विश्व पानी दिवस (मार्च २२, २०२३) विशेष : कसरी दुरूपयोग भईरहेका छन् (जल ) अभियन्ताहरू

इनेप्लिज २०७९ चैत ७ गते २२:११ मा प्रकाशित

डा. श्याम केसी । विकासोन्मुख राष्ट्रहरूले प्राय: आफ्ना जेहेन्दार विधार्थीहरूलाई विदेशमा जलस्रोत सम्बन्धी उच्च शिक्षा हासिल गर्न पठाउने गरिआएका हुन्छन् । तर आफ्नो सीमित श्रोत – साधनको ठूलो हिस्सा लगानी गरेर तयार पारिएका स्नातकहरूबाट देशले पाउनुपर्ने प्रतिफल भने पाइरहेको छैन । यो समस्या अन्य प्राविधिक क्षेत्रमा पनि देखापर्छ, तर जसको कार्यक्षेत्र जनतासॅंग प्रत्यक्षत: सम्बद्ध हुन्छ, त्यहां यो जटिल रूपमा देखा पर्छ।

जल तथा जलस्रोत सम्बन्धी विकास कार्यहरू प्रत्यक्षत: जनतासॅंग सम्बन्ध राख्ने भएको हुनाले ती प्राय जसो सरकारको निकायहरूको जिम्मा भित्र पर्न जान्छन् । विदेशी विश्वविधालयहरूबाट (जलश्रोतमा) उच्च शिक्षा प्राप्त गरेर फर्किएपछि स्नातकहरू प्राय: सरकारी जागिर, जस्तै – सिंचाई बिभाग वा खानेपानी बिभागमा खटाइन्छन् । नयॅां हुनाले आधुनिक प्रविधि सम्बन्धी उनीहरूको ज्ञान पुराना स्नातकहरू वा आफ्नै हाकिमहरूको भन्दा बढी हुन सक्छ। तर यस्ता नव-स्नातकहरूको ज्ञानको भने कमै सदुपयोग भएको पाइन्छ ।

यसरी उनीहरूको सदुपयोग हुन नसक्नु कुनै एक हाकिम, कुनै व्यक्ति वा समुह विशेषको कमजोरी भन्न पनि मिल्दैन । बास्तवमा भन्ने हो भने त यो एउटा लामो समयदेखि जरा गाडेर बसेको परम्परा तथा एउटा अविकसित समाजमा विघ्यमान पुरानो मानसिकताको प्रतिफल हो । एकातिर आधुनिक विकास तथा बढ्दो विदेशी प्रभावको बीचमा पनि सांस्कृतिक तथा सामाजिक परम्परा नतोडियोस् भन्ने जनताको चाहना हुन्छ भने अर्कोतिर उनीहरू आधुनिक विकास पनि नरोकिओस् भन्ने पनि चाहिरहेका हुन्छन् । स्थानिय परम्पराहरूको आदर गरिनु पर्छ भन्ने धारणा विकास कार्यमा संलग्न प्राय: सबैको नै रहिआएको हुन्छ । वास्तवमा समाजमा केही परिवर्तन ल्याउन खोज्ने हरेकले यो कुरा मनन गर्न आवश्यक पनि छ । तर ,यो मननको बावजुद पनि कतिपय स्थानीय परम्परा यस्ता हुन्छन् कि तिनीहरूले जनताले चाहेकै विकासको बाटो पनि अवरूद्ध पार्न सक्छन् । परम्परा र विकास बीचको अन्तर सम्बन्ध भने केही जटिल नै हुन्छ ।

