तर दुर्भाग्यबश देश तुरून्तै फेरि अर्को महाप्रलयमा भासियो। सेप्टेम्बर २०१५ बाट नै करीब ६ महीना सम्म भूपरिवेष्ठित नेपालले बिल्कुल अनपेक्षित रूपमा दक्षिणी सीमामा नाकाबन्दी भोग्नु पर्यो।

यस्ता सबै अनपेक्षित घटनाहरूको बावजुद २०१६ बाट भने देशको अर्थतन्त्रले केही गति लिएको हो कि अनुभूति भएको थियो। आम नागरिकले बिश्वास नै गर्न नसक्ने गरी २०१६ को तिहारमा बिजुलीको लोड शेडिङबाट देश मुक्त भयो। नाकाबन्दी अन्ततः हटेर गयो। नयाँ संबिधानसँगै तुलनात्मक रूपमा राजनैतिक स्थायित्व देखा पर्यो। महाभूकम्प पछिको पुनर्निर्माणले गति लियो। रेमिट्यान्स बढ्ने क्रम मै रह्यो।

तर हाम्रो अर्को दुर्भाग्य, सन् २०२० सम्म आईपुग्दा अर्थतन्त्रले थप गति लिन्छ कि भन्ने भइरहेको बेला देश फेरि अर्को महाप्रलयमा जाकिन पुग्यो।

अन्ततः करीब ४ बर्ष अघि २०२० अप्रिल तिरबाट कोभिडले नेपाललाई पनि गाँजेर नै छोड्यो।

कोभिड २०१९ः २०२० फरवरीको अन्त्यतिर काठमाडौँमा म बसेको होटेलको हल, लाउन्ज र रेष्टुरेन्टमा चिनीया नव वर्षलाई स्वागत गर्दै चिनीया धुनहरू बजिरहेका थिए तर कतै कोही पाहुनाहरू देखिएका थिएनन्। बिश्वका धेरै भागमा कोभिड महामारी फैलिसकेको थियो र नेपाल भित्रिने बिदेशीहरू स्वाट्टै घटिसकेका थिए।

अन्ततः करीब ४ बर्ष अघि २०२० अप्रिल तिरबाट कोभिडले नेपाललाई पनि गाँजेर नै छोड्यो। करीब बाऱ्ह हजार भन्दा बढी नेपालीको कहाली लाग्दो मृत्यु भयो, लाखौंको मानसिक स्वास्थ्यमा असर पर्यो; विद्यालयहरू बन्द भए; अनि आर्थिक गतिविधिहरू ठप्पै भए।

सन् २०२० र २०२१ मा कोभिडले ढालेको समाज र अर्थतन्त्र २०२३ मा सुस्ताए पनि २०२४ मा आईपुग्दा आज फेरि बिस्तार उठ्न खोजिरहेको आभाश हुन्छ। आशङ्का गरिए जस्तो विश्वकै अर्थतन्त्र मन्दीमा गएन, न नेपालकै।

नैराश्यतालाई आफ्नो भाष्य बनाईरहेको र अस्थिरता मात्र स्थिर बन्दै गइरहेको नेपाली समाजमा केही आशाका किरणहरू देखा परेका छन्।

बिजुली उत्पादनमा भएको वृद्धि र आपूर्तिमा आएको निरन्तरता, कोभिड समयमा आवश्यकता बनेर द्रुत गतिमा दूर दराज सम्म र आम मानिसको पहुँचमा पुगेको भरपर्दो इन्टरनेट सेवा, रेमिटेन्समा भइरहेको वृद्धि, रेमिटेन्स सँगसँगै नेपाली श्रमिकहरूले देश भित्र्याएको शीप र अनुशासन, पर्यटक आगमनमा भइरहेको वृद्धि — यी सबै सकारात्मक कुराहरूले कोभिड र त्यस पूर्वका महाप्रलयहरूबाट ढलेको अर्थतन्त्र क्रमशः उठ्ने आशा गर्न सकिन्छ, उठ्ने नै छ।

तर यी सम्पूर्ण आशाहरूको बीच यो हेक्का राख्न जरूरी छ कि नेपाल जति २०१५ वा २०२० मा यी महाप्रलयहरूको जोखिममा थियो आज पनि उत्तिकै छ।

भनिन्छ, बढीमा तीन बर्षमा महाप्रलयहरू व्यक्तिको मानसपटलबाट हराएर जान्छन्।

हुन पनि हो, हामीले देख्दा देख्दै चर्किएका घरहरूमा आफन्तहरू फर्किसकेका छन्, १२ तला माथिको अपारटमेन्ट अझै सबै भन्दा महँगै छन्, रूघाखोकीले ग्रस्त मानिसहरू बिना मास्क भीडभाडमै मिसिरहेकै छन्, भोलि नै अर्को महाभूकम्प गयो भने कता कहाँ शेल्टर लिने कसैलाई अत्तोपत्तो छैन।

सबैभन्दा महत्वपूर्ण, भविष्यमा आउन सक्ने महाप्रलयहरूको प्रभाव कम गर्न निश्चित कदमहरू चालेर राष्ट्र तैयारी अवस्थामा रहन अनिवार्य छ।

पाँच बर्षको अन्तराल २०१५ वा २०२० मा देखा परेका महाप्रलयहरू (महाभूकम्प र महारोग) दुवैले उस्तै उस्तै सन्देशहरू दिए। पहिलो, महाप्रलयहरू अग्रिम सूचना दिएर आँउदैनन्।

दोश्रो, आएरै छोड्ने महाप्रलयको प्रभावलाई कम गराउने हाम्रो राष्ट्रिय क्षमता कम छ। तेश्रो, महाप्रलय पछि समाज र देशको अर्थ तन्त्रले गति लिन त सक्छ तर जोखिमहरूको निरन्तर ब्यबस्थापन हुन जरूरी छ।

चौथो र सबैभन्दा महत्वपूर्ण, भविष्यमा आउन सक्ने महाप्रलयहरूको प्रभाव कम गर्न निश्चित कदमहरू चालेर राष्ट्र तैयारी अवस्थामा रहन अनिवार्य छ। नागरिकको सम्झनाबाट महाप्रलयहरू धमिलो हुँदै गए पनि राष्ट्रलाई भने महा प्रलयहरू बिर्सने सुविधा छैन। राष्ट्र भित्रका सरकारहरू भने ढोका न ढकढकाई आउन सक्ने महाप्रलयहरूको ब्यबस्थापनको लागि हरदम र निरन्तर चनाखो रही रहनै पर्छ।

प्रतिक्रिया