“हाकिम” लाई ठूलो मान्छेको रूपमा तथा एउटा नीति तथा विचारहरूको प्रतिपादक तथा आफु अन्तर्गतका निकायले गर्ने कामको शुरूवात गर्ने व्यक्तिको रूपमा जनताले लिएका हुन्छन् । यही जनधारणाको कारणले हाकिमलाई स्थानीय परम्परामा बॅांधिएर काम गर्न आवश्यक पनि हुन जान्छ। यस क्रममा हाकिमले आफ्ना मातहतका कर्मचारीहरूले दिएको कतिपए उचित सल्लाहलाई नसुन्न पनि सक्छ, किनकि त्यस्ता सल्लाह मान्दा स्थानीय परम्परा बीच उसको “हाकिमीपन” नझल्कन सक्छ। यसै सिलसिलामा यस्ता “सल्लाहकार” हरूलाई उसले कम जिम्मेवारी दिने वा कहीं अन्यत्र सरूवा पनि गराइदिन सक्छ ।

आजको परिप्रेक्षमा लगातार अध्ययनबाट मात्र आफ्नो प्रतिस्पर्धात्मक क्षमता कायम राख्न कुनै पनि स्नातकको लागि सम्भव छैन

हाकिम सम्बन्धी यस्तो जनधारणाको प्रतिफल भने निकै दुखदायी हुन्छ । कुनै सरकारी कार्यालयमा भर्खरै प्रवेश गरेको व्यक्तिको स्वप्रेरित भएर आफै कुनै कार्य थालनी गर्ने बानी हट्दै जान्छ र उसको मनोभावनामा पनि ह्रास आउॅंदै जान्छ । आजको परिप्रेक्षमा लगातार अध्ययनबाट मात्र आफ्नो प्रतिस्पर्धात्मक क्षमता कायम राख्न कुनै पनि स्नातकको लागि सम्भव छैन । यसर्थ आफ्नो व्यवसायमा अगाडि बढ्नका निम्ति व्यवस्थासंगै ढल्दै जानु बाहेक उनीहरूसॅंग अन्य विकल्प रहन्न । आफू सम्बद्ध क्षेत्रको विकासको मूल कार्यलाई बिर्सेर फलत: उनीहरू केवल अह्राइएको काममात्र गर्ने र हाकिमहरूलाई कुनै सल्लाह सुझाव नदिने गर्छन्।

यसरी एउटा आश्चर्यजनक छोटो अवधिमै यस्तो नव स्नातक (नॅंया सरकारी कर्मचारी ) प्राविधिक रूपमा असक्षम तर कागजपत्र मिलाउन र तल्लो कर्मचारीहरूले तयार पारेको चिठ्ठीपत्रहरूमा सही घस्काउन भने एकदमै सिपालु भएर निस्कन्छ । परिणाम स्वरूप नॅंया नॅंया योजनाहरू संचालन गर्नु पर्ने जिम्मा बोकेर बसेको निकायसंग एउटा पनि सक्षम प्राविधिक नै बांकी रहन्न। सानातिना सम्भाव्यता अध्धयन तथा डिजाइन गर्न पनि (विदेशी) परामर्शदाताहरू बोलाइनुपर्ने हुन्छ । यता देशले ठूलो लगानी गरेका स्नातकहरू भने देशभित्रै व्यावहारिक अनुभव हासिल गर्नबाट बन्चित भइरहेका हुन्छन्।

आफ्नो मातहतमा जति धेरै कर्मचारी हुन्छन् त्यति नै समाजमा मर्यादा बढ्छ र बढी कमाइ हुन्छ भन्ने धारणाले पनि सरकारी निकायहरूको प्राविधिक क्षमता बृद्धि हुन नदिन ठूलो भूमिका खेलेको हुन्छ। हरेक व्यक्ति समाजमा प्रतिष्ठित हुन चाहन्छ नै र जब ऊ बस्ने समाजले प्राविधिक क्षमता भन्दा मातहतका कर्मचारीको संख्या उसको मर्यादा छुट्याउॅंछ, तब यसमा केही आश्चर्य रहन्न कि एउटा नव स्नातकको प्राथमिकता पनि जति सक्यो छिटो (हाकिम) प्रशासक बन्नमा रहन्छ । आफ्नोक्षमताको विकास त छोडिदिऊं, भएको क्षमता पनि कायम राख्न उसले कुनै हौसला पाउन्न ।

अविकसित राष्ट्रहरूमा अर्को के पनि देखिएको छ भने कतिपय इन्जिनीयरहरूलाई उनीहरूले आफ्नो पेशामा पर्याप्त समय गुजार्न नपॅांउदै महत्वपूर्ण प्रशासनिक जिम्मेवारी दिइन्छ ।

अविकसित राष्ट्रहरूमा अर्को के पनि देखिएको छ भने कतिपय इन्जिनीयरहरूलाई उनीहरूले आफ्नो पेशामा पर्याप्त समय गुजार्न नपॅांउदै महत्वपूर्ण प्रशासनिक जिम्मेवारी दिइन्छ । कुनै समाजमा पीचडी हासिल गर्नु त्यस्ता जिम्मेवारीको लागि योग्यता भइरहेको हुन्छ । त्यस्तो पदले उनीहरूको व्यक्तित्व, मान तथा आर्थिक हैसियत प्राप्ति गर्न सजिलो हुने भएकोले उनीहरू उनीहरू त्यस्तो जिम्मेवारी लिन लालायित पनि हुन्छन् । दुर्भाग्यको कुरो यसले अर्कोतिर के कुरा निश्चित गराएको हुन्छ भने उनीहरू कहिल्यै पनि एक सक्षम इन्जिनीयर बन्न सक्दैनन्। आफ्नो जागिरको बांकी अवधिभर उनीहरू केवल फाइल तथा कागजातहरू मिलाउने र चिठ्ठीपत्रहरू हस्ताक्षर गर्ने काम गर्छन्। आफूलाई केही ज्ञान नै नभएको क्षेत्रमा पनि उनीहरूले निर्णय गर्नुपर्ने हुन्छ र अर्कोतिर आफूभन्दा सक्षम अरू कसैलाई भने दिक्दार पारिरहेका हुन्छन्।

एउटा नॅंया प्राविधिकलाई हैरान पार्ने अर्को समस्या हो – विधमान स्थानीय कर्मचारीतन्त्र । नियम-कानुनहरू खासगरी सरकारी सम्पतिको दुरूपयोग घटाउने र भ्रष्टाचार रोक्ने उद्देश्यका लागि बनाइएका हुन्छन् । यस्ता नियम-कानूनहरू भ्रष्टाचार रोक्न सफल हुन्नन्, तर प्रगति रोक्नका लागि भने निश्चय पनि बढी सफल।

एकपटक नियुक्ति पाएपछि स्वभावत: कुनै पनि प्राविधिकहरू अरूहरूले जस्तै आफ्नो अस्तित्वको लागि पनि केही गर्नुपर्छ भन्ने धारणा राख्छन् । एउटा कर्मचारीले नियम-कानूनको पालना गर्नु गराउनु पर्ने हुन्छ नै । यदी नियमले एक रूपैंयाको हुलाक टिकट टांस्नु पर्ने कुनै डक्युमेन्टमा पचास पैसाको टिकट टांसिएको पाएमा उसले त्यो डक्युमेन्टलाई आफूभन्दा माथिल्लो हाकिम कॅंहा पठाउन मान्दैन।हुनसक्छ त्यो कुनै ठूलो परियोजनामा प्रयोग भइरहेको एउटा यन्त्रको लागि आवश्यक एक पार्टपुर्जा उपलब्धि सम्बन्धी कागजपत्र होस्। एकातिर साइटमा बसिरहेको इन्जिनियर त्यो पार्टपुर्जा किन आइपुगेन होला भनेर प्रतीक्षामा बसिरहेको हुन्छ भने अर्कोतर्फ त्यसरी फाइल रोक्ने कर्मचारी भने आफ्नो नियम पूरा गर्नुपर्ने कर्तव्य निभाउने काम गरे भनेर संम्झिरहेको हुन्छ ।

विभिन्न समाजले विभिन्न पेशालाई दिने स्थान पनि प्रगति गराउने वा नगराउने एउटा कारण हो ।कतिपय समाजमा एउटा सक्षम टेक्निसियनको स्थान एउटा साधारण चिठ्ठी-पत्र चलान गर्ने कर्मचारीको भन्दा धेरै तल हुन्छ । हुनसक्छ त्यो टेक्निसियनले हासिल गरेको क्षमता बर्षौको मिहेनत र अनुभवको प्रत्फल होस्। यस्तो मानसिकताले वास्तवमा एउटा भर्खरै फर्केर आएको इन्जिनीयरको कार्यक्षमतामा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । उदारणार्थ एउटा इन्जिनियरले आफू अफिसमै रहेर पनि एउटा अदक्ष (वा अर्ध-दक्ष) कर्मचारीलाई सर्भे गर्न पठाउनु पर्ने बाध्यता अनुभव गर्छ। आश्चर्य पनि रहन्न कि त्यस्तो सर्भे डाटाबाट तयार पारिएको प्रतिवेदनहरू गलत तथा बेकम्मा हुन्छन् । कतिपय अवस्थामा समाजले दिएको स्थान त्यही समाजको वास्तविकता भन्दा निकै फरक पनि रहन्छ ।

सुझावहरू :

पानीको पर्याप्त रूपमा उपभोग गर्न पाउनु र त्यो पाउने क्रममा वातावरण संरक्षित रहोस् भन्ने हरेकको चाहना हुन्छ – यसर्थ जल (श्रोत) क्षेत्रका प्राविधिकबाट कसरी सही काम लिन सकिन्छ भन्ने कुरामा हरेक नागरिक तथा नीति निर्माणकर्ता सुसूचित हुनुपर्छ । हाकिमहरूले यो बुझ्नुपर्छ कि उनीहरूको मुख्य जिम्मेवारी आफ्नो मातहतका कर्मचारीहरूलाई काम गर्ने तथा उनीहरूको प्राविधिक क्षमताअभिवृद्धि गर्ने उचित वातावरण तयार पार्ने हो । आफूले काम गर्ने विभागले प्रतिपादन गर्ने हरेक नीति वा विचार आफैबाट मात्र आउनुपर्छ भन्नेधारणा हाकिमहरूमा रहेमा उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन् । यस्तो हुनु भनेको धेरै खर्च गरेर स्थापना गरिएको पुरै विभागको काम एकैजनाले गर्न खोजेजस्तो हुन्छ ।

जनता तथा नीति निर्माणकर्ता दुवैले प्राविधिक नाप-नक्सा तयार गर्ने इन्जिनियरहरूको योगदानको सही कदर गर्न सिक्नुपर्छ । इन्जिनियरहरू आफ्नो क्षेत्रमा सक्षम रहिरहुन भन्नाको खातिर उनीहरूलाई समुचित सुविधा दिइनुपर्छ । समाजमा प्रतिष्ठित हुनको लागि कुनै प्रशासनिक पद नै चाहिन्छ भन्ने भावना उनीहरूमा जागृत हुन दिनु हुंदैन । प्राविधिक सक्षमता कायम राख्नका लागि कुनै पनि इन्जिनीयरलाई आफ्नो पेशा पर्याप्त समयसम्म अपनाएपछि मात्र बढी महत्वपूर्ण प्रशासनिक पदमा पठाउने नीति लिइनु आवश्यक हुन्छ ।

यस्तो नीति नलिएसम्म कुनै पनि सरकारी निकाय आफूलाई सुम्पिएको कार्य गर्न सक्षम हुन्न। एकातिर राष्ट्रले ठूलो लगानी गरेर तयार पारेको जनशक्ति खेर गइरहेको हुन्छ भने अर्कोतर्फ सरकारी निकायहरूले गर्नुपर्ने कामहरूको लागि सधैं विदेशी कन्सल्ट्यान्टहरू झिकाउनुपर्ने हुन्छ ।

कुनै सक्षम निकाय वा कन्सल्ट्यान्टले पूर्ण क्षमतामा काम गर्न सकोस् भन्नको लागि पैसा खर्च गर्नेअधिकार पाएको व्यक्तिलाई बढी जिम्मेवार पनि बनाउनुपर्छ । कर्मचारीले उसको काम केवलनियम-कानून विपरीत काम हुन नदिनु हो भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ ।

आफ्नो पढाई सकी देश फर्कने तरखरमा रहेका नव- स्नातकहरूको ठूलठूला आकांक्षा हुन्छन् रआफ्नो समुदायको लागि कुनै महत्वपूर्ण काम गर्ने सपना । दुर्भाग्यको कुरो छ, उनीहरू आफूले कामगर्नुपर्ने व्यवस्थाबाट उल्टै भ्रमित हुन्छन् । वास्तवमा केही समयमा यी नव-स्नातकहरू आफू एक्लैलेगरेर केही नहुने मनस्थितिमा पुग्छन् । यो एउटा डरलाग्दो प्रवृत्ति हो, जसले प्रश्रय पाउनु हुन्न ।

तेस्रो विश्वका धेरै नाम चलेका इन्जिनियरहरू शुरूमा धनी र प्रभावशाली दुवै थिएनन्, तर आफ्नो राष्ट्रफर्केपछि कसरी केही रचनात्मक काम गर्न सकिन्छ भन्नेतिर लागे, धेरै हण्डर खाए पनि विचलित भएनन् र अन्तत: केही गरेरै छोडे।

तेस्रो विश्वका धेरै नाम चलेका इन्जिनियरहरू शुरूमा धनी र प्रभावशाली दुवै थिएनन्, तर आफ्नो राष्ट्रफर्केपछि कसरी केही रचनात्मक काम गर्न सकिन्छ भन्नेतिर लागे, धेरै हण्डर खाए पनि विचलित भएनन् र अन्तत: केही गरेरै छोडे। यस्ता व्यक्तिहरूको सही नेतृत्वले कतिपय तेस्रो विश्वकाराष्ट्रहरूलाई सम्बृद्धितर्फ उन्नुख गराएको छ । यस्ता व्यक्तिहरू आफूले पनि वास्तविक रूपमाइन्जिनियरिगंका काम गरे र नयां इन्जिनीयरहरूलाई पनि सोही गर्न लगाए । यस्ता राष्ट्रहरूलेआज आफ्ना देशमा बन्ने संरचनाहरूको नामाकरण, नक्सा र निर्माण आफै गर्ने मात्र होइन, छिमेकीराष्ट्रहरूलाई प्राविधिक सहयोग गर्ने समेत क्षमता राख्छन् ।

समाजमा केही परिवर्तन गर्न खोज्ने कुनै पनि इन्जिनीयरले प्रथमतः एउटा असल इन्जिनीयर बन्न जरूरी छ । उनीहरूले प्राविधिक शीप निरन्तर रूपमा कायम राख्नै पर्छ । कुनै पनि विश्व बिद्यालयलेसॅंधैको लागि भनेर एउटा असल इन्जिनीयर उत्पादन गर्न सक्दैन ।वास्तबमा त्याहॅा सिकेका कुराहरूउति नै समयमा बिर्सिइन्छ पनि र कतिपए सिकिएका कुराहरू त्यति नै छिटो असान्दर्भिक पुरानो भएरपनि जान्छन् ।

(प्रस्तुत लेख एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको जलश्रोत प्रशाखाको तीसौं बार्षिकोत्सवको अवसरमा संस्थापक सदस्य अर्थर टी कोरीले दिनु भएको मन्तब्यमा आधारित छ। तीन दशक अघिको भए पनि आज पनि समय सान्दर्भिक )

डा. श्याम केसी
वरिष्ट जलश्रोत विशेषज्ञ
विश्व बैंक, वाशिंग्टन डि सी

प्रतिक्रिया